PahiloPost

Dec 18, 2017 | ३ पुष २०७४

एउटा 'सो'का लागि दुनियाँ ननिदाउँदा कसरी निदाउँथे बुद्ध लामाका बाबु सन्तमान?


स्वेच्छा राउत/पहिलोपोस्ट

एउटा 'सो'का लागि दुनियाँ ननिदाउँदा कसरी निदाउँथे बुद्ध लामाका बाबु सन्तमान?
नेपाल आइडलले नेपाली दर्शकलाई टिभी अगाडि बसेर कुनै कार्यक्रम कुर्ने बनाएको थियो। उक्त कार्यक्रमको फिनालेको रौनक झन् फेसबुक, ट्विटर, चोकमा रहेका घरहरुको छतमा र सडकका खाली भित्तामा समेत देखिएको थियो। २२ सेप्टेम्बर कतारको एशियन टाउनमा नेपाल आइडलको ग्राण्ड फिनाले हुँदै थियो। कार्यक्रम हेर्न टिभी अगाडी थिए नेपाली दर्शक। नेपालमा पनि लाइभ प्रशारणको प्रतिक्षामा रहेका हजारौं मध्य एक थिए बुद्ध लामाका बुवा सन्तमान लामा। तर कार्यक्रम सुरु भएन। 'यसै पनि बढेको डर। त्यसमाथि पर्खेरै बिहान हुन लागेको थियो', उनले फिनालेको दिन लाइभ प्रशारण नहुँदा आफू निकै आत्तिएको बताए। 

निद्रा त यसै पनि हराएको थियो। पल्लो कोठाको छिमेकीले फेसबुकमा देखेको जानकारी अनुसार बुद्धले प्रतियोगिता जितेको बताएपछि उनी खाटबाट जुरुक्क उठे र कोठामै एक चक्कर लगाए। निदाइरहेकी श्रीमती सन्तमायालाई हेरे र उठाए। आमा सन्तमाया लामाको लागि निद्राभन्दा कयौं गुणा प्यारो थियो महिनौं अगाडिबाट देखेको सपना पूरा भएको खबर। तर, उनले खबर सुनेपछि के गर्ने सोच्न सकिनन्। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'मलाई त आँशु आयो। सबैजना खुशीले उफ्रिरहेका थिए। मेरो मनमा चाहिँ लाग्यो, यति ढिला रिजल्ट भनेछन् बुद्धले पो केही खायो कि खाएन होला?' उनको बोलीमा ममता र आँखामा छोराको जितले दिएको गर्व झल्कन्थ्यो। 

सन्तमान र सन्तमाया त्यो रात दुवै निदाएनन्। साथमा थिइन् छोरी आँचल लामा। उनी पनि निदाइनन्। आँचल बुद्धकी दिदी पनि नेपाल आइडल सहभागी हुन्। उनले पनि पोखराबाट काठमाडौं जानको लागि गोल्डेन टिकट पाएकी थिइन्। टप २३ सम्म ठाउँ पनि बनाइन्। कान्छो छोरा र एक्ली छोरी दुवै गाउनका लागि टाढा पुगेकोले आफूलाई पीर परेको बताउँछिन् बुद्धकी आमा। '९ महिनाको नाति छाडेर छोरी पनि काठमाडौं गएपछि पीर त लागिहाल्छ नि। फेरि त्यो बेला नेपाल आइडल यति ठूलो कार्यक्रम हो भन्ने थाहा थिएन।' बुद्ध र आँचलकी आमाले नेपाल आइडल बारे थाहा पाउनु अघि नै आँचल कार्यक्रमबाट बाहिरिइन्। त्यसपछि सुरु भयो १८ वर्षीय बुद्ध लामाको नेपाल आइडलमा एकल यात्रा। 

परिवार पोखरामा। फूच्चे केटो काठमाडौंमा। उमेर र अनुभवहरुले आफूभन्दा पाकाहरुसँगको प्रतिस्पर्धा। तर मिहेनत, संघर्ष र आत्मनिर्भरता बुद्धको लागि नौलो भने थिएन। त्यसैले न परिवार डराए न बुद्ध नै। बुवा सन्तमान केही भावुक हुँदै भने,'कुनै समय त मेरो छोराले हामीसँग केही माग्ला भन्ने सोच्थ्यौं। हुर्कँदै गर्दा उसले राख्न सक्ने डिमान्डहरु बारे सतर्क रह्यौ। केही माग्दै नमागेपछि रहर पो बन्यो। तर अहँ कहिले काही चिया खर्च २० रुपैयाँ बाहेक केही पनि मागेन। केही पनि। हामीलाई दियो यति लामो जीवन बाँच्दा पनि नभोगेको खुशी।' भित्तामा झुण्ड्याइएको गीतारको दुईवटा झोला हेरे। र बोले,'त्यो पनि एउटा भिनाजुले किनिदिए। अर्को आफै कमाएको हो।' 

२०५६ साल मंसिर ८ गते जन्मिएका बुद्ध। बल्ल १२ मा त पढ्दै थिए। कसरी कमाए होला, कसरी पूरा गरे होलान् आफ्नो आवश्यकताहरु? 

'दोहोरी साँझमा काम गर्‍थ्यो। मासिक ५५ सय तलब थापेर घरमै ल्याएर दिन्थ्यो। सायद तलब बाहेकका टिप्सले आफ्नो खर्च कटाउँथ्यो', बुद्धको बुवा एकोहोरिए। सायद छोरालाई सम्झिए। बिहान उठेर संगीत कक्षा, संगीतको कक्षा पछि कलेज, बेलुकी घर र साँझमा दोहोरी गायन। रातको १२ बजे फर्कने गरेको सुनाई सकेर भने, 'धेरैपटक काम छोड् न भन्यौं। तर मानेन, आमाबुवा न हौं खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा धपेडी गरेको कसरी हेर्न सक्थ्यौं र?' 

बुद्धले सधैं भने,'अहिले पो दोहोरीमा काम गर्छु बुवा। पछि त संगीतमै केही गर्नुपर्छ।' 

आर्थिक अवस्थाका कारण छोराहरुको आवश्यकता र रहर पूरा गर्न नसक्ने डर सुनाउँदै आँशु झारिन् बुद्धकी आमाले। नजिकै रहेका सन्तमानले अवस्था सामान्य बनाउन बोले,'तर पनि हामीले छैन भनेनौं। केही मागे नाईं नभन्न नै कोसिस गर्‍यौं।' 

२०४२ सालमा धादिङको लापाबाट बसाई सरेको हो सन्तमानको परिवार। लापामा आफूले भोगेको गरिबी र दु:ख आगामी पुस्ताले भोग्‍न नपरोस् भनेर पोखरा झरेको बताउँछन् उनी। 'काम गरेर पनि जीवन सहज बनाउने अवस्था थिएन।' २०४३ सालमा सन्तमायासँग विवाह गरे र २०४४ सालबाट नगरपालिकामा स्विपरको काम सुरु गरे। 'अस्थायी जागिर, ३०० रुपैयाँ तलब। महिना कहिले मर्ला र ५ रुपैयाँ किलो पर्ने खसीको मासु किनेर खाउँ भन्ने हुन्थ्यो,' लामो हाँसो पछि थपे,'तर जसरी पनि पुग्थ्यो। दुईजनाबाट ४ जना छोराछोरी सहित ६ जना हुँदा पनि पुग्यो। बस् मन संतुष्ट बनाउन सक्नु पर्‍यो।' उनी हाल पनि नगरपालिकामा नै कार्यरत छन्। १२ वर्ष पछि अवकाश हुन्छन्। काम बारे जानकारी दिँदै गरेका पतिलाई रोक्दै सन्तमाया बोल्छिन्, 'सरकारी काम भन्नु मात्रै। पेनसन पाक्दैन। अनुदान चाहिँ दिन्छ रे।' 

नगरपालिकामा छरिएको फोहोर संकलन गर्ने एक बुवा जसले छोराको फोटो टाँसिएका पोस्टर र ब्रोसरहरु भुईं भरी छरिएको देखे। अग्ला घरहरुमा सहयोग अपील सहित छोराले नमस्ते गरेको फोटो, भित्ताहरुमा बुद्ध लामा जिताऔं अभियानको पोस्टर। कागजै कागज बीच पनि उनले पोखरालाई सफा देखे। सुन्दर देखे। त्यो सबै देख्दा नेपाल आइडल जानु अघि बुद्धले भनेको सम्झिए,'बाबा हामी जस्तोलाई कसले सपोर्ट गर्ला र?' तर ती पोस्टर, होर्डिङ बोर्ड र फोटो कसले राख्यो उनलाई थाहा थिएन। कसले भोट मागिदियो अनि कता कताबाट बुद्ध जिताउन आह्वान हुँदैछ पनि थाहा थिएन। 'तर भगवान् हुने रहेछ। छोराले भने जस्तै 'हामी जस्तो'लाई साथ दिने, सहयोग गर्नेहरु त हुन् नि भगवान्।' छोरा पहिलोपटक डेन्जर जोनमा परेपछि बल्ल उनी पोखराका केही संस्था र धादिङको आम जनतासँग भोट माग्न पुगेका थिए। 

'पहिलो पटक पढ्न नजान्नुको पछुतो भयो', पतिले आफ्नो कुरा सक्नु अघि पत्नी बोल्छिन्, 'भोट गर्न जानेको भए हामी पनि गर्थ्यौं नि।' उनी एकोहोरो बोल्छिन्, 'मेरो छोराहरुलाई त म जसरी पनि ब्याचलर पास गर्न लगाउने हो।' के सोचिन् एकछिन् रोक्किइन् र भनिन्, 'हैन त? नेपालमा कलाकारहरुलाई नपढेकै भनेर त हेप्छन् नि।' सन्तमायामा डर छ कन्सर्ट, स्टेज कार्यक्रम, कन्ट्र्याक्ट र नेपाल आइडलले थपेको जिम्मेवारीका कारण कतै बुद्धले पढ्न छोड्छ कि भन्ने।'

महेन्द्र उच्च माध्यमिक विद्यालयबाट एसएलसी दिएका बुद्ध होटल म्यानेजमेन्ट अध्ययनरत थिए। ११ को परिक्षा पनि क्लियर गरेका छन्। १२ को भने नेपाल आइडलमा सहभागी भएपछि २ वटा विषयको परिक्षा दिन भ्याएनन्। 

अभावले नै बुद्धलाई समझदार बनाएको बताउँछिन् उनकी आमा,'धेरै पैसा भएको भए। जे भन्यो त्यही पाउने घरको अवस्था देखेको भए सायद आज जस्तो छ त्यस्तो हुँदैन थियो होला।' हुन पनि दोहोरी साँझमा काम गर्ने भिनाजु र गजल रेस्टुरेन्टमा गाउने दिदीको पछि लागेर एसएलसी लगत्तै काम थालेका थिए। गाउन सक्ने प्रेरणा चाहिँ गाएरै जीवन चलाई रहेका दिदी आँचल लामा र भिनाजु मनोज बास्तोलाले दिएका हुन्। ८ वर्षको उमेरबाट संगीतको औपचारिक शिक्षा लिन भिनाजुले आफ्नो गुरुकोमा पुर्‍याए। बुद्धले सिके। र व्यवहारमा पनि उतारे। एक कार्यक्रममा बुद्धले भनेका थिए, 'मलाई लागेको थियो, मेरो संगीतको करियर भनेको दोहोरी साँझमै सीमित हुन्छ। किनकी मैले अवसर देखेको थिइनँ। तर ६ महिनामा मेरो जिन्दगी कायापलट भयो।' 

छोरा परिवपक्व भएको देखेर बुद्धका बुवा खुशी छन्। भन्छन्,'कमाउन पर्ने सबैभन्दा महत्वपूर्ण कुरा नाम कमाएको छ। अब उसको भविष्य अन्यौलमा होला भन्ने पीर छैन। पहिला त मिलाएर बोल्न समेत जान्दैन थियो।' 

सानो कोठाको भित्ता भरी देखिन्छन् बुद्धले कमाएको प्रमाणपत्र र प्रशंसापत्रहरुले। बुद्ध लामा करातेमा ब्ल्याक बेल्ट हुन्। उनी रेड क्रस र स्काउटमा पनि संलग्न छन्। ८ वर्षको उमेरबाट संगीत सिकेका उनले सन् २०१२ मा ११ वर्षको उमेरमै बिग एफएम १०१. २ ले आयोजना गरेको बिग आइकन नामक प्रतिस्पर्धामा चौथो स्थान हात पारे। त्यसपछि उनले संगीतप्रति सधैं चासो राखे। 

सानो सानो खुशीहरुमा रमाउन सिकेकोमा र परिवारलाई पनि त्यही सिकाएकोले गर्दा बुद्धको जितलाई सबै कुरा नमान्ने बताउँछन् सन्तमान। 'त्यो त उसको सुरुवाती उपलब्धी हो जुन हजारौं दर्शक, स्रोताको साथ र सहयोगले सम्भव भयो। अब त हामीले बुद्धलाई उसको जिम्मेवारी कुशलतापूर्ण पुरा गर्न हौसला दिनुपर्छ।' यी आमा बुवा ढुक्क छन् अब बुद्धलाई यो राम्रो त्यो नराम्रो भन्ने निर्देशन दिन नपर्नेमा। उनीहरु यति मात्र चाहन्छन्- बुद्धले सिक्न नछोडोस्, पढ्न नछोडोस् र नमात्तियोस्। एकअर्कालाई हेर्छन्, हाँस्छन् र सन्तमायालाई बोल्न इशारा दिन्छन्। भन्छिन्, 'पहिले मेरो छोरो गाउने ठाउँ खोज्दै हिड्थ्यो अब उसलाई खोज्छन्। कसैले नचिन्ने बुद्ध लामालाई हेर्न पोखराको कन्सर्टमा भिड हुनेछ।'

फोटो: रनिल फैजु
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal