PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

व्यापारी अपहरण गरी प्रेमिकाको हत्या : दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो अभियुक्तलाई



सविन ढकाल

व्यापारी अपहरण गरी प्रेमिकाको हत्या : दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो अभियुक्तलाई

काठमाडौँ : गत वर्षको फागुनमा आफ्नै प्रेमिका लगाएर राजधानीको मखनस्थित व्यापारीलाई अपहरण गरी फिरौती उठाई प्रेमिकाको हत्या गरी फरार रहेको घटनाका मुख्य अभियुक्त प्रकाश लामिछाने पक्राउ परेका छन्। 

नेपाल प्रहरीले अभियुक्त प्रकाश लामिछानेलाई दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याउन सफल भएको हो। इन्टरपोल दुबईले आइतबार साँझ सवा छ बजे फ्लाई दुबईको विमानमार्फत् लामिछानेलाई नेपाल डिपोर्ट गरी पठाएको हो।

गत फागुन ५ गते राजधानीको न्युरोडस्थित मख्खन गल्लीमा साडी तथा कुर्तासुरुवालको कारोबार गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती लिएको र रकम बुझेपछि हत्यामा सघाएकी आफ्नै प्रेमिका धादिङकी राधिका श्रेष्ठलाई हत्या गरी फरार भएको प्रहरी अनुसन्धानले देखाएको थियो। 

उनी भारत हुँदै दुबई पुगेका थिए। नेपाल प्रहरीको इन्टरपोलले लामिछानेको नाममा रेडर्कनर नोटिस जारी गरेको थियो।

यस्तो थियो घटना

फागुन २० गते शुक्रबार नगरकोट नजिकैको बागेश्वरीस्थित मुहानपोखरीमा खाल्डोमा गाडिएको अवस्थामा एक युवतीको शव भेटियो। दुवै हात पछाडि लगेर बाँधिएको, मुखमा टेप लगाइएको अनि खुट्टासमेत बाँधिएको। शव भेटिँदासम्म शरीर सडेर गल्न थालिसकेको थियो। 

कालो टिसर्ट र पाइन्ट लगाएकी युवतीलाई सुरुमा न स्थानीय बासिन्दाले चिने, न प्रहरीले नै हराएको भनी परेका उजुरीका आधारमा पहिचान गर्न सक्यो।

अनुसन्धानका क्रममा जब ती युवतीको पहिचान भयो, प्रहरीलाई झट्का लाग्यो। शव धादिङ घर भएकी २५ वर्षकी राधिका श्रेष्ठको रहेछ। काठमाडौँको मखनगल्लीमा रहेको सारी पसलका ६२ वर्षीय साहु श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न उनैको पसलमा काम गर्ने युवती। 

अग्रवाललाई त प्रहरीले अपहरण भएको दुई घण्टामै सकुशल मुक्त गर्छ। तर संलग्नको खोजी गर्दै जाँदा अपहरणमा संलग्न राधिकाको शवमात्र फेला पार्छ। 

शव फेला पर्दाको अवस्था। 

फिल्मी शैलीमा अपहरण अनि प्रेमिकाको हत्या

भक्तपुर स्थायी घर भएका २८ वर्षीय प्रकाश लामिछाने केही वर्षदेखि परिवारसहित काठमाडौंको इन्द्रचोकमा बस्दै आएका थिए। काठमाडौँको मख्खन गल्लीमा उनको मोबाइलको सानो पसल छ।

त्यही पसलमा दुई वर्ष अगाडि बिग्रिएको मोबाइल बनाउन आउँदा राधिका र प्रकाशको भेट हुन्छ। राधिका नजिकै रहेको श्यामसुन्दर अग्रवालको सारी पसलमा काम गर्थिन्। 

बिग्रिएको मोबाइलमात्र बनेन, दुई जोडीको सम्बन्ध पनि बाक्लियो। दुई वर्षको प्रेम सम्बन्धपछि  उनीहरु बीच विवाह गर्ने कुराकानी चल्छ। 
विवाह गर्न पैसा आवश्यक। के गर्ने?

रकम जोहो गर्नका लागि प्रकाशले राधिका काम गर्ने पसलकै साहु श्यामसुन्दर अग्रवालको अपहरण गर्ने र फिरौति माग्ने योजना बनाउँछन्। 
उनीहरुको योजनामा प्रकाशका आफन्त भाइ पर्ने  सरोज  घोरासैने र नजिकै काम गर्ने किशोर गिरीले पनि साथ दिन्छन्।

योजना अनुसार फागुन ४ गते राधिका र प्रकाश सुन्धारामा रहेको होटेल भारतमा गएर दुईवटा रुम बुक गर्छन्। होटेल साहुले रुम बुक गर्न परिचय पत्र मागेपछि उनीहरु आफ्नो परिचय खुल्ने डरले उनीहरु नजिकै रहेको होटल सनसाइनमा भएर दुईवटा कोठा बुक गर्छन्। 

फागुन ५ गते बिहीबार दिउँसो करिब १ बजेतिर राधिकाले साहु श्यामसुन्दरलाई काम छ भन्दै सुन्धारामा बोलाएर होटलको ४०४ नम्बर कोठामा लगेर राख्छिन्। 

दुई जनासँगै बसेर रक्सी मगाएर खान्छन्। बिस्तारै अग्रवाललाई मदिराको नशा लाग्छ र ढल्छ। यत्तिकैमा अर्को कोठामा बसेका तीन जना आएर अग्रवाललाई बाँध्छन्। त्यसपछि उनकै फोनबाट अग्रवाल अपहरण भएको भन्दै परिवारसित ८ लाख रुपैयाँ फिरौति माग्छन्। अग्रवालको साथमा भएको ७० हजार पनि उनीहरुले लिन्छन्। 

अपहरित अग्रवालले राधिकालाई फोन गरेर पसलमा भएको २ लाख र चेक लिएर आउन भन्छन्। राधिका चेक र पैसा लिएर पुग्छिन्। अग्रवालले ८ लाखको चेक बनाएर दिन्छन्। 

चेक लिएर राधिका बैँकमा पुग्छिन्। चलाख राधिकाले पैसा झिक्न आफू नगई अरु नै साथीको प्रयोग गरेकी हुन्छिन्। बैँकबाट निकालेको रकम लिएपछि चारै जना अग्रवालको मुखमा टेप लगाएर होटेलमा छोडी पैसा बाँडेर छुटिन्छन्।  

घटना भएको दिन नै प्रहरीमा अग्रवालको परिवारले उजुरी दिएपछि खोजी गर्छ। दुई घण्टामा नै प्रहरीले अग्रवाललाई होटेलबाट मुक्त गर्छ।
 
उता, फिरौति वापत पाएको १० लाख ७० हजार रुपैयाँ भाग लगाएर किशोर गिरी र सरोज घोरासैने भक्तपुरको बागेश्वरीमा रहेको प्रकाशको खाली घरतिर लाग्छन्। 

बेलुका साढे ६ बजेतिर प्रकाश र राधिका पनि काठमाडौंको इन्द्रचोकबाट ट्याक्सी चढेर उनीहरु बसेकै घरमा आउँछन्।

राधिकाले नचिताएको प्रकाशको रणनीति

राधिका फिरौति वापत पाएको रकमपछि प्रकाशसँग बिहे गरेर सुखी जीवन बिताउने सोचमा हुन्छिन्। तर प्रकाशको योजना भने अर्कै हुन्छ। 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेका  किशोर गिरीले प्रहरीको बयानमा भनेका थिए, ‘घरभित्र पस्ने बित्तिकै प्रकाशले ढोका लगायो। प्रकाशको योजना अनुसार नै मैले राधिकाको खुट्टा समातेँ र सरोजले जिउ। पसलबाट किनेर ल्याएको डोरीले हातखुट्टा बाँधी मुखमा टेप लगायौँ। त्यसपछि प्रकाशले घाँटी थिच्यो र हत्या गर्यो । राधिकाको लाशलाई प्लाष्टिकमा बाँधेर बाइकमा राखी घरभन्दा दुई सय मिटर पर लगेर खाल्डो खनी गाड्यौँ।‘ 

प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा २४ वर्षका किशोर गिरी र २७ वर्षका सरोज घोरासैनेलाई सार्वजनिक गर्‍यो। घटनाका मुख्य योजनाकार तथा राधिकालाई प्रेमको नाटक गरेर अपहरण गर्न लगाउने र पछि हत्या गर्ने प्रकाश भने फरार थिए। 

उनी भोलिपल्ट नै हवाई मार्ग हुदै भारत पुगेको अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिनेश अमात्यले बताए। त्यस्तै घटनाको पर्सिपल्ट किशोर पनि स्वयम्भूबाट दिल्ली जाने बस चढी भारत पुगेका थिए। तर बुधबार राति स्वदेश फर्कँदा विमानस्थलबाट विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell