PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सम्पदा बचाउन सडकमा

सम्पदा बचाउन सडकमा


काठमाडौँ : महर्जन बिजनेस एसोसियसन प्राइभेट लिमिटेडले बसन्तपुर दरबार क्षेत्रमा नियम विपरीत भवन बनाएको भन्दै सम्पदा बचाउन स्थानीयबासी सडकमा उत्रिएका छन्। पुरातत्व विभागको निर्देशन र स्थानीयहरुको अवरोध भएपनि भवन बनाउने काम जारी राखेपछि त्यहाँका स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन्। 

हनुमानढोका संरक्षित क्षेत्रभित्र रहेको कित्ता नं. ९४२ मा ६२७.९८ वर्गमीटर क्षेत्रफलमा फैलिएको जग्गामा उक्त कम्पनीले नियमविपरीत घर बनाएको हो। नियमअनुसार उक्त क्षेत्रमा घर बनाउँदा ३५ फिटभन्दा अग्लो बनाउन नपाइने, त्यस क्षेत्रको मौलिकता नर्मने गरी घर बनाउनु पर्ने, बेसमेन्ट तथा अन्य मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने उल्लेख छ। 

उक्त भवन बनाउन पुरातात्विक महत्व बोकेको नासः देवता मन्दिर अतिक्रमण पनि गरेको स्थानीय बासिन्दाहरु बताउँछन्। बसन्तपुर क्षेत्र छिर्ने गेटमा रहेका मन्दिरलाई टिनले बेरेर त्यसभित्र निर्माण सामाग्री र इँट्टाहरु राखेर ताला लगाइएको छ। महर्जन एसोसियनले ताला लगाएपनि हनुमानढोका हेरचाह अड्डाको नाम लेखेर नामको दुरुपयोग समेत भएको छ।

उक्त मन्दिरमा वर्षेनी बलि दिने र तान्त्रिक विधिबाट पूजा गर्ने गरेको बसन्तपुरका स्थानीय गणपतिलाल श्रेष्ठ बताउँछन्। धेरै मानिसहरुको आस्थाको केन्द्र उक्त नासः देवता मन्दिरलाई निजी कम्पनीले अतिक्रमण गर्न नमिल्ने श्रेष्ठको तर्क छ। भन्छन्, ‘त्यसरी पुरातात्विक महत्वको मन्दिर अतिक्रमण हुँदा र नियमविपरीत भवन बन्दा  सम्बन्धित निकायले ध्यान नदिनु दुखद हो। यही कारणले नै धेरै मठमन्दिर अतिक्रमण भएका छन्।’
 


ट्रेन्डिङ पोस्ट

Ncell