PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‌ओली सोध्छन्- गुण्डाहरुले कहाँ टिकट पाए? पाए भने अधकट्टी लिएर आउनु होला

‌ओली सोध्छन्- गुण्डाहरुले कहाँ टिकट पाए? पाए भने अधकट्टी लिएर आउनु होला


काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले गुन्डाहरुलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न टिकट नदिएको बताएका छन्। 

सिस्नुपानी नेपालले वर्षेनी गर्ने व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रमपछि बोल्दै ओलीले भने, 'गुण्डाहरुलाई टिकट दियो भनियो। खै कहाँ दियो?'

उनले अगाडि थपे, 'पाइसकेपछि सिस्नुपानी देउसी भैलो ऐजन ऐजनलाई म आग्रहर गर्न चाहन्छु, अधकट्टी लिएर आउनुस्।'

'बिना भुक्तानीको कुरा हामी गर्दैनौँ, कुनै गुण्डाले टिकट पाउँदैन,' उनले भने। 

सिस्नुपानीको देउसी भैलोमा व्यङ्ग्य गरिएको थियो-
गुन्डा डनले टिकट पाए एमालेमा पसेर
चरी घैँटे रुँदा हुन् माथि बसेर। 

इन्कान्टरमा परेर तिनीहरु मरिगए
इन्काउन्टरमा नपर्ने चैँ मन्त्री हुने भए

दीपक मनाङेलाई आउँदो गृहमन्त्री बनाइदेऊ
नवराज सिलवाललाई गृह राज्य देऊ

मनाङमा एमालेबाट दीपक मनाङेलाई टिकटको सिफारिश गरिएको समाचारपछि यस्तो व्यङ्ग्य गरिएको थियो। ओली र एमालेप्रतिको व्यङ्ग्य यतिमा मात्र सीमित थिएन। 

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले 
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले

केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट

खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारवाद उठ्यो जुरुक्कै


यसलाई ओलीले सिस्नुपानीलाई बेलाबेलामा एमालेतिर ढल्कियो भन्ने आरोप लागेकोले ब्यालेन्स गर्न गरिएको मेहनतका रुपमा व्याख्या गरे। 

त्यसो त सिस्नुपानीले प्रचण्डलाई पनि झटारो हान्यो-

गर्मी हुँदा रुखतिर, जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान् धामतिर


कार्यक्रममा उपस्थित प्रचण्डले मन्तव्यका क्रममा शुभकामना बाहेक अरु केही भनेनन्। 

बाबुरामलाई व्यङ्ग्य गर्दै भनियो-

बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो।


कांग्रेसप्रतिको व्यङ्ग्य यस्तो थियो- 

समाजवादी बाटोमा देउवा इँदा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन्

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ

केही मन्त्री आउनुभो केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानो भो

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो

राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नु भो
भाषण पढ्न खोज्दा लभलेटर पढ्नुभो

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्‍याहेर्‍यै भो
देउवाजीको कालो बोको छेर्‍याछेर्‍यै भो


कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन्। प्रधानसेनापति राजेन्द्र क्षत्री, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell