PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तालिबानको आक्रमणबाट कान्दाहारमा ४३ अफगान सैनिकको मृत्यु, कैयौं घाइते



पहिलोपोस्ट

तालिबानको आक्रमणबाट कान्दाहारमा ४३ अफगान सैनिकको मृत्यु, कैयौं घाइते
फोटो श्रोतः ndtv.com

कान्दाहार :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन्। 

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ। 

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सैनिक पोष्टमा हमला गरेका थिए। बुधबार राति पोष्टमा रहेका अफगान सेना र सशस्त्र तालिबान लडाकूहरुबीच निकै लामो समयसम्म भिडन्त भएको थियो। 

भिडन्तका क्रममा ४३ जना सैनिकको ज्यान गएको अफगानिस्तानको सेनाले जानकारी दिएको छ। 

रातभर भिडन्त भएको र बिहानीपख अफगान सेनाको थप सैन्यबल सो पोष्टमा गएको थियो। त्यसपछि भने तालिबानहरु भागेका बताइएको छ। 

थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाले जनाएको छ। सेनाका अनुसार भिडन्तका क्रममा अरु पनि कैयौँ सैनिक घाइते भएका छन्। के कतिजना घाइते छन् भन्ने बारेमा भने सेनाले पूर्ण विवरण दिइसकेको छैन। 

भिडन्तका क्रममा दुईवटा अतिशक्तिशाली कारबमको प्रयोगबाट तालिबानहरुले हमला गरेका बताइएको छ। त्यस क्रममा कैयौँ तालिबान पनि मारिएको आशङ्का गरिएको छ। 

तर के कति मात्रामा उनीहरुको हताहत भएको छ भन्ने बारेमा भने पूर्ण विवरण आइसकेको छैन। सो क्षेत्रमा बिहीबार बिहानदेखि नै ठूलो सङ्ख्यामा अफगान सैनिकले गस्ती सुरु गरेको र क्षतिको विवरण सङ्कलन गरिरहेको छ। 

तालिबानहरुले छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ। ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन्। 

ती दुई जिल्लामा तालिबानले सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यको ज्यान गएको थियो । रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell