PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आर्थिक नगरी वीरगंजमा तिहारको रौनक यस्तो रहयो

आर्थिक नगरी वीरगंजमा तिहारको रौनक यस्तो रहयो

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : वीरगंजवासीले दीपावली मनाउने संस्कार फेरिँदै गएको छ। दुई वर्षअघि वीरगंज भन्दा पर गएर तिहार (दीपावली) मनाउने गरिन्थ्यो। तर गत वर्षदेखि हटेको त्यो परम्परा तोडिएको छ। सबैले वीरगंजकै आदर्शनगरमा आयोजना हुने दीपावली उत्सव–मेलामा मनोरञ्जन गरी दीपावली मनाउने गर्न थालेका छन्।

आदर्शनगर ग्रीन सिटी वीरगंज नामक संस्थाले गत वर्ष देखि यस्तो मेला आयोजन गर्न थालेपछि वीरगंजेलीले बाहिर नगई वीरगंजमै दीपावली मनाउन थालेका हुन्। साथै ,यस्तो उत्सवले पटाखा र जुवा ताज जस्ता विकृतिलाई पनि कम गरेको नगरवासी बताउँछन्।

‘पहिले वीरगंजवासीले अन्तै गएर चाडपर्व मनाउने वातावरण थियो जसले समय र पैसा धेरै खर्च हुन्थ्यो ,’ ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले भने,‘वीरगंजमै मेला आयोजना हुन थालेपछि सहज र चार्डपर्वमा थप उल्लास थपेको छ।’

मधेस आन्दोलन र नाकाबन्दीले पनि कतिपय मारवाडी परिवारसँगै पहाडी र यहाँसम्मकी मधेसी समुदायले पनि हेटौडा,नारायणगढ,पोखरा,काठमाडौमा गएर चार्डपर्व मनाउने संस्कार बढदै गएको थियो। तर अब वीरगंज सुरक्षित र शान्त छ ,सकारात्मक गतिविधि गरी वीरगंजलाई बाहिरी पर्यटकलाई गन्तव्यको केन्द्रको रुपमा विकास गर्दै लग्नु पर्ने बेला आएको उनले बताए।

कार्यक्रममा सहभागी हुन वीरगंज महानगरका मेयर विजय सरावगी ,माओवादी नेता तथा मेयरका उम्मदेवार रहबर अन्सारी समेत पुगेर नगरवासीलाई शुभकामना व्यक्त गरेका थिए।

मुलुककै प्रमुख आर्थिक नगरी वीरगंजमा मारवाडी तथा व्यापारीहरुको लक्ष्मी पूजा विशेष रुपले मनाइएको व्यवसायी मुरली जलानले बताए।मेलामा भीड यति बढेको थियो कि माइस्थान –होटल मकालु सडकखण्ड केही बेर जाम लागेको थियो। मेलामा सहभागीहरुले बच्चा र घरमा पालिएको कुकुरसमेतलाई लिएर आएको देखियो।

 


ट्रेन्डिङ पोस्ट

Ncell