PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भाइरल बन्दै 'फिल द बकेट' अभियान



भाइरल बन्दै 'फिल द बकेट' अभियान
बाल्टिन भरेर संकलन केन्द्रमा बुझाउनु अघि अभियानकर्ताहरु

काठमाडौं : जेठ महिनाको अन्तिम सातादेखि सुरु भएको बाढी पहिरोको प्रकोपले साउनको अन्तिम साता पुग्दासम्म हजारौं मानिसलाई घरबार बिहीन बनाइसकेको थियो। सरकारी संयन्त्रले समयमै राहत पुर्‍याउन नसकेका गुनासा र समाचारहरु आइरहेका थिए।
 
पछिल्लो समय बर्दिया जिल्ला बाढीको चपेटामा पर्‍यो। गृह मन्त्रालयको तथ्यांकअनुसार बर्दियाको बाढीमा २७ जनाले ज्यान गुमाएका छन् भने १२ जना बेपत्ताको सूचिमा छन्। ३ हजार २३ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने ११ हजार ५ सय १२ वटा घरमा आंशिक क्षति पुगेको छ। गृहकै तथ्यांकअनुसार बर्दियाका २० हजार ५ सय ३७ जनालाई ३४ वटा शिविरमा अस्थायी रुपमा राखिएको छ।
 
बर्दियाको पछिल्लो विवरणले केही युवालाई झस्कायो। उनीहरुले बाढीको चपेटामा परेकाहरुलाई केही सहयोग गर्न सकिन्छ कि भनेर भदौ ६ गते शुक्रबार सामाजिक सञ्जालमा सानो आह्वान गरे 'बाढी पीडितका लागि केही लुगाहरु जम्मा गरौं' भनेर।
 

लुगा, कपडा जम्मा पनि भए। त्यही जम्मा भएका कपडा एउटा निजी गाडीमा आइतबार हालेर ती युवा पुगे बुद्ध एअरको अफिस। बुद्ध एअरले दुईपटक गरेर लगभग ३ सय केजी कपडा नि:शुल्क लगिदियो। कपडा पुर्‍याएर फर्किँदा म:म: खाने कुरा भयो। म:म: अर्डर गरेपछि टेबुलमा नआइपुगुन्जेल म:म: गफ चल्ने नै भयो।
 
यता सामाजिक सञ्जालमा अमेरिकाबाट सुरु भएको ए­एल­एस भनिने स्नायु रोगविरुद्धको अभियानमा सहयोग जुटाउन सुरु भएको 'आइस बकेट च्यालेन्ज'को चर्चा चुलिँदो थियो। त्यस्तै भारतको हैदराबादबाट 'राइस बकेट च्यालेन्ज' पनि चर्चामा थियो। नेपालमा पनि केही सेलिब्रेटीहरू टाउकोमा आइसपानी खन्याउँदै एक अर्कालाई च्यालेन्ज गरेका भिडियो अपलोड गरिरहेका थिए।

म:म: खान बसेका तिनै युवाले गफै गफमा 'यो आइस पानी टाउकामा खन्याउनु भन्दा बरु बाल्टिनमा खानेकुरा भर्दा कसो होला?' भन्ने कुरा निस्क्यो। कुरा सबैलाई मन पर्‍यो, अनि सुरु भयो 'बाल्टिन भरौं' (फिल द बकेट) अभियान। अभियानलाई सामाजिक सञ्जालमा फैलाउन क्रियाशील अर्पण श्रेष्ठ भन्छन्, ‘अभियान कसले सुरु गर्‍यो र कहाँबाट भयो भन्ने महत्वपुर्ण होइन, महत्वपुर्ण त हामी सबै कति संवेदनशील छौं भन्ने हो।‘
उसो त ‘फिल द बकेट’ अभियान सुरु हुँदा केहीले अमेरिकाको ‘आइस बकेट च्यालेन्ज’ र भारतको ‘राइस बकेट च्यालेन्ज’को नक्कल भन्नसम्म पनि भ्याए। क्लाउड फ्याक्ट्रीका सोसल मिडिया मार्केटर आकार अनिल भने यसलाई स्वभाविक मान्छन्। ‘ठ्याक्क उही समयमा संसारभरी नै कुनै कुरा भाइरल भइरहेको छ भने त्यस्तै नाममा सामाजिक अभियान सुरु गर्दा त्यो चाँडो भाइरल बन्छ,’ आकार भन्छन्, ‘फिल द बकेट’को ठाउँमा अरु कुनै नाम राखेको भएयति भाइरल नहुन सक्थ्यो।'



बाढीले बर्दिया मात्र हैन सुर्खेत सिन्धुपाल्चोकको जुरेदेखि सुर्खेतसम्म पीडा दियो। प्रधानमन्त्री नै अध्यक्ष रहेको दैवी प्रकोप उद्दार कोषमा करोडौं रकम जम्मा हुँदा पनि सरकारले कोषमै रहेको रकम समेत वितरण गर्न सकेको छैन। कोषमा जम्मा भएको पैसा निकासा नै नहुने एउटा समस्या त छँदैछ त्यसमाथि निकासा भएको रकम पनि सरकारले समयमा बाँड्न सकेको छैन। घरबार बिहीन भएकालाई राहत सामग्री वितरण, घरबार बिहीन भएकाहरुको पुनर्स्थापन त झन् जटिल बन्दै छ। यस्तो अवस्थामा नागरिकस्तरबाट सुरु भएको 'फिल द बकेट' अभियान सरकारको लागि पाठ हुनसक्छ।
 
 

साधारण व्यक्तिदेखि सेलीब्रेटीसम्म
‘बाल्टिन भर्ने’ अभियानले सामान्य नागरिकदेखि सेलीब्रेटीसम्मलाई छोएको छ। शुक्रबार एम्बेसी रेस्टुराँको संकलन केन्द्रमा भरिएको बाल्टिन बोकेर पुगेका बसुन्धराका शैलेन्द्र श्रेष्ठले भने, ‘म तिनै बाढी पहिरो पीडित मध्ये एक आफैं हुँ भनेर सोच्छु। त्यति सोचियो भने सेवा र सहयोगको भावना आफसे आफ आउँदो रहेछ।‘ उनले थपे, ‘म आफै पीडित हुन्थेँ भने मैले अरुबाट के अपेक्षा गर्थेँ? पक्कै म पनि अरूको सहयोगको अपेक्षा नै गर्थेँ। त्यसो भए मैले चाहिँ सहयोग किन नगर्ने?’
  अभियान अहिले नेपालमा मात्र विदेशसम्म पुगिसकेको छ। विदेशमा रहेका तर अभियानमा सहभागी हुन चाहने  सुरुमा नेपालमा रहेका साथीभाइ वा इष्टमित्रमार्फत बाल्टिन भर्न आग्रह गरिएको थियो। अभियानकर्मीहरु पैसा लिँदाका समस्याहरुका बारेमा जानकार थिए।

बिदेशतिरबाट दबाब बढ्दै गएपछि अमेरिकामा बस्दै आएका भक्तपुरका एकजनाको सहयोगमा कार्टमण्डपमा ‘फिल द बकेट’का लागि छुट्टै पेज बन्यो। यो समाचार तयार पार्दासम्म अनलाइनमार्फत् मात्र २ सय २८ जनाले ४ सय ३४ बाल्टिन भरेका छन्। यता काठमाडौंबाट पहिलो चरणमा १ सय ४९ वटा भरिएका बाल्टिन बाढी पीडितसम्म पुगिसकेका छन्। काठमाडौंमा रहेका विभिन्न संकलन केन्द्रमा शनिबार बिहानसम्ममा अरु २ सय बढी बाल्टिन भरिसकिएका छन्।
काठमाडौं बाहिर पोखरामा शुक्रबार ५० वटा बाल्टिन जम्मा भएका छन्।

सामाजिक सञ्जालदेखि मुलधारको मिडियासम्म
अभियानले सामाजिक सञ्जालमा हल्ला मच्चायो। अभियानको बारेको एएफपीको समाचार हिन्दुस्तान टाइम्समा छापियो। अभियान अब देशभित्रबाट देशबाहिरसम्म पुग्यो। यता देशभित्र व्यक्ति, विद्यालय, एनजिओ, आइएनजिओ, राजदूतावासहरू पनि बाल्टिन भरौं अभियानमा सहभागी भए। चारजना युवाले म:म: खाँदै गरेको गफ बृहत अभियान भयो। ‘अभियान कसले सुरु गर्‍यो भन्नेतिर नलागौं,’ अर्पण भन्छन्, ‘यो च्यालेन्जमा सहभागी हरेकको अभियान हो। सबै उत्तिकै हकदार छौं।‘
 
 
 

सरकारले बाढी ग्रस्त क्षेत्रमा समयमा उचित क्षतिपुर्ति उपलब्ध गराउन नसकिरहेका बेला चलेको यो अभियानले सरकारलाई दबाब सिर्जना गर्न महत्वपुर्ण भुमिका खेलेको छ। भदौ ११ गते छापिएको काठमाडौं पोष्टको सम्पादकीयमा लेखिएको छ, ‘देश बाढी पहिरोको यति ठूलो चपेटामा परेका बेला समेत समयमा उचित क्षतिपूर्ति दिन नसक्नु सुशील कोइराला नेतृत्वको सरकारको लागि लज्जाको बिषय हो।‘ सम्पादकीयमा ‘फिल द बकेट’ अभियानको बारे चर्चा गर्दै सरकारले नागरिकले जम्मा गरेका बकेट बाढी पीडितकोसम्म पुर्‍याउन आफ्ना संयत्रको प्रयोग गर्न दबाब समेत दिइएको छ। त्यस्तै भदौ १३ गते नागरिक दैनिकमा डा. सरोज धितालद्वारा लेखिएको ‘देशप्रेम र बाल्टिनभित्रको मोह’ शीर्षकको लेखमा भनिएको छ, ‘पाँच किलो चामल, एक किलो दाल, तयारी चाउचाउका दस प्याकेट, ६ बोतल पानी, पानी सफा गर्ने झोलका साना दुई सिसी, भोकाएका बेला तत्काल खान मिल्ने चकलेट बारहरू र तुरुन्तै चाहिने केही औषधि, अप्ठेरो परिस्थितिमा रहेका महिलाका निम्ति स्यानिटरी प्याड र पानी उघाउने एउटा मगजस्ता सामान्य तर उपयोगी वस्तुले भरिएको टम्म बिर्को लाग्ने बाल्टिन सक्ने जति हरेकले दान दिने र एकले अर्कालाई प्रोत्साहित गर्ने अभियान हो यो।‘
 
 
 
‘फिल द बकेट’ अभियानले जम्मा भएका बकेट बाढी पहिरो ग्रस्त क्षेत्रसम्म पुर्‍याउन सामान वितरण गर्न अभियानले एशोसियसन अफ सेन्ट मेरीज् आल्मुलाई नेपाल (आसमान), सैनिक श्रीमती संघ र रेडक्रसको सहयोग लिइरहेको छ। जम्मा भएका २ सय बकेटको ‘ट्रान्सपोर्ट’ को लागि ट्विटरका ब्लग दाइले सहयोग गरेका छन्।

जम्मा भएका बकेट सम्बन्धित ठाउँसम्म पुर्‍याउन सरकारलाई दबाब दिनको लागि शनिबार बिहान अभियानका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालालाई खाद्यान्न भरिएको बाल्टिन बुझाइएको छ। प्रधानमन्त्रीले आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बाल्टिन वितरणको संयोजन गर्ने प्रतिबद्धता जनाएका छन्।  अभियान बढ्दै जाँदा र काम गर्दै जाँदा समस्या पनि बढ्दै जान्छन्। काठमाडौंमा रहेका बकेट संकलन केन्द्र मध्ये एक सिटी म्युजियमका कशिसदास श्रेष्ठलाई ‘फिल द बकेट’ अभियानमा चाउचाउलगायतका केही ड्राई फुड कम गर्नुपर्ने हो कि जस्तो लाग्न थालेको छ। उनलाई हजारौंको संख्यामा चाउचाउका प्याकेट पुग्दा त्यसको प्लाष्टिकको खोलले वातावरणमा पार्ने असरको पनि चिन्ता छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell