PahiloPost

Dec 18, 2017 | ३ पुष २०७४

बाबुराम वाम गठबन्धनबाट बाहिरिने, ओलीको जवाफ कुर्दै


बाबुराम वाम गठबन्धनबाट बाहिरिने, ओलीको जवाफ कुर्दै
काठमाडौं : एमाले र माओवादीको वाम गठबन्धनमा आवद्ध नयाँ शक्ति नेपालले गठबन्धन छोड्ने तयारी गरेको छ। 

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज आफ्नो पार्टीको युवा भेला गरी एक्लै चुनाव लड्नका लागि तयार भएर बस्न निर्देशन दिएका छन्।  

'हामी एक्लै निर्वाचनमा जानुपर्ने हुनसक्छ, तपाईँहरु तयार भएर बस्नुस्,' भट्टराईले धुम्बाराहीमा आज युवा भेलालाई सम्बोधन गर्दै भने, 'गठबन्धन संस्कारमा चल्न खोजे अझै पनि गठबन्धनको बाटो बन्द भएको छैन। तर, अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनको संस्कार देखिएको छैन।' 

उनले गोरखासहित नयाँ शक्तिको प्रभाव क्षेत्रमै नयाँ शक्तिलाई निषेध गर्ने रणनीतिमा गठबन्धनका दल देखिएको अनौपचारिक रुपमा कार्यकर्तालाई बताएका थिए। 

गठबन्धनमा आवद्ध हुँदा नै 'सूर्य' चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेका भट्टराई गोरखाको एक सिटमा समेत माओवादीको अवरोध र एमालेको माओवादीलाई नै सहयोग देखेपछि गठबन्धगनबाट बाहिरिने गृहकार्यमा जुटेका हुन्। 

'यहाँ को ठूलो, को सानो भन्ने भाव छैन। नयाँ शक्ति हामीसँगै छ, माओवादी केन्द्र र हामी सँगसँगै छौ,' एकता सभामा ओलीले भनेका थिए, 'त्यसैले सबैप्रकारका दम्भ त्यागेर हामी कम्युनिष्ट पार्टी निर्माणमा लागेका छौं।' 

ओलीको यो भाषणको १० दिनमै भट्टराईले अनौपचारिक रुपमा दम्भकै कारण गठबन्धन हुन नसक्ने कुरा कार्यकर्तासामु अभिव्यक्त गरेका हुन्। 

स्रोतका अनुसार पहिले गोरखा-२ बाट चुनाव लड्न आग्रह गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछि गोरखामा आफ्नो पार्टी लड्ने भन्दै काठमाडौंमा लड्न आग्रह गरेका थिए।

'गोरखामा चुनाव लड्न नदिने, गोरखा हाम्रो हो, सूर्य चिन्ह लिएकाले हाम्रो होइन, एमालेको भागबाट लड्नुपर्छ भन्ने जस्ता अपमान सुरु भए,' नयाँ शक्तिका एक नेताले भने, 'पुराना कुरा भूलेर नयाँ सोचसहित अघि बढ्ने भनेको गठबन्धन पुराना कुराको प्रतिशोधबाटै अघि बढ्यो।' 

'एमाले अध्यक्षले अझै मिलाउँछु भन्दै हुनुहुन्छ। तर, माओवादीले नै निषेधको राजनीति गरेपछि गठबन्धनको भविष्यमा शंका पैदा भएको छ,' ती नेताले भने, 'हामीले अन्तिम पटक भनेर ठोस धारणा मागेका छौं त। अहिलेसम्म जवाफ आइसकेको छैन।'

उनले एमालेभित्रै द्वन्द्व देखिएकाले कुरा मिल्नेमा कममात्र आशावादी रहेको बताए। 'एमालेमै ६० प्रतिशतले पुग्दै कम्तिमा पनि ७० प्रतिशत चाहिन्छ भन्दै लडाइँ सुरु भएको छ,' ती नेताले भने, 'त्यसैले ओलीजीले मिलाउने भन्दा पनि झुलाउनेमात्र पो हो कि भन्ने लागेको छ।' 

नयाँ शक्तिले समानुपातिकको बन्द सूचीका लागि ११० उम्मेदवार चयनको गृहकार्य सुरु गरेको छ। 'पहिला बन्द सूचीमा बुझाउने नाम तयार गर्ने, त्यसपछि प्रत्यक्षतर्फ कहाँ-कहाँ कसरी निर्वाचन लड्ने भन्ने तयारी हुनेछ,' भट्टराईका सहयोगी रमेश भट्टराईले भने। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal