PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘हेभिवेट’का ६ रोमाञ्चक चुनावी प्रतिस्पर्धा



‘हेभिवेट’का ६ रोमाञ्चक चुनावी प्रतिस्पर्धा

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन आइतबार सम्पन्न भएको छ। वाम भर्सेस लोकतान्त्रिक गठबन्धनमा पहिलो पटक चुनावी अभ्यासमा रहेका दलहरुबीच कतिपय क्षेत्रमा रोचक प्रतिस्पर्धा हुँदैछ। 

गठबन्धन र उम्मेदवारका कारण केही क्षेत्रको चुनावी परिणामलाई चासोका साथ हेरिएको छ। पहिलो चरणको निर्वाचनमा केही क्षेत्रमा हस्ती उम्मेदवारहरु प्रतिस्पर्धामा छन्। 

बाबुराम Vs नारायणकाजी

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्दैछन्। वाम गठबन्धनमा सामेल भएर अन्तिममा कांग्रेससँगको सहकार्यमा पुगेका भट्टराईका प्रतिस्पर्धी छन्, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ।

यो पटक पनि गोरखामा दुई निर्वाचन क्षेत्र नै छन्। गोरखा २ बाट भट्टराई र श्रेष्ठ प्रतिस्पर्धामा छन्। यसअघि पनि भट्टराई गोरखा २ बाटै विजयी भएका हुन्। 

स्थानीय तहको पछिल्लो जनमतअनुसार नयाँ शक्तिको मत ७ हजार ८७१ मात्र छ। भट्टराईलाई साथ दिएको कांग्रेसको १७ हजार ७० मत छ। माओवादी केन्द्र १७ हजार ८९४ मतसहित स्थानीय चुनावमा उक्त क्षेत्रमा अगाडि छ। माओवादीलाई साथ दिएको एमालेको गोरखा २ मा ७ हजार २०८ मत छ। 

स्थानीय चुनावकै अनुपातमा मत खसेमा बावुरामलाई गोरखामा चुनाव जित्न कठिन छ। तर, पूर्व निर्वाचित जनप्रतिनिधि र व्यक्तित्वका हिसावले नतिजा बाबुरामले पक्षमा पार्न सक्ने विश्लेषण पनि हुने गरेको छ।

रोकिएला पशुपतिको हारमा ह्याट्रिक?

पञ्चायतदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोक नछाडेका पशुपतिशमशेर राणा अन्तिम पटक भन्दै चुनावी मैदानमा छन्। गणतन्त्र स्थापनापछिका दुई निर्वाचन बाहेक राणाले सिन्धुपाल्चोकबाट कहिल्यै निराश हुनुपरेको थिएन। बहुदलीय व्यवस्था स्थापनपछि राणा सिन्धुपाल्चोकमा छैटौँ पटक चुनाव लड्दैछन्। 

०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचन हारेका राणाको हारमा ह्याट्रिक वा ब्रेक लाग्छ? अंकगणितले भने राणालाई सहज छैन। 
यो पटक राणालाई कांग्रेसले काँध थापेको छ। तर, भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको वडाको मतपरिणाम अनुसार भने राणाले एमालेका शेरबहादुर तामाङसँग कडा टक्कर लिनुपर्नेछ। 

स्थानीय तहमा सिन्धुपाल्चोक २ मा एमालेको २५ हजार ९३९ मत छ। कांग्रेसको २२ हजार ४३७ मत छ भने राप्रपाको दुई हजार ९२५ मत छ जुन राप्रपा एकीकृत रहँदाको हो । सिन्धुपाल्चोक २ मा माओवादी केन्द्रले १८ हजार ९२२ मत वडामा पाएको छ । एमाले उम्मेदवार तामाङलाई माओवादीको साथ छ। 

सिन्धुपाल्चोक १ मा पनि बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत र पूर्वमन्त्री अग्नि सापकोटा प्रतिस्पर्धामा छन्। 

स्थानीय तहको वडाको मतमा एमाले अघि रहेको यो क्षेत्रमा तालमेलका कारण एमालेले माओवादीका सापकोटालाई सहयोग गर्दैछ। स्थानीय तहको वडाको मतपरिणाम अनुसार एमालेको २४ हजार ३६१ मत छ। कांग्रेसको २२ हजार ४३७ मत पाउँदा माओवादी केन्द्रले वडागत रुपमा १८ हजार ९२२ मत पाएको थियो। कांग्रेसलाई सहयोग गरेको राप्रपाको दुई हजार ९२५ मत छ। 

हारमा ब्रेक लगाउने योगेशको दाउ 

राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाएका एमाले सचिव योगेश भट्टराई यसअघि दुई पटक काठमाडौँ ६ बाट संविधानसभा सदस्यमा पराजित भए। जितको खोजीमा योपटक भट्टराई पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुगेका छन्। ताप्लेजुङ भट्टराईको गृहजिल्ला पनि हो। भट्टराईसँग कांग्रेसका केशव दाहाल प्रतिस्पर्धामा छन्। 

तर, स्थानीय तहको अनुपातको मतदानले भने भट्टराईको जित सोचेजस्तो सहज छैन। स्थानीय तहमा वडागत रुपमा एमालेले ताप्लेजुङमा २० हजार ५५१ मत पाएको छ। कांग्रेसले पनि १९ हजार ५७२ मत ल्याएको छ। एमालेलाई साथ दिएको माओवादीको ताप्लेजुङमा स्थानीय तहमा ४ हजार ३६६ मत छ।

ओखलढुङ्गामा दुई युवा प्रतिस्पर्धी

संविधानसभा सदस्यमा ०७० मा निर्वाचित रामहरि खतिवडा र यज्ञराज सुनुवार पुनः प्रतिनिधिसभामा आमनेसामने भएका छन्। खतिवडा कांग्रेस र सुनुवार एमालेबाट चुनावी मैदानमा छन्। संविधानसभासँगै संसदीय राजनीतिमा दुबै युवा नेताको सशक्त उपस्थिति छ। स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार दुबै उम्मेदवारलाई जित सहज छैन। अंकगणितले दुबैलाई सहजता देखिन्न। 

स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस करिब तीन हजार मतले अघि छ। कांग्रेसको २६ हजार १०५ मत छ। एमालेको वडागत रुपमा २३ हजार ८३५ मत छ। एमालेलाई साथ दिएको माओवादीको ९ हजार ६९६ मत छ।


बलबहादुरको छैटौँ इनिङ्ग्स

कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद् बलबहादुर केसी सोलुखुम्बुबाट छैटौँ पटक चुनावी प्रतिस्पर्धामा छन्। एकपटक बाहेक पाँच पटक केसीलाई सोलुका जनताले प्रतिनिधि बनाएका छन्। 

स्थानीय तहको वडागत मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ। स्थानीय तहमा कांग्रेसले १२ हजार ७१८ मत पाएको छ। एमालेको १२ हजार २५५ मत छ भने, माओवादी केन्द्रको ९ हजार ६९६ मत छ । केसीसँग माओवादी केन्द्रका उम्मेदवार हेमकुमार राई प्रतिस्पर्धामा छन्। 

तामाङलाई बदलाको मौका

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका हितबहादुर तामाङ कांग्रेसका रामशरण महतसँग सयभन्दा कम मतअन्तरले पराजित भए। देशव्यापी माओवादीको जित भइरहेका बेला उनको सबैभन्दा कम अन्तरको हार थियो। ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि तामाङले हार बदल्न सकेनन्। तर, योपटक वाम गठबन्धनका कारण तामाङलाई महतसँग बदला लिने अवसरका रुपमा रहेको कतिपयले अर्थ्याउने गरेका छन्।

स्थानीय तह निर्वाचनको वडागत मतपरिणाम अनुसार पनि गठबन्धनले सहयोग गरेमा तामाङको पोजिशन सहज नै छ। नुवाकोट २ बाट उम्मेदवारी दिएका तामाङको पार्टीले स्थानीय निर्वाचनमा १८ हजार ७७८ मत ल्याएको छ। उसलाई साथ दिएको एमालेको पनि १८ हजार १८४ मत छ। कांग्रेसको उक्त क्षेत्रमा २२ हजार ६५२ मत छ।

नुवाकोट १ बाट कांग्रेस योपटक पनि कांग्रेसले अर्जुननरसिंह केसीलाई नै अघि सारेको छ। वाम गठबन्धनले नारायणप्रसाद खतिवडालाई अघि सारेको छ। स्थानीय तहको मतपरिणाम अनुसार काग्रेसभन्दा एमाले १५ सय मतले अघि छ। एमालेको २३ हजार ८२५ मत छ। कांग्रेसको उक्त क्षेत्रमा कांग्रेसको २१ हजार ४६६ मत छ। एमालेलाई साथ दिएको माओवादी केन्द्रको १५ हजार ५०० मत छ।  

स्थानीय तह निर्वाचनमा स्थानीय उम्मेदवारका कारण कतिपय क्षेत्रमा दलहरुको मतपरिणाम फरक परेको छ। राष्ट्रिय राजनीतिमा प्रभाव पारेका उम्मेदवारका कारण कतिपयमा स्थानीय तहको मतभन्दा फरक परिणाम आउन सक्छ। क्तिपयमा उम्मेदवारको व्यक्तित्वका कारण पपुलर मतले समेत नतिजालाई प्रभाव पार्न सक्नेछ।   

  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell