PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गच्छदारले भने - मैले छाड्दा काङ्ग्रेसमा जस्तो समस्या थियो, अहिले पनि उस्तै रहेछ



अनन्तराज न्यौपाने

गच्छदारले भने - मैले छाड्दा काङ्ग्रेसमा जस्तो समस्या थियो, अहिले पनि उस्तै रहेछ

विराटनगर : एक दशकपछि आफ्नो दलबलसहित नेपाली काङ्ग्रेसमा फर्किएका उपप्रधान एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पार्टीमा अहिले पनि उस बेलाकै जस्तो समस्या र चुनौती रहेको बताएका छन्। 

शुक्रबार दिउँसो विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसित उनले आफूले अत्यन्त अप्ठ्यारो र कठिन स्थितिमा पार्टी परित्याग गरेको उल्लेख गर्दै अहिले समायोजनपछि पनि त्यस्तै जटिलताको अनुभव गरेको प्रतिक्रिया व्यक्त गरे।
 
‘तेस्रो जनआन्दोलनको नेतृत्व गर्नुभएका गिरिजाबाबुसित उस बखत चुनौती र समस्याका धेरै चाङ थिए, मधेसको आन्दोलन चलिरहेको अवस्था थियो’, मन्त्री विजयकुमारको भनाइ थियो, ‘नयाँ संविधान जारी भइसकेको अहिलेको अवस्था पनि खतरा र चुनौतीमुक्त छैन। जुन चामत्कारिक र रहस्यमय ढङ्गले वामपन्थी एकताको स्वाङ रचिएको छ, यो मुलुकलाई अधिनायकवादतर्फ धकेल्ने दुस्साहस हो भन्ने बोध लोकतन्त्रका पक्षधरहरूले गरेका छन्। मैले १० वर्ष नेतृत्व गरेका पार्टीलाई नेपाली काङ्ग्रेसमा समायोजन गर्नुको उद्देश्य पनि यही हो। अर्थात् मुलुकलाई अधिकनायकवादको दलदलमा भास्सिन नदिने अभियान हो।’

नेपाली काङ्ग्रेस अहिले साङ्गठनिक रूपमा पनि कमजोर रहेको आफूले पाएको जानकारी दिँदै नेता गच्छदारले आफूले रगत–पसिना बगाएको पार्टीलाई आगामी निर्वाचनमा बहुमतमा पुर्‍याउने अठोट प्रकट गरे।

‘वाम एकतापछि दुवै पार्टीका देशभरिका शुभेच्छुक, र कार्यकर्ताले एकताका लागि दबाब दिनुभयो’, उनले भने, ‘म कार्यकर्ताकै माझबाट उठेको नेता हुँ। त्यसैले आफ्ना कार्यकर्ताको भावनालाई मैले मूर्तता दिएको छु।’

मुलुकभरिका कार्यकर्ता र शुभचिन्तकले नेपाली काङ्ग्रेसमा विजय गच्छदारजस्तो नेताको र विजयलाई नेपाली काङ्ग्रेसजस्तो पार्टीको खाँचो रहेको भन्दै एकताका लागि आग्रह गरेको उनले सुनाए।

‘वाम एकताको समाचारले नेपाली काङ्ग्रेसभित्र हतास र निरासाको मानसिकता थियो’, मन्त्री गच्छदारको दाबी थियो, ‘तर हाम्रो एकताको घोषणापछि मोरङ र सुनसरीमा मात्र नभई मुलुकभरि नै नयाँ उत्साह, उमङ्ग र तरङ्ग थपिएको छ।’

गच्छदारले २०६४ सालमा शिथिल भइसकेको मधेस आन्दोलनलाई आफूले नै गति प्रदान गरेको र त्यस बेला आफू नउत्रेको भए मधेस आन्दोलन टुङ्गोमा नपुग्ने जिकिर गरे।

‘मेरै नेतृत्वमा व्यवस्थापिका संसद्लाई ४०÷४० दिन घेराउ गरिएपछि अन्तरिम संविधानमा संशोधन गरिएको हो र मधेसका मागहरू संबोधन भएका हुन्’, भावुक हुँदै गच्छदारले बताए, ‘मधेस आन्दोलनमा मारिएका २९ आन्दोलनकारीलाई शहीद घोषणा गराउने अभियानको नेतृत्व मैले नै गरेको हुँ । यस्तो पृष्ठभूमि बोकेको मैले मधेसका मुद्दा छाडेँ कसैले भन्छ भने त्यो सरासर गलत हो । ममाथि गलत आरोपहरू लगाइएका छन् तर म मधेसविरोधी कहिल्यै हुन सक्तिन ।’

लोकतान्त्रिक फोरमबाट नेपाली काङ्ग्रेसमा गएका मित्रहरूले कति सिट पाउने भन्ने विषय आफ्ना लागि गौण भएको उनको कथन थियो।
‘सिट मेरा लागि गौण विषय हो, अब सबै साथीहरू नेपाली काङ्ग्रेसमा आबद्ध हुनुभएको छ’, मन्त्री विजयले भने, ‘अब २ सय ७५ सिटमा उठेका सबै साथीहरू मेरै उम्मेदवार हुनुहुन्छ । फोरम र काङ्ग्रेस भत्रे भेदभाव अब छैन । म ग्रास रुटबाट उठेको नेता हुँ, आफ्ना साथीहरूलाई व्यवस्थित गर्न सक्छु भत्रे विश्वास छ ।’

नेता गच्छदारले आफूले नेपाली काङ्ग्रेसको उपसभापति पद प्राप्त गर्ने जानकारी दिए । आफूले नेतृत्व गरेको फोरम लोकतान्त्रिकका नेता मित्रहरूलाई पनि गाउँ तहदेखि केन्द्रीय नेतृत्वसम्म काङ्ग्रेसमा समायोजन गरिने उनले बताए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell