PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भाइटीकाका दिन ६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा



पहिलोपोस्ट

भाइटीकाका दिन ६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

मेलम्ची :  भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई जरिवाना तिराएको छ। 

काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुरका लागि छुटेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा ६ गुणा भन्दा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो। 

११५ रुपैयाँ भाडा तोकिएको मेलम्चीसम्म ६०० रुपैयाँसम्म भाडा उठाएको पाइएको थियो। सधैँ सवारी साधन सञ्चालन हुने नारायणटारस्थित बसपार्कबाट बस चढेर गएपछि बीच बाटोमा परिचालकले भने बमोजिमको भाडा मागेपछि यात्रुहरू आक्रोशित भएका यात्रु श्याम ढकालले बताए। 

यात्रुबाट सके जति भाडा उठाएको गुनासो आएपछि बस रोकेर यात्रुसँग सोध्दा पुष्टि भएकाले तोकिएजति भाडा राखेर अरु फिर्ता गराइएको प्रहरी जवान मनबहादुर पुलामीले जानकारी दिए। सवारी साधनलाई एक हजार जरिवाना पनि गराइएको छ।

चाडपर्वका दिन यातायात व्यवसायीले सार्वजनिक यातायातका काउन्टर नखोली बसपार्कबाटै यात्रु लिएर मनपरि भाडा उठाउने गर्दा पनि कारबाही भने हुन सकेको छैन।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारले तोकेभन्दा रू एक मात्र बढी भाडा लिए पनि एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना लिनसक्ने व्यवस्था छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell