PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कविबाट उपन्यासकार बन्दै विप्लव प्रतीक, कार्तिक ११ गते सार्वजनिक हुँदै 'अविजित'



पहिलोपोस्ट

कविबाट उपन्यासकार बन्दै विप्लव प्रतीक, कार्तिक ११ गते सार्वजनिक हुँदै 'अविजित'

काठमाडौँ : कवि विप्लव प्रतीकको उपन्यास 'अविजित' कार्तिक ११ गते सार्वजनिक हुने भएको छ। प्रकाशक बुक हिलले उपन्यासको फस्ट लुक सार्वजनिक गर्दै उपन्यासको सार्वजनिक हुने समय घोषणा गरेको हो।

'यो उपन्यासलाई केही फरक शैलीमा सार्वजनिक गर्ने तयारी गर्दैछौं,' बुक हिलका अध्यक्ष भुपेन्द्र खड्काले भने, 'विप्लव प्रतीकलाई फिचरिङ गरेर एउटा भिडियो तयार गर्दैछौं। उपन्यासमाथि उहाँले नै एउटा गीत तयार गर्नुभएको छ।' 

पूर्व पत्रकार र कवि तथा गीतकारका रुपमा स्थापित प्रतीकको यो पहिलो उपन्यास हो। 'भुपेन्द्रले कुनै दिन मेरो उपन्यास छापिदिएला भनेर लेखेको थिइनँ,' उपन्यास लेखनको पृष्ठभूमि उघार्दै प्रतीकले भने, 'लेखेर राखेको थिएँ। कुनै दिन यसरी सार्वजनिक गरौला या छापिएला भन्ने सोचेको पनि थिइनँ।' 

उपन्यासकार हुँदै गरेका कवि विप्लवसँग भुपेन्द्र खड्का र बुद्धिसागरले संवाद गर्दै यसबारे जानकारी पस्केका थिए। बुक हिलका भुपेन्द्रले पाण्डुलिपि नै नहेरी उपन्यास छाप्ने निर्णय गरेको जानकारी दिए भने बुद्धिसागरले भुपेन्द्र र विप्लव प्रतीकबीच कनेक्सन गराएको विषयले संवादलाई रोचक बनायो। कवि प्रतीकले अमेरिका बसाइमा सक्काएको उपन्यासलाई अन्तिम रुप दिन ८ पटक परिमार्जन गरेको जानकारी दिए। 

'हामीले सम्पादक नचाहिने दुई लेखक पायौं,' भुपेन्द्र खड्काले भने, 'कुमार नगरकोटी दाइ र विप्लव दाइ। नेपाली सहित्यका लागि यो महत्वपूर्ण उपलव्धि हो।' प्रतीकले उपन्यासका लागि सम्पादक नखोजेको स्वीकारे। 'यसले मलाई राम्रो लेख्नुपर्छ र सम्पादन आफैँले राम्रोसँग गर्नुपर्छ भन्ने पार्‍यो,' उनले भने, 'उपन्यास राम्रो क्वालिटीमा आउनुपर्छ भन्ने मेरो शर्त थियो तर मैले सोचेभन्दा धेरै गुणा राम्रो बनेर तयार भएको छ।'

वुद्धिसागरले कवि प्रतीकको उपन्यासमा भाषिक प्रयोग र विम्वहरुको प्रयोग सुन्दर ढंगमा भएको बताए। 'शब्दलाई एक एक गरेर केलाएर हेर्ने बानी छ विप्लव दाइको,' बुद्धिसागरले भने, 'मैले २० पेज पढ्दा यसमा शब्दको प्रयोग र पृष्ठभूमि डिटेलमा बताउने शैली मन पर्यो।' 

विप्लव प्रतीकले देखेको जीवन र कल्पनामा चाहेको जीवनको उपन्यासमा समेटिएको जानकारी दिए। 'मैले एक शब्दबाट थालेको थिएँ लेख्न,' उनले भने, 'लेख्दै जाँदा ८० हजार शब्द पुगेछ।'

उपन्यास लेखेर सार्वजनिक हुने क्रममा रहेको अवस्थामा कस्तो भइरहेको छ भन्ने वुद्धि सागरको प्रश्नमा प्रतीकले भने, 'म जस्तो थिएँ उस्तै छु।' विप्लवले समभावमा रहेको अभिव्यक्ति दिए। पुस्तक बजारमा आएपछि आउने प्रतिक्रियामाथि उनको धारणा कस्तो होला भन्ने बुद्धिसागरको अर्को प्रश्नमा पनि उनले सजिलै भने, 'मलाई केही लाग्दैन। तर कसैले राम्रो या नराम्रोभन्दा पनि यस्तो सुधार हुनुपर्थ्यो भनेर भन्छ भने उसलाई एप्रिसियट गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell