PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अब कांग्रेस निर्वाचनमा कम्युनिष्ट जोगाउने दायित्वबाट मुक्त भयो : सिटौला



पहिलोपोस्ट

अब कांग्रेस निर्वाचनमा कम्युनिष्ट जोगाउने दायित्वबाट मुक्त भयो : सिटौला

  • कृष्णप्रसाद सिटौला
वर्तमान वाम गठबन्धन दुई कम्युनिष्ट पार्टीले गरेको अप्रत्यासित निर्णय हो। यसले शान्ति प्रक्रियाको कार्यदिशालाई सही बाटोमा अघि बढ्न दिदैन। अवरोध खडा गर्छ।

नेपाली कांग्रेसले गठबन्धनबाट हुने मुठभेडको खतरालाई अन्य राजनीतिक दललाई विश्वासमा लिएर रोक्ने प्रयत्न गर्छ।

शान्ति प्रक्रियालाई वाम गठबन्धनले टुङ्गिन दिन्न। राज्यलाई कब्जा  गर्ने उद्देश्यका साथ जसरी गठबन्धन बनेको छ र उहाँहरुका अभिव्यक्ति जे आइरहेका छन्, हामीले जे सुनिरहेका छौँ त्यसले शान्ति प्रक्रियालाई पूर्णता दिदैँन।

नेकपा माओवादी १० वर्षे सशस्त्र द्वन्द्वबाट आएको हो। शान्ति सम्झौता अनुरुप अघि बढेको शान्ति प्रक्रियाको लजिकल इन्ड भएको छैन।

शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न धेरै कुरामा बाँकी नैँ छन्। यसलाई पूर्णता दिन दुई वटा आयोग काम गरिरहेका छन् हामीकहाँ।

तर, ती आयोगले तत्कालै समाधान दिने लक्षण देखिदैन। यो समाधानसम्म नपुग्दा देशले राजनीतिक स्थिरता र दीगो शान्ति प्राप्त गर्न सक्दैन। हामी यस कुरामा बढी कन्सस् छौँ। किनकी यो  जनताको मुख्य चाहना पनि हो। 

एकीकरण घोषणा पछि कम्युनिष्ट पार्टीका केही नेताहरुले कांग्रेस विरुद्ध रुखो र तिखो टिप्पणी गर्न थाल्नुभएको छ। यसले नेपालको राजनीतिक स्थिरतालाई घाटा पार्छ। त्यसले ल्याउन सक्ने मुठभेडलाई रोक्नका निमित्त नेपाली कांग्रेसले क्षमता देखाउन जरुरी छ।

त्यो हामी निर्वाचनका क्रममा देखाउँने छौँ। दीगो शान्ति, राजनीतिक स्थिरता र समृद्धि नै नेपाली जनताको र नेपाली कांग्रेसको पनि चाहना हो।

त्यसलाई साकार बनाउन हामी निर्वाचनको माध्यमबाट आफ्ना एजेण्डा जनतामा पुर्याउँछौँ र कांग्रेस सही बाटोमा छ भन्ने कुरामा जनतालाई आस्वस्त गराएर जनमत लिन्छौँ।

उहाँहरुको घोषणा जसरी भयो र त्यसपछिका जुन अभिव्यक्तिहरु आइरहेका छन्, त्यसले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न दिदैन।

त्यसकारण उहाँहरुको नियत ठिक छ भन्ने ठाउँ छैन। शान्ति प्रक्रियाको तार्किक निष्कर्ष चाहनुहुन्न भने अहिलेसम्म भएको प्रगति पनि शून्यमा पुग्ने खतरा हुन्छ।

यदि त्यस्तो अवस्था आयो भने हिजो द्वनद्व थियो भने फेरि त्यही पुग्ने खतरा हुन्छ। फेरि देश मुठभेडमा जाने खतरा हुन्छ। वा त्यो खतरा रही रहन्छ।

उहाँहरुले कब्जै गर्न सक्नुहुन्न सक्नुभएन भने भन्ने पनि प्रश्न छ। त्यस्तो कब्जा रोक्ने हाम्रो प्रयत्न पनि रहन्छ। तर मूल प्रश्न नियत हो। 

उहाँहरुले निर्वाचनमा कति सिट जित्नुहनुछ। त्यसको के महत्व हुन्छ भन्दा पनि उहाँहरुको नियत के हो मूल प्रश्न हो यो। यदि नियत सफा भएको भए निर्वाचनमा केही सिट बढी ल्याउने तालमेल गर्ने कुरा सामान्य हुन्नथ्यो।

नियत सफा भएको भए घोषणाका क्रममा कम्युनिष्ट शासन र समाजवादसम्म जाने कुरा पनि आउँदैनथ्यो होला। यो संविधान त हामीले मिलेर बनाएका हौं उहाँ त कुनै कम्युनिष्ट शासनको व्यवस्था गरिएको छैन।

यो गठबन्धन कांग्रेसका लागि अवसर र चुनौती दुवै हो। चुनौति के मानेमा हो भने उनीहरुको यो अप्रत्यासित मिलनले कांग्रेसले संविधान सभा निर्वाचनमा पाएको केही सिट घट्छ कि भन्ने हुन्छ। तर, हामी आत्तिनु पर्ने कारण छैन। 

नेपाली कांग्रेसको आफ्नो विचार र दृष्टिकोण छ। यही विचार र दृष्टिकोणकै आधारमा माले पार्टी नेकपा एमाले हुँदै लोकतान्त्रिक बाटोमा आएको हो। जनताको बहुदलीय जनवाद भनेर बहुदललाई स्वीकार्दै हाम्रो बाटोमा आएको हो।

हाम्रै नेतृत्वमा माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएको हो। अझै पनि उसका गतिविधि हेर्दा लोकतन्त्रिक मूल्य मान्यताप्रति ऊ प्रतिबद्ध भयो भन्ने अवस्था अझै देखिइसकेको छैन। 

त्यसैले हामी हाम्रो भूमिका यसरी निर्वाह गर्ने छौँ सबै पार्टीहरु आफ्ना गतिविधि लोकतान्त्रिक दायराभित्रै सीमित गर्न बाध्य हुनेछन्। उहाँहरुले जसरी राज्य कब्जा गर्ने सोच राख्नुभएको छ त्यो पूरा हुने छैन।

जहाँसम्म नियतको कुरा छ यसमा मलाई गठबन्धनका दलहरुमाथि शंका छ। प्रचण्डजीले हाम्रा सभापति शेरबहादुर देउवाजीसँग सहमति गरेर सरकारमा छँदाछँदै प्रतिपक्षसँग मिलेर जुन बाटो हिँडिरहनु भएको छ। त्यो उहाँले सही गरिरहनुभएको छैन।

प्रतिपक्षी दलले सत्तामा सँगै बसिरहने कुरा नैतिक देखिंदैन। तर यो किन भइरहेको छ भनेर स्वयम् माओवादीले दिनुपर्ने जवाफ हो। सत्तामा बसेर प्रतिपक्षसँग मिल्ने अनि दुवै पट्टिका अधिकार उभपभोग गर्ने कुरा राजनीतिक चरित्र हुँदै होइन।

कांग्रेसका लागि यो गठबन्धन किन पनि अवसर हो भने अब हामी पुरा पार्टी पङ्तिलाई केन्द्रदेखि तलसम्म एक बनाएर जाँदैछौँ। आगामी नेपालको राजनीतिक कार्यदिशाका विषयमा प्रष्ट दृष्टिकोणका साथ हामी अगाडि जाँदैछौँ।

तीन कम्युनिष्ट पार्टीले गठबन्धन गरेर हामीलाई जुन चुनौति दिएका छन्। त्यसलाई मुकाविला गरेर हामी अगाडि जान सक्छौँ। जिल्ला र गाउँका साथीहरुले आत्तिनुपर्ने अवस्था छैन। पार्टीलाई सबल बनाउन यो अवसर हो।

अब हामी कुनै कम्युनिष्ट पार्टीलाई जोगाउनसँगै लिएर हिड्ने दायित्वबाट पनि यो चुनावका लागि मुक्त छौँ। यो पनि कांग्रेसका लागि खुसीकै कुरा हो।

कांग्रेसभित्र गुटैगुट छन् भन्ने गुनासो पनि नभएको होइन। यो पार्टीको केन्द्रीय म्यानेजमेन्टमा देखिएको कमजोरी हो। पार्टीमा लाइक डिस्लाइक भन्ने त हुन्छ नै।

त्यो नेता र नेतृत्वका आधारमा हुने हो। राजनीतिक दलभित्र विभिन्न इश्युमा विभिन्न समूहहरु निर्माण हुने कुरा पनि स्वभाविक नै हो। जहाँसम्म क्रुसियल र क्रिटिकल समयमा एक हुन सक्छ कि सक्दैन भन्ने मुल प्रश्न हो। कांग्रेस विगतमा पनि यस्तो बेला एक भएको छ र अब पनि हुन्छ।

कांग्रेस नमिल्दा कांग्रेसले नै चुनाव हार्ने कमजोरी विगतमा धेरै भएका छन्। हिजो अरु विभाजित अस्थामा निर्वाचनमा लड्दा
नेपाली कांग्रेसभित्रको व्यवस्थापनमा देखिने त्यस्तो समस्या पनि कम असरदार हुन्थ्यो तर अब त्यस्तो छुट हुँदैन। अब हामी त्यसलाई यसपटक निराकरण गरेर छोड्ने छाैँ।
रमेश वाग्लेसँगको कुराकानीमा आधारित
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell