PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाढीपीडितद्वारा रौतहटमा सिडिओ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार, दुई प्रहरी घाइते 



पहिलोपोस्ट

बाढीपीडितद्वारा रौतहटमा सिडिओ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार, दुई प्रहरी घाइते 

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार गरेका छन्। 

स्थानीयको ढुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुटेको छ। स्थानीयको नियन्त्रणमा रहेका नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो। झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन्। 

साउनमा आएको बाढीबाट पीडित देवाही गोनाही–३ र ४ का २१८ जनालाई राहत वितरण गर्न आज कार्यकारी अधिकृत नगरपालिकाको कार्यालय पुगेका थिए । सोही क्रममा स्थानीयले बाढीपीडितको सूचीमा आफूहरुको नाम छुटाएको भन्दै कार्यकारी अधिकृत झालाई नियन्त्रणमा लिएका थिए। 

कार्यकारी अधिकृत झालाई स्थानीयले नियन्त्रणमा लिएको सूचना पाएलगत्तै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ उद्धवबहादुर थापा, प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुुसन्धान विभागका प्रहरी उपरीक्षक नवीनराज अधिकारी र देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घटनास्थल पुगेका थिए। 

देवाही गोनाही वडा नं ३ र ४ का स्थानीयको गुनासा सुनेपछि प्रजिअ थापासहितको टोली र सम्बन्धित वडाका वडाध्यक्षले तत्काल बैठक बसेर २१८ जनालाई राहत बाढने, छुटेकाको पुनः छानबिन गरी सिफारिश गर्ने र गलत सिफारिश भएको देखिएमा दोषी ठहर हुने सचिवलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेका थिए। 

बैठकमा भएको निर्णय सुनाएर कार्यकारी अधिकृत झालाई उद्धार गर्न खोज्दा स्थानीयले आक्रोशित भएर रोकीराखेको गाडिमाथि ढुंगा प्रहार गरेपछि प्रहरी र स्थानीयबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो । 

कार्यकारी अधिकृतको उद्धारपछि हाल त्यहाँको अवस्था सामान्य हुँदै गएको र दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell