PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माधव नेपालको हराएको मोबाइल कालिमाटीको पसलमा



सविन ढकाल

माधव नेपालको हराएको मोबाइल कालिमाटीको पसलमा

काठमाडौँ : 'नमस्कार, म माधवकुमार नेपाल बोलेको'

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेताले फोन गर्दा प्रहरी अधिकृत छक्क परे। 'मेरो मोबाइल हराएको छ खोजिदिनुपर्‍यो,' नेता नेपालले हराएको मोबाइलको विवरण टिपाए। 

विवरण प्राप्त हुने बित्तिकै प्रहरी मोबाइल खोज्नतर्फ लाग्यो। हराएको मोबाइलको स्विच अफ गरिएको थियो। प्रहरीले मोबाइलको आएमइआइ नम्बरमार्फत् लोकेसन ट्रयाक गर्दा कालिमाटीमा देखायो।

कालिमाटीमा रहेको एक मोबाइल पसलमा मोबाइल भेटियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्,  'एक जनाले मोबाइल चोरेर ५/६ हजार रुपैयाँमा बेचेको रहेछ।' 

प्रहरीले मोबाइल चोरी गरी बेच्नेलाई समेत नियन्त्रणमा लियो। उजुरी दिएको चार दिनभित्र नै मोबाइल भेटेर बुझाउन प्रहरी सफल भयो।

त्यस्तै सांसद नरबहादुर थापा मगरले पनि आफ्नो मोबाइल हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनले बालाजु माइक्रोबसमा आफ्नो मोबाइल हराएको प्रहरीमा उजुरी दिएका थिए। बिहीबार नै उनको मोबाइल पनि प्रहरीले फेला पार्‍यो। 

कति मोबाइल हराउँछन् राजधानीबाट?

सर्वोच्च अदालतले गोपनीयताको हकलाई सम्मान गर्दै मोबाइल ट्र्याक गर्न दूरसञ्चार कम्पनीलाई आदेश दिएपछि प्रहरीले हराएका मोबाइल खोज्न छाडेको थियो। अहिले भने प्रहरीले अदालतबाट आदेश लिएर मोबाइल खोजी गरिरहेको छ। तर हराएको अनुपातमा ज्यादै कम मोबाइल फेला पर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।

एसपी जोशीले भने 'उजुरी दिन थुप्रै आउँछन्। तर मोबाइल भेटिने सङख्या ज्यादै न्यून रहेको छ।'

गएको वर्षमात्र राजधानीबाट ९ हजार भन्दाबढी मोबाइल हराएको उजुरी परेको छ जसमा प्रहरीले १५ सय ७ वटा मोबाइल भेट्टाएर बुझाएको छ। 

परिसरका अनुसार प्रत्येक दिन काठमाडौंबाट ‍औसत ३४ वटा मोबाइल हराउने र चोरी हुने गरेको उजुरी पर्ने गरेको छ। चालु आर्थिक वर्षमा भेटिने मोबाइलको सङ्ख्या ६ वटा मात्र छ। 

आर्थिक वर्ष २०७२/७३ मा मात्रै ८ हजार ६ सय १६ मोबाइल हराएको उजुरी परिसरमा परेको थियो, जसमा ६ सय ६१ मोबाइल मात्रै भेटिए। 
जनशक्ति अभाव र मानिसमा फेला परेको मोबाइल फिर्ता गर्ने बानीको विकास नहुँदा मोबाइल नभेटिने गरेको प्रहरीको भनाइ छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell