PahiloPost

Dec 18, 2017 | ३ पुष २०७४

योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद'


ऋषिकेश दाहाल/पहिलोपोस्ट

योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद'
अध्यात्म, मनोरञ्जन र पुनर्मिलनको ककटेल हो दशैं। यो ककटेलले दशैंलाई रङ्गीन बनाइरहँदा हामी भने गफिने मुडमा छौं। विषयलाई काँडेतारले घेरिएको छैन। पर्वै ककटेल भएपछि विषयलाई लक्ष्मण रेखाभित्र समेट्नु न्यायोचित हुन्न पनि। विषयमा मदिरा नघोल्ने हो भने मात लाग्ने बनाउन पनि कठिन। पत्रकार किशोर नेपाल र गायक योगेश्वर अमात्य एकै ठाउँमा छन् - मात लाग्नका लागि अब अरु के चाहियो र? अझ त्यसमा सन्धाको समय साथ योगेश्वरको। 

जब सन्ध्या हुन्छ दिल सबको घबराउँछ। तर योगेश्वर घबराउँदा सदाबहार गीत बन्छ। समय सन्ध्याकै भए पनि विषय उनको बहुचर्चित गीतबाट थालिएन। पत्रकारिताले विषय प्रवेश गर्‍यो।

'पत्रकारहरु त चौथो अंगको पनि माथिको अंग भइसके,' योगेश्वरले आफै विषय प्रवेश गराए, 'सञ्चारले पनि सबै कुरा ठीक देखाउँदैन। नभएको बढी देखाउँछ। जनताको आवाज अगाडि लैजाँदैन तर सञ्चारकर्मीलाई एकदम राम्रो छ आजकल।'

सबैभन्दा निच र तल्लो अंग जनता भयो, सबैभन्दा माथिको पत्रकार। उनको बुझाइ यस्तै रहेछ। 

साँझको साढे सात भइसकेको छ। दशैँमा दरबारमार्ग जति धेरै रङ्गिने गर्थ्यो यसपाला फिका फिका लागेको छ। स्याम्स वन ट्रीमा मुनिबाट आकाशतिर फर्काइएको लाइटले बडेमानको रुखलाई चम्काएको छ। आधा जति टेबुल प्याक।
 
'यहाँ लार्ज भन्ने हो, बेलायतमा डबल भन्नुपर्छ दाइ। नत्र बुझ्दै बुझ्दैन,' किशोर नेपालतिर हेर्दै योगेश्वरले अर्डर थाले। किशोर नेपालले बियर पो अर्डर गरे त। यो सन्ध्या फरक भयो एकाएक। ब्ल्याक लेबल ब्रान्डका किशोर दाइले बियर किन लिए सोधिएन। सायद दशैं लाग्यो। 

सम्पादक उमेश र मलाई फ्रेस जुसले नै मत्याउँछ - त्यसैले हामीलाई मदिरा चाहिँदैन। योगेश्वरको अगाडि ह्विस्कीको पेग।  

उनले मदिराको साथी जुटाए। सेकुवामा दुई अप्सन। अमिताभ बच्चनको कौन बनेगा करोडपति शैलीमा सोधे योगेश्वरले, 'भाइ कुन सेकुवा खाने? चिकेन कि मटन।'

सोझो जवाफ - जे भए पनि हुन्छ।

'तिमीले खाने हो यार,' योगेश्वरलाई उत्तर चित्त बुझेन, 'के कुरा गर्छौ यार, ५ वटी केटी अगाडि राखेर छान भन्यो भने नि जुन भए नि हुन्छ भन्छौं कि क्या हो?' 

डण्डा हिर्काए उनले। हत्तपत्त 'मटन' भनिनँ भने अर्को उदाहरण पेश होला भन्ने डर।

ननभेजमा अप्सन दिइरहेका योगेश्वर आफै चाहिँ भेज। उनले मासु नखाएको डेढ दशक पूरा भइसकेको छ। अर्का भेगन उमेशको साथ मिल्यो उनलाई।   

केहीबेर ककटेलमा मिडिया हावी भयो। व्यवसायिकदेखि बार्गेनिङमा बाँचेका सबैखाले पत्रकारमाथि चर्चा भयो। मिडियाको भूमिका पनि एकैछिन विषय बन्यो। नेतादेखि न्यायाधीशसम्म पत्रकारसँग कसरी गाँसिएका छन् भन्ने गन्थन।

किशोर नेपालले त्यहीँ प्रश्न गरे : मिडियाले नेपालमा संगीतलाई कसरी सघाएको छ?

योगेश्वर : आफ्ना-आफ्नालाई गरेको छ। निष्पक्ष भएर कलालाई मानेर गरेको छैन। आफ्नालाई मात्र गरेको छ। कति मानिसहरु पलायन भएका छन्।

मिडियाले बेमतलब गर्दा गायनबाटै पलायन भएकाहरुको सूची नै उनले तेर्स्याए- जगदीश समाल, हरिश माथेमा, सुनील उप्रेती। चाकडी गर्नेहरुलाई मिडियाले ठाउँ दिएको उनको अनुभव। भने, 'पुग्नेरहेछन् नि गायकहरु मिडियाका मानिसको घरघरमा दाइ।'

'मेरोमा त एक जना पनि पुगेका छैनन् त यार अहिलेसम्म,' किशोर नेपालले भने, 'मैले केही गायकको स्टोरी गरेको छु, योगेश्वरको पनि। मानिसहरु त्यसमै अचम्म मान्छन्।'

'दाइको र मेरो पुरानै सम्बन्ध छ। हामी अमृत पनि एक अर्कासँग साटेर खान्छौं।'

मिडियाबाट मदिरातिर पुग्यो विषय। संयोग नै हो अर्डर अनुसार मदिरा आइपुग्यो। सन्दर्भ जारी रह्यो।

मदिरा संवादमा योगेश्वर र किशोर

योगेश्वर : दाइ, समुन्द्र मन्थनमा पनि अमृत निस्कियो भन्छन् नि। निस्केको चाहिँ रक्सी नै हो के दाइ।
किशोर : निस्केको रक्सी नै हो। त्यसमा शंका छैन।
योगेश्वर : विष्णु चाहिँ केटीको रुप धारण गरेर बाँड्न गए। रक्सी एक मात्रा (पेग) खायो भने अमृत। दुई पेग खायो भने औषधि। तीन पेग खायो भने विष। अब राक्षसहरुलाई ख्वाउनु ख्वाए, देउतालाई चाहिँ चट्ट मिलाएर एक पेगमात्र दिएछन्। अनि राक्षसलाई त ढाल्दिहाले नि देउताले। 

भगवान विष्णुले कछुवाको अवतार लिएर समुन्द्र मन्थन गरेको कथाको केन्द्रमा रह्यो रक्सी। दशैं र मदिराको सम्बन्ध धेरै छ। यतिखेर सबैभन्दा बढीले पिउँछन्। त्यसैले दिउँसै ट्राफिक प्रहरी एम्बुस थापेर बस्छ – रक्सी पिए नपिएको बुझ्न।

संवाद जारी छ है। 

किशोर : तपाईँले गाउने गीतमा रक्सीको प्रभाव कति परेको हुन्छ? 
योगेश्वर : अहहह...। रक्सीले आँखा खोल्छ दाइ। रक्सीले मेरो हरेक सेलहरु चलाउँछ। मेरो सेन्स (इन्द्रीय) खोल्छ जस्तो लाग्छ। त्यो आवश्यक छ दाइ। महाभारतमा पनि ५ पाण्डव भनेको मानिसका ५ सेन्स हो। कृष्णजी थपिएपछि त्यौ छैटौं भयो। सिक्स्थ सेन्स आएपछि कोही पनि हार्दैन। 
किशोर : पिएपछि स्वर आउने तपाईँको आदर्श देखिन्छ I जस्तो नारायण गोपालको पनि यस्तै देखिन्थ्यो। 
योगेश्वर : पिएपछि मैले उदाहरण दिइहाले समुन्द्र मन्थनमा यही रक्सी निस्केको हो । सोमदेव !

विष्णुको दोस्रो अवतारमा भएको समुद्र मन्थन र निस्किएको सोमरसलाई त्यही छाड्दै योगेश्वर एकाएक सांस्कृतिक विचलनतिर धकेलिए।
शाकाहारी गायक खुलेरै बलिको पक्षमा पो उभिए त।

'अहिले हिन्दुमा पनि  फुट ल्याउन लागिरहेका छन्। नेवारमा पनि फुट ल्याउन लागेका छन्,' उनले भने, 'नेवारमा हिन्दु हुन्छन् बुद्धिष्ट पनि हुन्छन्। आज एउटाले अर्कोलाई गाली गरिरहेको हुन्छ। हिन्दुमा पनि मासु नखानेले मासु खानेलाई गाली गरिरहेको हुन्छ। मानौ मासु खानु नै अपराध हो। तर आफ्नो आफ्नो मान्यता हो। म शाकाहारी हुँ। तर खानेलाई खान देउ, नखानेलाई नदेउ I भइगो मतलब नगर।'

त्यसो त दशैं जति नजिकिन्छ बलिविरुद्ध बहस सतहमा आइरहन्छ। त्यसैले झोक चलेको रहेछ यिनलाई।

'दशैंको संघारमा किन यी कुरा आउँछ? किन क्रिसमसमा आउँदैन? वर्षमा ४५ बिलियन जनावर काटिन्छ विश्वमा। फेरि दशैंमा मासु चै खान्छ अनि बलि चै हुँदैन रे!,' उनी जारी रहे, 'उपत्यकाको सबै मन्दिरमा बलि चढ्छ। अब त्यसको विरोध किन? रगत लतपतिएको छ भने त्यो दिन नजानु नि मन्दिरमा। भिड छ भनेर फिल्म हेर्न नगएजस्तै रगत छ भनेर मन्दिर नजाँदा के भयो?' 

रैथानेहरु बलिविरुद्ध कहिल्यै नउत्रेको उनको दावी छ। बाहिरबाट यहाँ सेटल भएकाहरुले यहाँको परम्परालाई मिच्न खोजेको आशय थियो उनको।  रक्सीबाट धर्मतिर घोलियो संवाद। 

योगेश्वर : कतारमा नेपालीको जनसंख्या कतारीको भन्दा धेरै छ। अब के नेपालीलाई मन पर्छ भने सुङ्गुर काटेर खान पाउँछ त त्यहाँ? काठमाडौंमा बाहिरबाट आएका धेरै भए भन्दैमा यहाँको परम्परा बन्द गर्न भन्ने? 'यो परम्परा हो दाइ। विदेशमा कस्तो नराम्ररी काटिन्छ। यहाँ त एक छ्याक हो।'
किशोर : तपाईँलाई किन यस्तै वित्पाते वित्पाते कुरा गर्न आउँछ?
योगेश्वर : भूमिपुत्रहरुको कदर हुनुपर्‍यो। मानिसहरुसँग भेट्दा काभ्रेबाट आएको, झापाबाट आएको गुल्मीबाट आएको भन्छ। जिल्ला हो त्यो। काठमाडौं त शहर हो जिल्लामात्र होइन। बाहिर जहाँसुकै जानुस् झापाली समाज, काभ्रेली समाज खोटाङ समाज हुन्छ।  काठमाडौँ समाज देख्नु भएको छ देशमा वा विदेशमा कतै?
किशोर :   छँदै छैन नि।
योगेश्वर : हामीलाई बाल मतलब छैन नि। दाइ धर्मको कुरा हो। हामीले दुई हात फैलाएर राजधानीमा सबैको स्वागत गरेका छौं। यहाँ आएकालाई बाहिरिया जस्तो व्यवहार गरेको छैन। यस्तो कुरा बोल्दा बचेर बोल्नुपर्छ नत्र कुटाइ खाइन्छ हो। 
किशोर : काठमाडौंका मानिस बढी नै राष्ट्रवादी छन् है? अलि सोझा पनि, जे पनि पत्याइहाल्ने।
योगेश्वर : अनि घमन्डी पनि दाइ। हामी घमन्डी भएकाले नचाहिने काम, यताउति गर्नै सक्दैनौं। काठमाडौंकालाई कसैले पैसा दियो भने किन लिने? तैले भनेर लिने? भन्छ। यो राम्रै हो। इमान पनि बेच्नु हुँदैन दाइ। 
किशोर : किन्दै किन्दैनन् हो। योगेश्वरलाई पैसाको मतलब छैन। मैले भन्ने कुरा होइन। काठमाडौंको मान्छे बज्र स्वाँठ नै लाग्छ।

काठमाडौंमाथिको सम्वाद मेयर विद्यासुन्दरको कामतिर मोडियो। विद्यासुन्दर विदेश घुम्ने र काम गर्न नसक्ने तर्क अघि बढ्यो।
'यो विद्यासुन्दर सोझो मान्छे हो। काम गर्न नसक्ने। सोझो मान्छे भएरै केही गर्न नसक्या हो,' उनको तर्क। 

योगेश्वर : देश उँभो लाग्ने देखिन दाइ मैले त।

अब संवाद राजनीतितिर धकेलियो। 

किशोर : एउटा कलाकारको आँखाले पछिल्लो २५ वर्षमा नेतृत्व गर्नेको क्वालिटी कस्तो देख्नुभएको छ?
योगेश्वर : जस्ताको तस्तै छ। राजाको टाइममा पनि त्यस्तै। नेताहरु पनि त्यस्तै। 
किशोर : मनमोहन र केपी एउटै हुन् त?
योगेश्वर : होइन दाइ। मनमोहनले एउटै चस्मा लगाएको देखिन्थ्यो। बाङ्गो हुँदासम्म पनि एउटै। बहालमा बस्थे क्यार। नेताहरुबारे सोध्नुभयो। नेताहरुको काम नेतृत्व गर्ने हो दाइ। तर मनमोहन नेता भएनन्।

टुप्पीवाल योगेश्वर

केही नेतामाथि टिप्पणीपछि योगेश्वरले आफूलाई नेता सम्झिए। एकाएक राजनीतिको संवाद अलपत्र पर्‍यो। कुरो अन्यत्रै मोडियो।  

योगेश्वर : दाइ म जस्तो नेता हुनुपर्छ। म पैसा खान्न दाइ।
किशोर : खानै पर्दैन त के खानु? तिम्रो पेशा नै पैसा कमाउने।
योगेश्वर : पैसा कमाउने होइन दाइ। जति छ बाउले छोडेर गएको त्यसलाई अलिअलि बढाउँ जस्तो पनि कहिल्यै लागेको छैन। 
किशोर : अब बाले छाडेर गएको सम्पत्ति बढाउन थाल्यो भने अर्को स्वार्थ जन्मिन्छ नि।

सहमत भए उनी। यहाँबाट विषय हिन्दु धर्म र राजाका विषयमा केन्द्रित भयो। 

किशोर : मान्छे त कट्टर हिन्दु हो है? टुप्पी लामो छ।
योगेश्वर : हो दाइ। टुप्पी अझै लामो थियो अस्ति अलि मिलाए। लन्डनमा पनि मलाई टुप्पी पालेको देखेर नेपालीहरु भन्छन्- दाइले पाल्नुभएको रहेछ हामीलाई त लाज लाग्छ। 
किशोर : उनीहरुले अंग्रेजको तलब खान्छन्, त्यही भएर लाज लागेको होला।
योगेश्वर : अंग्रेजको एउटा क्वालिटी चाहिँ मान्नुपर्छ दाइ। ब्रिटिसले बन्दुकको नालबाट कहिल्यै धर्म परिवर्तन गराएन । यहाँ ब्रिटिसले कहिल्यै धर्म परिवर्तन गराएन। विश्वमा सबैभन्दा पहिले पोर्चुगिज र स्पेनिस हुन् धर्म परिवर्तन गराउने। 

एउटा गायक जसलाई गीत गाउनै मन लाग्न छाड्यो

योगेश्वरलाई अचेल गीत गाउन मन लाग्दैन रे। अरुकै गीत धेरै गाए उनले। जब सन्ध्या हुन्छ कति पटक गाए होलान्?
 
'गीत गाउनै मन लाग्दैन अचेल।तपाईँहरुले मलाई भेट्यो भने जब सन्ध्या हुन्छ सुनाउन भनिहाल्नुहुन्छ। अर्को कोही थपियो भने त्यही सुनाउ भन्छ। एकपटक साथीभाइसँग बस्दा तीन पटकसम्म एउटै गीत गाउनुपर्छ,' सुनाए। 

उनी पहिले रहरले गाउँथे अहिले करले गाउँछन्। ६/७ वर्षयता नयाँ गीतमा लागेका पनि छैनन्। 

गीत गायनको विषय राजतन्त्रको बहसतिर पनि मोडियो। राजनीतिक दलसँग दिक्दार देखिएका योगेश्वर सेरोमोनियल राजतन्त्रलाई फरक रुपमा बुझेको बताउँछन्। 'सेरोमोनियल भएपछि राजाले चलाउने होइन नि चलाउने त प्रधानमन्त्रीले हो,' उनी अघि  सरे, 'म नेवारको बच्चा भएकाले कुमारीको रथ तान्दा राजै आए हुन्छ भन्ने लाग्छ। दुई राष्ट्रपति भए देशमा तिनीहरु राजाभन्दा चर्को हिड्दिन्छ बाइ। त्यसरी नै हिड्नुपर्ने भन्ने लाग्ने हो कि के हो?'

प्रश्नसँगै उत्तर पनि उनीसँगै थियो। उदाहरण नै पेश गरे। 

'अब्दुल कलाम भारतमा राष्ट्रपति हुँदा सबैले कपाल काट्छ भन्ने अनुमान गरेका थिए। तर, उनी जस्तो थिए त्यस्तै झ्याङ्लाङ्गै बसे। सामान्य हिसाबमा।' 

यसपाला राजाले टीका नलगाउने घोषणा गरेको ठीकै लागेको छ उनलाई। तर केही रमाइला प्रसङ्ग छन् शक्तिको विषयमा उनीसँग। दशैंमा उनी राजाकहाँ टीका लगाउन लाम बसेर नारायणहिटी छिर्थे। तर केही कलाकार च्यानल मिलाएर सर्टकर्ट रुपमा राजाकहाँ पुग्ने रहेछन्। राजतन्त्र मासिएपछि त्यसरी उनीभन्दा छिटो तरिकाले दरबार छिर्नेहरु जान छाडे। योगेश्वर भने टीका थाप्न पुग्थे। 

'पछि त मैले अपराध नै गरेजस्तो गरेर टेलिभिजनहरुले लखेटे हो। आफूभन्दा ठूलासँग टीका थाप्न आशिर्वाद लिन नपाउने?,' संवैधानिक राजतन्त्र अन्त्यपछि निर्मल निवासमा टीका लगाउन गएको विषयमा मिडियाको दृष्टिकोणले उनलाई रिस उठायो। तर उनी वकलत गर्दै हिँड्ने पक्षमा छैनन्। राजतन्त्रमात्र होइन कट्टर हिन्दु योगेश्वर भन्छन्, 'हिन्दु राष्ट्र निकाल्नै नहुने थियो निकाले। अब ल्याए राम्रै हो। तर ल्याउँदा झगडा हुन्छ भने ल्याउनु हुन्न।'

फादरसँग पढेको भागवत गीता

खान्दानी परिवारका योगेश्वरले सेन्ट जेभियर हुँदै कट्टर क्रिस्चियन ब्याप्टिस्टहरुको घेरामा रहेको कलेजमा पढे। स्कुल पढ्दा फादरहरुले नै उनलाई भागवत गीताको शिक्षा दिएका थिए।  

'मैले त अमेरिकामा ब्याप्टिस्टहरुको कलेजमा पढेँ। नाच्न पनि नपाउने गाउन र सुसेल्न पनि नमिल्ने। मैले गोदावरीमा पढेँ, दार्जीलिङमा पढेँ। त्यहाँ फादरले कहिल्यै धर्म परिवर्तन गर भनेनन्,' उनले भने, 'भागवत गीता पढाउँथे फादरले त्यहाँ।' 

दशैंका हरेक दिन विधिपूर्वक पूजा अर्चना गर्छन् यिनी। बाबुले सिकाएको संस्कार कायम राख्दै हरेक बिहान पूजापाठमा समय वित्छ। अनि पहिले र अहिलेको दशैंमा के अन्तर भेट्छन् त यिनले?

'आकाशमा एउटै चङ्गा देख्न पाएको होइन। चङ्गै छैन। चङ्गा उडाउँदा कति मजा आउँथ्यो। दशैँको एक महिना अघिदेखि बिहान कहिले होला भन्ने लाग्थ्यो। चङ्गा उडाउँदा एक किसिमले मेडिटेसन हुन्थ्यो। धर्ती छाडेर आकाशमा चङ्गासँगै रमाइरहेका हुन्थ्यौं।'

दशैँ लाग्ने बित्तिकै उनको एउटा गीत बज्न थाल्छ मिडियामा - दशैँ नै हो कि यो मेरो दशा फर्किआएको। 

उनलाई यो गीत बज्ने बित्तिकै दिक्क लाग्छ रे। दशैँ जस्तो रमाइलो चाडमा यस्तो दिक्क लाग्ने गीत गाउने भनेर धेरैले उनलाई थर्काएछन्। तर उनी डिफेन्स गर्दै भन्छन्- दशैँको बेला हरेक  घरमुलीलाई टेन्सन हुन्छ के। त्यही टेन्सन दर्शाउन गीत बनाएको हो। 

दशैंमात्र होइन हरेक पर्वमा परिवर्तन देखिएको उदाहरण दिइहाले उनले।  

'दशैको के कुरा? तीज १ महिनाअघिदेखि वाइन र चिकन चिल्लीबाट सुरु हुन्छ। पहिले तीन दिनमात्र तीज हुन्थ्यो,' छाउनीमा माथितिरबाट महिलाहरु आउँथे। व्यारेकका सेना र उनीहरु गीत गाउँथे। 

संवादले नयाँ मोड लियो।   

किशोर : केटीहरुको कुरा आयो। राम्री केटी देख्दा मनमा के आउँछ?
योगेश्वर : म प्रशंसा गर्छु। सौन्दर्यको म पूजारी हुँ। लुभ्रमा पेन्टिङ हेर्दा वा नगरकोटमा बसेर सनराइज हेर्दा सौन्दर्य अनुभूत हुन्छ। मेरो र तपाईँको हेराइमा फरक हुनसक्छ। मोर्डन एक्ट्रेसमा मेरो आँखै जाँदैन। मलाई भलाद्मी केटीहरु राम्रो लाग्छ। हाँसो उनीहरुको गहना जस्तो लाग्छ।
किशोर : जिस्क्याउन मन लाग्छ?
योगेश्वर : दाइ बच्चादेखि लागेको बानी। बोलाउ भने तिमीलाई… भन्ने एउटा पुरानो गीत छ नि? बोलाउँ भने तिमीलाई बात लाग्ने डर…यो विषयमा त दाइहरुका अगाडि हामी के? दाइहरुसँग त ट्युसन नै लिनुपर्छ जस्तो लाग्छ। 
किशोर : हाहाहा
योगेश्वर : दाइ, म कृष्णजी जस्तै त होइन के। कृष्णजीले त ट्याक्कै पट्याउने रहेछ दाइ। 
किशोर : पट्याउने मामिलामा त नारायण गोपाल पनि कम होइनन्। 
योगेश्वर : खोइ दाइ हामीले त पट्याउन सकेको होइन।
किशोर : योगेश्वरले पनि पट्याउँछ। सबैलाई थाहा भएकै कुरा हो त्यो। भन्नमात्र नमिल्ने हो।  
योगेश्वर : आइ थिङ्क सेक्स मलाई सबैभन्दा बढी मन पर्ने कुरा हो दाइ। स्वर्ग नपुगे पनि मानिसले स्वर्गीय आनन्द यसैबाट पाउँछ। स्वर्ग नपुगेको मानिसले यौन सम्पर्क राख्यो भने त्यहीं स्वर्ग पाउँछ भन्ने मेरो मान्यता हो।

यति भनेपछि उनले मदिराको एक चुस्की लिए। उनी शायद अघि बढ्दै थिए। त्यसपछिका बाँकी संवाद यहाँ प्रस्तुत हुन मिल्ने थियो- थिएन भन्न सकिन्न। साँझपख रात बन्ने तरखरमा थियो। दशैं हामीले पनि मनाउनुपर्ने थियो। ककटेल संवादलाई यही  बिट मारियो।

सबैलाई दशैंको शुभकामना।

मंगल होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal