PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लाटोकोसेरोसम्बन्धी दुई पुस्तकको विमोचन, एउटै प्रजाति समेटिएको पहिलो पुस्तक



लाटोकोसेरोसम्बन्धी दुई पुस्तकको विमोचन, एउटै प्रजाति समेटिएको पहिलो पुस्तक

काठमाडौं :  नेपाली भाषामा पहिलोपटक प्रजाति केन्द्रित जानकारी भएको पुस्तक नेपालका लाटोकोसेराहरु’ र 'लाटोकोसेरो कि बाठोकोसेरो’ पुस्तक वन्यजन्तु र चराविद प्राध्यापक करनबहादुर शाह र डा. हेमसागर बरालले शुक्रबार राजधानीमा विमोचन गरेका छन्।

नेपालमा हालसम्म पाइएका लाटोकोसेरोका २३ प्रजातिको तस्बिरसहित जानकारी संकलित पहिलो पुस्तक सोम जिसी, राजु आचार्य र यादव घिमिरेले तयार पारेका हुन् भने दोस्रो पुस्तक आचार्य र घिमिरेले लेखेका हुन् । 

पहिलो पुस्तकले हाम्रा वरपर पाइने लाटोकोसेरो बारेमा सचित्र जानकारी प्रदान गर्दछ। हालसम्म चित्रहरुको माध्यमबाट मात्र पहिचान गरिदैं आएकोमा यस पुस्तकमा तिनको वास्तविक तस्विर समेत राखिएकोले अनुसन्धानकर्मीहरुलाई सहज हुने’ लेखक सोम जिसीले जानकारी गराए । 

दोस्रो पुस्तकले संसारभर पाइने लाटोकोसेरोका रमाइला जानकारी, नेपालमा अवस्था, चोरीसिकारी, अवैध व्यापार, तिनका बारेको भ्रम र यथार्थसँगै संरक्षणका लागि खेल्न सकिने भूमिकाबारे बुझाउने लेखकमध्येका आचार्यले बताए। यस पुस्तकले नेपाल, भारत र चीन सीमाका १४ जिल्लालाई अति सवेदनशील मानेको छ भने देशभर ३२ वटा मार्ग भएर कम्तिमा २ हजार वटा लाटोकोसेरोको अवैध व्यापार हुने तथ्यलाई उजागर गरेको छ।  

चराविद् डा. बरालले नेपाली भाषामा चराको एउटा प्रजाति केन्द्रीत धेरै जानकारी रहेको किताब यो पहिलो भएको बताए। उनले यस पुस्तकबाट विद्यार्थी, शोधकर्ता, नीति निर्माता र बर्ड वाचरलाई फाइदा पुग्ने भनाइ राखे। 

प्रा. शाहले पशुपंछीका विषयमा विभिन्न समय शोध गर्ने क्रम निरन्तर रहेपनि पंछीका बारे गहकिलो जानकारीसहितको पुस्तक निकाल्ने जाँगर सराहनीय रहेको बताए। लेखकमध्येका जिसी लामो समयदेखि चरा चिनाउने नेचर गाइड तथा चरा संरक्षणमा काम गर्दै आएका छन् भने घिमिरे र आचार्य झण्डै डेढ दशकदेखि लाटोकोसेरोको संरक्षण र शोधको काम गर्दै आएकाहरु हुन्। 

पहिलो पुस्तक चरा चिनाउनका लागि भएकाले सित्तै उपलब्ध गराइने भएपनि दोस्रो कृति 'लाटोकोसेरो कि बाठोकोसेरो’ भने वर्षेनी आयोजना हुँदै आएको लाटोकोसेरो तथा हुचील उत्सवका लागि कोष जुटाउन उपयोग गरिने जानकारी कार्यक्रममा दिइयो।   

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell