PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कपिलवस्तुका स्वास्थ्य चौकीमा औषधि अभाव, विरामी भारत जान बाध्य



पहिलोपोस्ट

कपिलवस्तुका स्वास्थ्य चौकीमा औषधि अभाव, विरामी भारत जान बाध्य

कपिलवस्तु :  कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ।  जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोलसमेत नभएको पाइएको छ। 

अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। 

स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीयबासी अब्दुल कलाम मनिहारले जानकारी दिए। 

ज्वरो आएको, टाउको दुखेको औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेका उनले गुनासो गरे। 

करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाउन नसकेको स्थानीय हरिराम कुर्मीले बताए। 

कुर्मीले भने,‘मेडिकलमा औषधि किन्न सक्ने क्षमता छैन र मेडिकल यस क्षेत्रमै छैन, कि त कृष्णनगर जानु पर्यो कि त बहादुरगञ्ज, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी कुराकानी गरेरै दिन बिताउने गर्दछन्।’

पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो छ। स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय जाने गरेका छन्। 

त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ। आइरन चक्की अतिआवश्यक औषधि भएपनि भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन। सरकारले सम्पूर्ण अधिकार तथा बजेट स्थानीय तहमा पठाएको छ तर स्थानीय निकायले भने स्वास्थ्य संस्थामा औषधि पठाएका छैनन्। 

जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयमा औषधिको अभावबारे जानकारी गराए पनि कार्यालयले स्थानीय निकायमा जान भनेको अनमी अनिता अधिकारीले बताइन्। 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले अब स्वास्थ्य कार्यालयले कुनै कार्यक्रम नआई औषधि दिन नसक्ने बताए। 

सरकारले अब सबै जिम्मा स्थानीय तहलाई दिएको बताउँदै स्वास्थ्य चौकीका प्रमुखले नगरपालिकासँग माग गर्न आग्रह गरे। 

सरकारले ७० प्रकारका औषधि स्वास्थ्य चौकीमा दिने गरेको भएपनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि औषधि नभएको पाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell