PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यसरी बन्दैछ लाप्राकमा नमुना बस्ती

यसरी बन्दैछ लाप्राकमा नमुना बस्ती



लाप्राक :  २०७२ वैशाख १२ गते गएको भूकम्पको क्षति अन्य ठाउँभन्दा बढी गोरखामा पार्यो। किनकि, भूकम्पको केन्द्र गोरखा नै थियो। 

भूकम्पले ध्वस्त गोरखाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा गैरआवासीय नेपाली संघले ‘लाप्राक नमुना बस्ती’ बनाउँदै। २०७३ माघबाट सुरु भएको नमुना बस्ती निर्माणमा ३ सय १ वटा घरको जग बसिसकेको छ। ५ सय ७३ वटा घर बन्नुपर्ने इन्जिनियर कर्फुराम रन्जितकार बताउँछन्।

‘दशैँमा पनि काम नरोकी हामीहरु खटिरहेका छौँ,’ निर्माणस्थलमा भेटिएका रन्जितकारले भने। रन्जितकारका अनुसार यो वर्षको अन्त्यसम्ममा लाप्राकबासीलाई घर हस्तान्तरण गर्ने योजना छ। बर्खायाममा सडक बिग्रिएकाले निर्माण कार्यमा ढिलासुस्ती भएको रन्जितकार सुनाउँछन्।

रन्जितकारको अनुसार ५ सय ७३ वटा मात्र घर बन्न दर्ता भएको छ। १६ वटा घर दर्ता हुन छुटेको छ। उक्त ठाउँमा १६ वटा घर बन्ने जमीन भने बाँकी छैन। उनीहरुहरुलाई कहाँ व्यवस्थापन गर्ने समस्या परेको उनले जानकारी दिए।

लाप्राक नमुना बस्ती पुनर्निर्माणका श्रमिक शेरबहादुर खड्काका अनुसार सयभन्दा बढी श्रमिकहरु दाङ, सल्यान, सुर्खेतबाट आएका छन् जो दशैँमा घर नगई यही जुटिरहे। भन्छन्, ‘तिहारमा चाहिँ घर जान्छौं।’

गुप्सीबाट लाप्राक गाउँ झर्दै गर्दा बाटोमा मानबहादुर सुनार भेटिए। सुनारले गर्मीमा गुप्सी पाखामा बस्ने र जाडोमा लाप्राक गाउँमै आएर बस्ने योजना बनाएका रहेछन्। 

सुनारका अनुसार जाडोमा गुप्सी पाखामा एक मिटरभन्दा बढी हिउँ पर्छ। त्यसैले जाडोमा बालबालिका तथा बुढाबुढीहरुलाई गुप्सी पाखामा बस्न गाह्रो हुन्छ। 

जाडोमा गुप्सीको घर बन्द हुँदैन। जाडोमा पुरानो बस्तीमा झरे पनि छोराहरु नमुना बस्तीमै बस्ने सुनार बताउँछन्।

चारपाटे थुन्सेमा निगालोको चोयाँ बोकेर उकालो चढ्दै गरेकी कान्छी गुरुङ एनआरएनले राम्रो घर बनाइदिएको बताउँछिन्। भन्छिन्, ‘दुवै ठाउँको घरमा बस्ने हो। तर, गुप्सीमा खेतीपाती गर्ने ठाउँ नभएकाले तल गाउँमै धेरै बसिन्छ होला।’ 

७८ वर्षे मानबहादुर गुरुङ आफ्नो ठाउँ छोडेर अन्त नजाने बताउँछन्। भन्छन्, ‘जाडोमा  गुप्सीमा धेरै हिउँ पर्छ हामी जस्तो बुढाहरुलाई गाह्रो पर्छ।’

शिवबहादुर गुरुङ एनआरएनले भूकम्प प्रतिरोधी घर बनाए पनि जाडोमा धेरै हिँउ पर्ने भएकाले बुढाबुढी बस्न नसक्ने बताउँछन्। भन्छन्, ‘एनआरएनले हामीले बनाएको भन्दा राम्रो घर बनाइदिएको छ। पक्का घर हो। हत्पत्त ढल्दैन होला।’

पुरानो शैलीको काठको कलात्मक घर नबनेकोमा भने कतिपय असन्तुष्ट छन्। उनीहरुको एउटै चिन्ता छ, ‘पक्की घरले गुरुङ शैलीको लोप हुने भो। त्यसका साथसाथै काठको काम गरेर जीवन निर्वाह गर्नेहरुले रोजगार नपाउने भए।’

५ सय ७३ घर बन्नुपर्नेमा अहिलेसम्म ३ सय १ वटा मात्र घरको जग हालेको छ। शिव भन्छन्, ‘बाँकी घर नबन्ने हो कि भन्ने  चिन्ता लागेको छ।’
गैरआवासीय नेपाली संघले लाप्राक नमुना बस्ती बनाउँदै गरेता पनि लाप्राक बासीले पुरानो बस्तीमा घरहरु बनाउन छाडेका छैनन्।

सानु गुरुङ आफूले राम्रै घर बनाए पनि एनआरएनले बनाएको घरमा बस्न उत्सुक रहेको बताउँछिन्। भन्छिन्,‘हामीले बनाएको भन्दा पक्की र राम्रो छ।

सबै घरहरु एकैठाउँमा र उस्तै भएकाले पनि कस्तो होला भन्ने लागिरहेको छ।’ नमुना बस्ती हेर्न पर्यटकहरु आउने आशा छ यहाँका स्थानीयमा।










 
 


ट्रेन्डिङ पोस्ट

Ncell