अबको एक सातापछि यिनीहरु बेसी झर्ने तरखरमा हुन्छन्। चिसो बढ्न थालेपछि माथितिर टिक्नै मुस्किल हुन्छ। त्यसमाथि झरी हाल्यो भने हिउँले ढाकिहाल्छ। गोठालाहरु अब बेसीतिरको यात्रामा देखिने छन्।
यो लमजुङको लिपे लेक हो। यहाँका ३ हजार ३ सयदेखि ४ हजार मिटर उचाईसम्म धेरै गोठहरु भेटिन्छन्। एकै खर्कका पनि तीन वटासम्म गोठ हुने भएकाले लेक आवाद भए झै लाग्छ। एउटा गोठमा ४ जनासम्म गोठालाहरु भेटिन्छन्।
हर्क गुरुङ उमेर ले ७६ टेके पनि फुर्तिला देखिन्छन्। ठेकीमा मोही पार्दै गोठमा बस्नुको आनन्द बेग्लै भएको उनी सुनाउँछन्। हर्कका अनुसार उनका गोठमा १ सय २० वटा भेडा बाख्रा, ४ वटा गाई र २ वटा भैसी छन्।
लिपे लेक भेडी गोठका नाइके हस्त तामाङ र कालु तामाङ भेडाको साँड (भेडाको भाले) अठ्याउँदै 'हाम्रो गोठको सबै भन्दा ठुलो साँड यही हो' भन्दै थिए। उनीहरुको गोठमा १ हजार २ सय ५ वटा भेडा बाख्रा छन्।
चुआर भ्यालीका भेडी गोठ नाइके ६० वर्षे मीन बहादुर गुरुङ नेपाली सेनाका अवकाश प्राप्त हुन्। सेनाबाट अवकास लिएपछि गुरुङलाई आफ्नै बाउबाजेले गरेको काम फर्कन मन लाग्यो। गोठमै बसेर उनले भेडा पाल्न थाले। उनले अन्य दुई जना सहयोगी राखेर भेडाबाख्रा पालेका छन्।
उनका अनुसार उनको गोठमा करिव १ हजार ८ सय जति भेडा बाख्रा छन्। लमजुङ लगाएत गोरखा तथा अन्य थुप्रै ठाउँबाट भेडा, बाख्रा लिन उक्त ठाउँमा मानिसहरु आउँछन्। गोठमै काटेर भेडाको मासु समेत बेच्ने गरेका छन्। भेडाको मासु धार्नीको १ हजार ३ सय सम्ममा बिक्री हुन्छ।
भेडी गोठको लागि उपयुक्त समय जेष्ठ २० देखि असोज अन्तिम सातासम्म रहेको भेडा गोठालाहरु बताउँछन्। चिसो बढ्दै जाँदा असोजपछि भेडालाई वेसी झार्नुपर्छ।
हिमाली भेग र पहाडी भेगमा वस्तुभाउलाई चिसोबाट बचाउनका लागि जस्ता,फल्याक,चित्रा आदि प्रयोग गरेर गोठ बनाइएको हुन्छ ।
पहाडी भेगमा गोठाला र वस्तुभाउ गोठमा बस्ने गर्छन्। तर हिमाली भेगमा भने भेडी खर्कका गोठ गोठालाहरु बस्नको लागि प्रयोग गर्दछन् । गोठ मै दुधजन्य सामाग्रीहरु उत्पादन हुन्छ। भेडाको रौ बाट उनसमेत त्यहीँ उत्पादन हुन्छ। गोठालाहरुले त्यही बख्खु बनाउँछन्।
भेडा बाख्राहरु भने खुल्ला आकाश मै राखिने गरिन्छ ।
पहाडी भेगमा भेडी गोठ कहि कतै मात्र भेटिन्छ भने हिमाली भेगमा खर्कहरुमा अझै भेट्न सकिन्छ ।