PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पछिल्लो नौ महिनामा पुनः निर्माणले लियो गति, एक लाख ८० हजार घर निर्माण



पहिलोपोस्ट

पछिल्लो नौ महिनामा पुनः निर्माणले लियो गति, एक लाख ८० हजार घर निर्माण

  • पूर्णप्रसाद मिश्र 
काठमाडौँ  :  पछिल्लो नौ महिनामा निजी आवास पुनःनिर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार पुगेको छ। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदनअनुसार पछिल्लो नौ महिनामा एक लाख ३० हजार २७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ। ५० हजार २१७ घर बनिसकेका छन्। 

गत वर्ष पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११ हजार ८७१ मात्र भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए। 

प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरेकाले घर बनाउनेको संख्या उल्लेख्य वृद्धि भएको हो। प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि आगामी असार मसान्तसम्म सबै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। 

विभिन्न निकायबाट प्राप्त भएका करिब दुई लाख पाँच हजार बढी गुनासोलाई फछ्र्यौट गरी ४० हजार ९६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको छ। पुनःनिर्माण तथा अनुदान वितरणसम्बन्धी विगतका अव्यावहारिक प्रावधान र मापदण्डलाई व्यावहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनःनिर्माणले तुलनात्मकरुपमा गति लिएको प्राधिकरणको भनाइ छ। 

यस्तै मापदण्डअनुसार नबनेका घरलाई मापदण्ड पुर्याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरी प्राविधिकलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकाले पनि अनुदानबाट बञ्चित भएका लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन्। 

हालै मात्र प्राधिकरणको प्रस्तावबमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घरसमेत धितो राखेर तीन लाख निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनःनिर्माणलाई थप गति दिनेछ । 

पोखरेलले भने,‘समग्र पुनःनिर्माणको अवस्थालाई हेर्दा केही ढिलाइ भएजस्तो देखिएपनि पछिल्लो नौ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनःनिर्माणले गति लिएको तथ्यांकले नै पुष्टि गर्छ।’

इन्डोनेशियामा पुनःनिर्माण सुरु भएदेखि स्थायी संरचना निर्माण सम्पन्न हुन आठ वर्ष र पाकिस्तानमा पाँच वर्ष लागेको थियो।

भारतको गुजारतसँग तुलना गर्दा नेपालमा पनि केही ढिलाइ भए पनि अझै स्रोत साधनको उपलब्धता र सरोकार भएका निकायबीच समन्वय भए तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए। 

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझेका छन्। एक लाख छ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन्। करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ। 

चाडपर्वका कारण इञ्जिनियर निर्माणस्थलमा नभएको र कतिपय ठाउँमा प्राविधिक जनशक्ति अपुग भएकाले प्राधिकरणको सूचना प्रणालीमा तथ्यांक समावेश हुन नसकेको इञ्जिनियर प्रवीण आचार्यले बताए। 

उनले भने,‘बनिसकेका र बन्दै गरेका घरको तथ्यांक सूचना प्रणालीमा अद्यावधिक शुरु भए यो संख्या थप बढ्नेछ, पुस मसान्तसम्म तीन लाख ५० हजार घर बन्ने हाम्रो अनुमान छ।’

शैक्षिक क्षेत्रको पुनःनिर्माणमा उल्लेख्य प्रगति 

नौ महिनाअघि २०० शैक्षिक संस्था निर्माण सम्पन्न भएकामा हाल यो संख्या दुई हजार ४५६ पुगेको छ। निर्माणाधीन शैक्षिक संस्थाको संख्या भने एक हजार २८६ छ। 

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख इमनारायण श्रेष्ठ भूकम्पबाट क्षतिग्रस्त आठ हजार ९२३ शैक्षिक संस्थामध्ये अहिलेसम्म चार हजार ३८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताउँछन्। 

यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पूर्वाधारलगायतको क्षेत्रले पनि पछिल्लो नौ महिनामा गति लिएको प्राधिकरणले जनाएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell