PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न नयाँ नाना छ, न चङ्गा : अनाथ बालबालिकाहरुको दशैँ

न नयाँ नाना छ, न चङ्गा : अनाथ बालबालिकाहरुको दशैँ

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौँ : गोकर्णमा नवनिर्मित भवनमा ४२ जना बालबालिकाहरु बसिरहेका छन्। कोही खेलिरहेका छन्। कोही बसिरहेका। टोलाएर बस्नेहरु पनि छन्। भुसुक्कै निदाइरहेकाहरु पनि छन्।  

थाहा छ उनीहरुलाई दशैँ आएको। तर, उनीहरुसँग उडाउनको लागि चंगा छैन। नयाँ लुगा छैन, घुम्न जाने ठाउँ छैनन्। न त रोएर उनीहरुले केही पाउँछन्, न त दंग्याएर उनीहरुलाई केही आउँछ। 

किनकि, उनीहरु अनाथ हुन्।

त्यसैले उनीहरुको लागि दशै ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भइरहेको छ।
 
ती ४२ जना बच्चाहरुलाई  पालिरहेका छन् ताप्लेजुङका तीलबहादुर कार्कीले। उनी आफै अपाङ्ग छन्। २५ वर्ष पशुपतिमा भिख मागेको पैसा जम्मा गरेर संस्था खोलेको बताउँछन्।
 
ती बच्चाहरुको तीलबहादुर बाहेक यो संसारमा कोही छैनन्। जसरी तीलबहादुरले ती बच्चाहरुलाई आफ्नो सन्तान मानेका छन्, त्यसैगरी ती सबै बच्चाहरुले तीलबहादुरलाई बुवा।

बच्चाहरुको बुवा भएकै कारण दशैँ उनको लागि योगेश्वर अमात्यको गीत, ‘दशै नै हो कि यो मेरो दशा फर्किआएको’ जस्तै भएको छ।



***
तीलबहादुरले  बच्चाहरुसँग दशै मनाउन थालेको १० वर्ष भइसक्यो। त्यो भन्दा अघि उनी दशैँमा समेत पशुपतिमा भिख मागिरहेका हुन्थे। न कसैलाई टीका लगाइदिन्थे। न उनको निधारमा टिका हुन्थ्यो।

तर, दश वर्षदेखि उनको दशैँ मात्र हैन, दैनिकी नै बदलिएको छ।

उनी बच्चाहरुलाई टीका लगाइदिन्छन्। भएको जे जस्तो खुवाउछँन्। त्यसैगरी रमाएर दशैँ मनाउँछन्। तर, उनको निधार भने खाली नै रहन्छ। 

***

१२ वर्षीय दीपेन्द्र कार्की मुगुबाट आएर त्यहाँ बसिरहेका छन्। उनी बच्चैदेखि अनाथालयमा बस्दै आएका छन्।

दशैँ आएको थाहा छ उनलाई। तर, उनले नयाँ लुगा पनि मागेका छैनन्। घुम्ने चाहना छैन उनको। चाहना भएपनि व्यक्त गर्दैनन्। भन्छन्, ‘जे दिनुहुन्छ बुवाले त्यही खान्छौँ, त्यही लाउछौँ। सबै कुरा गर्ने मन भएपनि बुवालाई दु ख छ त्यही भएर जे छ त्यसमै रमाउछौँ।’

त्यहीँ बस्दै आएका ८ वर्षीय सुन्दर बुढा भन्छन्, ‘नयाँ लुगा चाहिएको छ। पिङ खेल्न मन लागेको छ। घुम्न जान मन लागेको छ।’

तिनै साना अनाथ बच्चाहरुको दशैँ खुसियाली बनाउन दिलबहादुर लागिरहेका छन्।

***
त्यहाँ अपाङ्ग, द्वन्द्वपीडित, बुवाआमा जेलमा परेका र भूकम्पपीडित गरेर ४२ जना बच्चाहरु छन्। सबैको कथा व्याथा आफ्नै छ।
 
तीलबहादुर यसपाली बच्चाहरुले खिन्न अनुभव गरेको सुनाउँछन्। भन्छन्, ‘यो दशैँमा सबैभन्दा बढी दुःख भयो। केही खानेकुराहरु जुटाउन सकेको छैन। बच्चाहरु खुसी भए भने म खुसी हुन्छु। प्रयास गरिरहेको छु।’

‘कस्तो हुन्छ त बच्चाहरु सँगको दशै ?’

तीलबहादुर भावुक बन्छन्। बच्चाहरुलाई हेर्दै एकछिन चुप हुन्छन्। र, बोल्छन्, ‘यिनीहरुलाई पनि अरु बच्चाहरुलाई जस्तै नयाँ लुगा लाउन, मीठो मिठो खान मन लागेको होला। घुम्न मन हुन्छ होला। तर, सबै बुझकी छन्। मेरो दुख बुझेर कोही केही माग्दैनन् । जे छ त्यसमै रमाउँछन्।’

***

धेरैलाई आश्चर्य लाग्छ, अपांग मानिस २५ वर्ष भिख मागेर त्यही  पैसाले अनाथहरुको लागि कसरी काम गरिरहेका छन्। 

उनको कथा बेग्लै छ।

कार्की जन्मदै शारीरिक रुपमा अशक्त थिए। दुबै हात र खुट्टामा ६ वटा औलाहरु। दुबै खुट्टा नचल्ने लुलो। २४ वटा औला भएकै आधारमा उनलाई गाउँभरि नै ‘अलछिना’ भन्थे। उनको आमालाई पूर्वजन्मको पाप बोकेको भनेर गाली गर्थे। 

कार्की जन्मिएपछि उनीसँगै उनको आमा पनि बाख्राको खोरमा थुनिएर बस्नुपरेको तीलबहादुर सुनाउँछन् । अपांग छोरा जन्माएकै कारण समाजले दिएको सजाय थियो त्यो।

कुरा बुझ्ने भएपछि तीलबहादुरले अशक्त भएकै कारण आमालाई समाजले नानाभाती भनेको थाहा पाए। आमा सधैँ रुन्थिन्। समाजले उनीहरुलाई देखेपछि ‘यी अलछिनाको अनुहार देखियो अब के दशा लाग्ने हो ?’ भन्दै मुन्टो बटार्थे। तिलबहादुरसँग आफ्नो जिन्दगीलाई धिक्कार्नुबाहेक अरु कुनै विकल्प थिएन।

कलिलै उमेरमा जीवनसँग मात्र हैन समाजसँग संर्घष गर्नुपरेको तिलबहादुर सुनाउँछन्। उनी स्कुल गए, तर, स्कुलमा हेप्ने र नानाभाँती भन्ने प्रवृत्ति फेरिएन।

दुई दिनभन्दा बढी स्कुल जान नसकेको बताउँछन्। 

‘त्यस्तो अवस्थामा आमाको धेरै माया लाग्थ्यो,’ कार्कीले विगत कोट्याए, ‘आमालाई गरेको अन्याय आँखामा झलझली आयो । केही नसोची आत्महत्या गर्न गएँ। तर,सकिनँ।’

पटक पटक गरेर उनले सात पटक विष खाँदा समेत मर्न नसकेको कार्की सुनाउँछन्। जीवनदेखि नै मृत्यु टाढा भागिदियो। बाँच्न नसक्ने भएका उनी मर्न सकेनन्। बैचैनी झन बढ्दै गयो। त्यसपछि गाउँ छोडेको तीलबहादुर सुनाउँछन्। 

***

पाँचथर छोड्दा उनी सात वर्षका थिए। २०३८ साल पुसको जाडो महिना। गाडीहरु कम चल्ने। ताप्लेजुङबाट हिँड्दै झापासम्म आइपुग्न दुई महिना लाग्यो।

गाडीको हुटमा सामान छोप्ने त्रिपाल थियो। कार्की त्रिपालमुनि लुकेर झापादेखि काठमाडौंसम्मको यात्रा तय गरे। त्यतिबेला काठमाडौंलाई राजाको गाउँ नेपाल भन्ने गरेको कार्की सुनाउँछन्। 

जाडोको समय । काठमाडौंमा परिचित कोही थिएनन्। तीलबहादुर अशक्त शरीर लिएर भोकै नाङ्गै भौतारिए। पुस महिनाको जाडोमा मुटु फुट्ने गरी कठ्याङिग्रए। बल्लतल्ल होटेलमा भाँडा माझ्ने काम पाए।

साउले पैसा नदिने। भाडा धेरै माझ्नुपर्ने। दुई महिनासम्म भाँडा माझ्दा हात साबुन र पानीले खायो। कार्की काम गर्न नसक्ने भइसकेको बताउँछन्।

एकदिन होटेलमा एकजना ग्राहक आए। ती ग्राहकले एउटा संस्थाको नाम नाम लेखेर दिए । त्यही कागजको चिर्कटो लिएर सोध्दैखोज्दै जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा पुगे।

पालेले जुनबाटोबाट आएको त्यही बाटो जानु भन्दै थर्कायो। त्यहाँबाट उनी फर्किए। होटेलबाट भागेर हिडेको उनलाई त्यही फर्कन मन लागेन। अन्त जाने ठाउँ कतै थिएन्। हात घाउभएर कुहिएकाले शरीर दुर्घन्धित थियो। काम गर्न कसैले दिँदैनन् थिए।

तीलबहादुरले विगत सम्झिए, ‘मैले त्यही आफ्नो कमजोरीलाई हतियार बनाए। सास थाम्नका लागि मागेर खाने बाटो रोजेँ।’

त्यतिबेला जोरपाटी, बौद्धलगाययत उनका माग्ने क्षेत्र थिए । माग्दा पैसा धेरै जम्मा हुन्थ्यो। उनको सुताइ पशुपति मन्दिर क्षेत्रको पाटीमा हुन्थ्यो। विहान उठ्दा पैसा सधैं गायब हुन्थ्यो।

जाडोमा सँगै सुत्न आएका साथीहरुले उनको पैसा लुटिदिन्थे। बिहान पैसा खोइभन्दा उल्टै कुट्थे। लुट्ने साथीहरु उनीभन्दा ठूला र लागूऔषधका दुर्व्यसनीमा लागेका केटाहरु हुन्थे। सात वर्षको बालक उनले प्रतिकार गर्न सक्ने अवस्था थिएन।

‘मागेको पैसाले धेरै ठूलो केही गर्छु भन्ने सोच त्यतिबेला थिएन्।’ कार्कीले भने, ‘सपना नभएपनि बिरामी पर्दा चाहिन्छ भन्ने सोच मनमा थियो।’

कार्कीले पैसा जोगाउन सकेनन्। कसैलाई राख्न दिए पनि फिर्ता होला भन्ने विश्वास थिएन। सात वर्षे बालकले बैंकमा पैसा जम्मा गर्न सम्भव पनि थिएन।

उनलाई पैसा जोगाउने नयाँ ‘आइडिया’ आयो । 

उनले गुहेश्वरी मन्दिर छेउको झाडीमा रुखको फेद नजिकै खाल्डो खने। त्यो खाल्डोमा ठूलो बोरा हाले। दिनभरी मागेर मध्यरातमा पैसा बोरामा हाल्ने गरेको कार्की सुनाउँछन्।

यसरी नै दिन महिना, हप्ता गर्दा गर्दै २५ वर्ष बित्यो । 

बिरामी पर्ने, र अनेक हण्डर जीवनमा दिनहूँ जस्तै आए। जाडो महिनामा बाथले शरीर चल्दैनथ्यो। हिउँदको चिसो, वर्षातको झरी र चैत बैशाखको गर्मीमा पनि माग्ने कर्म नछोडेको कार्की सुनाउछँन्।

उनले ६३ सालको अन्त्यतिर पैसा निकाल्ने योजना बनाए।

२५ वर्षदेखि खाल्डोमा राखेको पैसा एक्लै निकाल्न गाह्रो थियो । जो पायो त्यहीलाई विश्वास गर्ने अवस्था थिएन। त्यतिबेला गौशाला प्रहरी वृतका प्रहरी महानिरीक्षक जयराम सापकोटा थिए। सापकोटालाई कार्कीले सबै घटनाको बेलिबिस्तार लगाए। उनको कुरा सुनेपछि सापकोटाले खाल्डोबाट पैसा निकाल्न सहयोग गरे ।

पैसा निकालेर साट्दा ५ लाख ५१ हजार जम्मा भयो। कागजको सबै पैसाहरु कुहिएको थियो । 

प्रहरी महानिरीक्षक सापकोटाले उनलाई सोधे, ‘के गर्छौ यत्रो पैसा ? घरजग्गा जोड्ने हो ?’

‘हैन म यो पैसाले म जस्ताहरुको सेवा गर्छु।’ 

कार्की यस्तै जवाफ दिएको बताउछँन्। 

सापकोटाले १० हजार आफ्नो तर्फबाट दिँदै ‘आँटेको काम पूरा होस्।’ भनेको कहिल्लै नबिर्सने कार्की सुनाउँछन्।

***

खाल्डोबाट पैसा झिकेपछि त्यही पैसाले २०६४ सालमा जोइन्ट डिसेवल युनीटी आवाज नामक संस्था दर्ता गरे।आफूजस्तै अनाथ बच्चाहरु खोजेर सहारा दिन थाले । 

उनको संस्थामा अहिले नर्सरी पढ्नेदेखि क्याम्पस पढ्नेसम्मका बच्चाहरु छन्। देशविदेशमा बस्ने नेपालीहरुको सहयोगबाट सस्था चलाइरहेको कार्की सुनाउँछन्। 

कार्की अझैपनि सस्था चलाउनको लागि अशक्त शरिर लिएर एक ठाउँबाट अर्को ठाउँ धाइरहेका छन्। अनाथ बच्चा पाल्नको लागि अशक्त शरीर लिएर संघर्ष गरिरहेका छन्।

उनको संस्थामा कलाकारहरु जन्मदिन मनाउँछन्। विभिन्न पेशा व्यावसाय गर्ने व्यक्तिहरु आएर बच्चाहरुलाई खाना खुवाउछँन्। लत्ताकपडा दिन्छन्। आर्थिक सहयोग गरेर जान्छन् । यसरी नै ती बालबालिकाहरुलाई बाचिँरहेका छन्। 

बच्चा पाल्न गाह्रो भएपनि हिम्मत नहारेको कार्की बताउँछन्। 

‘सहयोगको धेरै खाँचो छ । म मरेर गएभने उनीहरुको के हुन्छ ?’ उनले भने, ‘ उनीहरुलाई अरु अनाथहरुको लागि केही गर्न सक्ने बनाएर मर्नुछ। उनीहरु फेरि सडकमा आएभने मैले यत्रो गरेको केही अर्थ हुदैन्।’

***
३० वर्षअघिदेखि उनी घरमा गएका थिएनन् । परिवारले उनको  काजक्रिया नै गरिसकेको थियो।

समाजसेवामा लागेपछि चर्चा परिचर्चा हुँदै थियो। घरका परिवारहरुले टिभी मार्फत उनी जिउँदै भएको थाहा पाए। अनिमात्र परिवारसँग भेट भयो। फेरि पुर्नजन्म गरेर न्वारान गरेको कार्की बताउँछन्।

परिवारसँग उनको ३० वर्षपछि पहिलो दशैँ हो। त्यसैले घर जान लागेको कार्की सुनाउँछन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell