PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

टीका सकियो बिदा बाँकी छ? बिदाकाे समयमा पढ्न छान्नुस् यी १० पुस्तक



टीका सकियो बिदा बाँकी छ? बिदाकाे समयमा पढ्न छान्नुस् यी १० पुस्तक

काठमाडौं: हरेक वर्ष प्रकाशकहरुले दशैं बिदा लक्षित गरी किताब सार्वजनिक गर्दै आएका छन्। यो वर्ष पनि केही प्रकाशकहरुले दशैं अघि प्रकाशनमा ल्याए। विभिन्न आख्यान, गैर आख्यान, कविता संग्रह, कथा हालसालै सार्वजनिक भएका छन् जसलाई बिदाको खाली समयमा पढ्न सकिन्छ।

मदनकृष्ण श्रेष्ठको 'महको म'

फाइनप्रिन्टले प्रकाशन गरेको 'महको म' कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो। किताबमा उनको बाल्यकालदेखि वर्तमान अवस्था बारे केही रोचक, केही पिडादायी र केही रमाइला प्रसङ्ग र घटनाहरु समेटिएका छन्। फाइनप्रिन्टले प्रकाशन गरेको किताब 'महको म'को मूल्य हार्डकभरको ८७६ रुपैयाँ र  पेपरब्याक मूल्य रु ५७६ रहेको छ। 

कुमार नगरकोटीको 'दोचा'

दोचा संस्मरात्मक पुस्तक हो। फिक्शन डिजाइनरको छवी बनाएका लेखक कुमार नगरकोटीले जीवनमा घटेका घटनाहरुलाई आफ्नै भाषा शैलीमा प्रस्तुत गरेका छन्। बुकहिल पब्लिकेसनले प्रकाशन गरेको दोचा २६५ पाना लामो छ। संस्मरणको मुल्य ५०० रुपैयाँ राखिएको छ।

हेमप्रभाषको 'उल्झन' 

कवि हेमप्रभाषको उपन्यास उल्झन पनि दशैंको छेको पारेर सार्वजनिक भएको छ। सामाजिक र राजनीतिक घटनाक्रमले देशमा सिर्जना गरेको अवस्थालाई प्रभाषको उपन्यासले उठाएको छ। लिपि बुक्सले प्रकाशित गरेको २ सय ८८ पृष्ठ लामो 'उल्झन'को मूल्य ३५० रहेको छ। 

हरिबहादुर थापाको 'रजगज' 

फाइनप्रिन्ट प्रकाशनको अर्को नयाँ पुस्तक हो 'रजगज'। हरिबहादुर थापा लिखित उक्त पुस्तक दल, दरवार, अदालत र अख्तियारसँग जोडिएका विषयमाथि केन्द्रित छ। विशेषत भ्रष्टाचारको मुद्दाहरु केन्द्रमा रहेको पुस्तक ३३९ पृष्ठ लामो छ। जसको मुल्य ४८८ राखिएको छ।
 

यज्ञशको 'भुइयाँ' 

पत्रकार एवं समिक्षक यज्ञशको कथा संग्रह 'भुइयाँ' पनि दशैंको छेकोमा सार्वजनिक भएको छ। भूमिहिन र पिछडिएका मधेसका नेपालीको कथाहरु पुस्तकमा समेटिएको छ। फाइनप्रिन्टले प्रकाशन गरेको किताबमा १२ कथा समावेश छन्। १९० पृष्ठको पुस्तकको मुल्य ३८८ रुपैयाँ रहेको छ।
 

अर्चना थापाको 'कठपुतला'

अर्चना थापाको कथा संग्रह 'कठपुतला' सार्वजनिक छ। साइन्स फिक्शन जनराको किताबले विज्ञानमा निर्भर मानव जीवनको कथा भन्छ। अक्षर क्रियशन्सले प्रकाशन गरेको किताबको मूल्य ३५० तोकिएको छ। किताबमा ८ कथा समावेश छन्।

तीर्थ गुरुङको 'पाठशाला' 

साहित्यकार तीर्थ गुरुङको उपन्यास 'पाठशाला' बजारमा उपलब्ध छ। किशोर मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको किताब हो यो। बुकहिल प्रकाशनले बजारमा ल्याएको पुस्तक २ सय ५६ पृष्ठको छ। जसको मूल्य ४ सय रुपैयाँ तोकिएको छ। 

प्रोल्लास सिन्धुलीयको ‘जन्मजात बाहुनको विज्ञप्ति’ 

साहित्यकार प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ छ। उपन्यास, कथा र आत्मकथा बाहेक साहित्यको फरक विधा कविता संग्रह दशैंको छेको पारेर असोज १ बाट सार्वजनिक गरिएको हो। सांग्रिला प्रकाशकले बजारमा ल्याएको कविता संग्रहका कवितामा मानवता केन्द्रमा राखिएको छ। संग्रहमा २८ कविता समावेश छन्।

अनमोलमणिको '१९ नम्बर' 

पत्रकार अनमोलमणिको कथा संग्रह '१९ नम्बर' सार्वजनिक छ। विज्ञाको प्रभाव, प्रेम र सामाजिक विसंगतिले सिर्जना गर्ने द्वन्द्वहरु कथाहरुको विषय हुन्। ९ कथा संग्रहित पुस्तकको मुल्य २७५ तोकिएको छ। १६२ पृष्ठको पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

मिलन बगालेको 'देशदृष्टि'

आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ मिलन बगालेको पुस्तक 'देशदृष्टि'लाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो। उनले बसोबास पद्धति,निर्माण संस्कृति र सम्पदा संरक्षणका विषयमा केन्द्रित रहेर यो पुस्तक लेखेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell