PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एनआइसीको स्वीफ्ट ह्याक काण्ड : अध्ययन गर्न भारतबाट केपिएमजीको टिम



एनआइसीको स्वीफ्ट ह्याक काण्ड :  अध्ययन गर्न भारतबाट केपिएमजीको टिम
pymnts.com

काठमाडौं : एनआइसी एसिया बैंकको स्विफ्ट कारोबार ह्याक भएपछि राष्ट्र बैंकले सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भनेर राय माग गरेको छ।

'अहिले स्विफ्ट कारोबारको वास्तविक अवस्था के हो भनेर सोधिएको थियो,' एक बैंकका विभागीय प्रमुखले बिजमाण्डूसँग भने।
 
स्विफ्ट ह्याकबाट पुगेको क्षति र अन्य परिक्षणका लागि राष्ट्र बैंकले केपिएमजीलाई भारतबाट डाकेर निरक्षणमा खटाएको छ। टिमले अध्ययन प्रतिवेदन दिएपछि वास्तविक अवस्था वाहिर आउने छ।
 
राष्ट्र बैंकले स्विफ्टको मापदण्ड अनुसार काम भएको छ/छैन भनेरसमेत सोधेको थियो। साथै भविस्यमा यस्ता खालका समस्या आए त्यसलाई तत्काल निदान गर्न र प्रणालीलाई कसरी मजबुत बनाउने भन्ने आवश्यक तयारी गर्न एक समितिसमेत गठन गर्ने भएको छ।
 
सोमबारको वैठकले भने समिति बनाएन। अन्य सरोकारबालाहरुसँग समेत राय लिएर अगाडि बढ्ने राष्ट्र बैंकको योजना छ। छलफलमा अधिकांस बैंकका विभागीय प्रमुखहरु थिए। राष्ट्र बैकबाट सुपरिवेक्षण विभागका प्रमुख महेश्वरलाल श्रेष्ठ, सुचना प्रविधि विभागको टिम र अन्य विभागीय अधिकारीहरु सहभागी थिए। 

यता बैंकर्स संघले पनि एक दुई दिनमै आफ्ना सदस्य बैंकहरुसँग छलफल गर्ने भएको छ। तिहारका बेला ह्याक भएको सूचना आएपछि संघले सबै सदस्य बैंकलाई तत्कालै जानकारी गराएर उच्च सुरक्षा सतर्कता अपनाउन भनेको थियो।
 
'एनआइसीको केसपछि हामी सबै बैंकहरु अहिले निक्कै चनाखो भएर स्विफ्ट कारोबार गरिरहेका छौं' संघका अध्यक्ष अनिल शाहले भने, 'प्राविधिक र ब्यक्तिगत सुरक्षामा विशेष जोड दिएका छौं।'
 
तिहारको दिन एनआइसी एसियाको स्विफ्ट ह्याक भएपछि संघले तत्कालै सबै बैंकलाई खबर गरेर प्रणाली जाँच गर्न भनेको थियो। बिदाका दिन सबै बैंकले आवश्यक जाँचपड्ताल गरेको उनले जानकारी दिए।
 
'अहिले विशेष निगरानी नै बढाएका छौं' उनले भने, 'आन्तरिक प्रकृयादेखि पासवर्ड परिवर्तनसम्म गरेका छौं। बाहिर कसैले केही गरिरहेको छ कि भनेर सुरक्षामा पनि ध्यान बढाएका छौं।'

एनआइसी एसिया बैंकको स्विफ्ट नेटवर्क ह्याक गरेर जापानसहित ६ वटा देशका बैंकमा रकम स्थानान्तरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। गत बर्ष बंगलादेशको एक बैकबाट पनि यसैगरी स्विफ्ट ह्याक गरेर  रकम स्थानान्तरण गरिएको थियो।
 
एनआइसी एसियाको स्विफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको भनिएका बैंकहरुमा राष्ट्र बैंक र एनआइसीले भुक्तानी रोक्न पत्राचार गरिसकेका छन्। यसमध्ये कतिपयले रकम भुक्तानी भइसकेको जनाएका छन् भने केहीले स्थानान्तरण गर्न दिएको निर्देशनलाई स्थगित गरिदिएका छन्।
 
'राष्ट्र बैंक र एनआइसी एसिया दुबैबाट रकम स्थानान्तरण गर्न ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छौं' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, 'भरेसम्मका के कति रकम स्थानान्तरण भइसक्यो भन्ने यकिन विवरण आउँछ।'
 
राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसियासँगै अन्य ६ वटा बैंकको स्विफ्ट पनि ह्याक भएको आशंका छ। यद्यपी बाँकी बैंकले यस बारेमा राष्ट्र बैंकलाई जानकारी दिइसकेका छैनन्।
 
राष्ट्र बैंकले ह्याकरले रकम स्थानान्तरण गरेको बारे अनुसन्धान गर्न आफ्नो टोली एनआइसी एसिया पठाइसकेको छ। 
 
तिहारको बिदाका कारण स्वीफ्टमा के भइरहेको छ भन्ने यकिन भएन। आइतबार विदेशी बैंकहरु बन्द हुने भएकाले ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न गरिएको अनुरोध पूर्ण रुपमा कार्यान्वयन भएन। यही कारण एनआइसी एसियाबाट बाहिरिएको रकममध्ये के कति भुक्तानी गरियो भन्ने यकिन हुन सकेको छैन।
 
गत बर्ष बंगलादेशमा पनि यसैगरी बैंकिङ ठगी भएको थियो। फेब्रुअरी २०१६ मा न्यूयोर्कको फेडरल बैंकबाट ८ करोड १० लाख डलरको चोरी भएको थियो।
 
न्यूयोर्क फेडरल बैंकमा बंगलादेशको बैंकबाट रकम फिलिपिनी नागरिकको खातामा रकम जम्मा भएको थियो। यो चोरी पनि स्विफ्ट सिस्टममा अनधिकृत रुपमा इन्टरनेशनल बैंक एक्सेस कोडको प्रयोग गरी गरिएको थियो। यो चोरी उत्तर कोरियाबाट गरिएको भन्ने अमेरिकीहरुले आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell