PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

नगरकोटमा पर्यटन शुल्क विवादः पर्यटकसँग नभई व्यवसायीसँग कर लिनुपर्ने व्यवसायीको माग


पहिलोपोस्ट /पहिलोपोस्ट

नगरकोटमा पर्यटन शुल्क विवादः पर्यटकसँग नभई व्यवसायीसँग कर लिनुपर्ने व्यवसायीको माग
फाइल फोटो
नगरकोटः भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन्। 

सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन्। 

नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापा स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएपछि पर्यटन व्यवसायको अवस्थाका बारेमा जनप्रतिनिधिले बुझ्छन् भन्ने लागेकोमा त्यसो नभएको गुनासो गर्छन्।

तर आफूलाई असोज १ गते बुकिङ गरेका पर्यटकले फोनमार्फत प्रवेश शुल्कका बारेमा सोधेपछि छक्क परेको उनी बताउँछन्। थापा भन्छन्,‘पर्यटक शुल्क लिने निर्णय गरेको पर्यटन व्यवसायीलाई नै थाहा भएन।’

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा भन्छन्,‘भक्तपुरबाट नगरकोट पुग्ने दुई सडक मर्मत गरिएको छैन जसले गर्दा पर्यटककको संख्या घटेको छ।यही अवस्थामा नगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको छ। यसले नगरकोटको पर्यटनमा ठूलो धक्का लागेको छ।’

सडक, पानी र फोहर व्यवस्थापनका पक्षमा कसरी अगाडि बढ्ने भन्ने सल्लाह नगरी पर्यटक प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी मारमा परेको समितिका उपाध्यक्ष नवीन गुरुङ बताउँछन्। 

चाँगुनारायण नगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने निर्णय गरेको थियो। सोही निर्णयानुसार नगरपालिकाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने गरी ५१ लाखमा टेण्डर स्वीकृत गरेको थियो। 

ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक २००, तेस्रो मुलुकका पर्यटकसँग भ्याटबाहेक ३०० रुपैयाँ प्रवेश शुल्क लिन थालेको छ। 

ठेकेदारले नगरकोट मुख्य नाका भक्तपुर नगरकोट सडकको तेलकोट र भत्क्यापाटी, थाकलमठ, कलमसीमा पोस्ट खडागरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेका छन्। 

पूर्वाधारको विकासबिना नगरपालिकाले एकलौटी शुल्क लिँदा नगरकोटकै बद्नाम भएको समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजुको भनाइ छ । 

चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गर्दै त्यसमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे। 

नगरकोटमा हाल करिब ६० वटा ठूलासाना होटल सञ्चालनमा छन्। त्यस्तै एक सयको हाराहारीमा रेस्टुराँ तथा फास्टफुड पसल छन्।रासस 
 


नगरकोटमा पर्यटन शुल्क विवादः पर्यटकसँग नभई व्यवसायीसँग कर लिनुपर्ने व्यवसायीको माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट