PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखरीयाको मेयर बन्न लागेका को हुन् मन्टु? जसले हराउँदैछन्  दुई सांसदलाई



राधेश्याम पटेल

पोखरीयाको मेयर बन्न लागेका को हुन् मन्टु? जसले हराउँदैछन्  दुई सांसदलाई

वीरगंजः पर्साको केन्द्रमा रहेको पोखरीया बजारमा ठूलो उलटपुलट हुने भएको छ। दश गाविस मिलाएर बनाइएको पुरानो बजार पोखरीया नगरपालिकाको नतिजामा धेरैको ध्यान तानेकाे छ।

किनकी त्यहाँबाट एक जना युवकले चतुर दुई राजनीतिज्ञलाई पराजित गर्न लागेका छन्। अन्दाजी ३२/३३ वर्षीय मन्टु भनिने दीपनारायण रौनियार जित नजिक पुगेका हुन्।

रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका युवा नेता हुन् मन्टु। उनी नेपाली जनता दलको चुनाव चिन्ह चक्का(पाग्रा छाप) लिएर मेयरमा चुनाव लडेका थिए।

पातलो ज्यान र हल्का दाह्री पालेर समाजसँग भिजेका मन्टु समाजिक सेवामार्फत पोखरीयामा आफ्नो जितको झण्डा फहराउन तयारी गरिरहेका छन्। रिजवान अन्सारीका विश्वास पात्र राजकुमार यादवको निजी सचिवको रुपमा राजनीतिको जोडघटाउ सिकेका मन्टु पछिल्लो बाढीको समयमा  पोखरीयाका बाढीपीडितको उद्धार र राहतमा पनि निकै खटेका थिए।

अन्य दल राहत संकलन गर्न तयार नभएको अवस्थामा उनी राहत घरघर बाँड्दै थिए। 

मोटरसाइकमा गाउँगाउँ घुम्ने युवा नेता मन्टु बालबालिका, महिला र वृद्धवृद्धामा पनि लोकप्रिय छन्। अगामी ५ वर्ष पोखरीयाको साँचो उनकै हातमा पर्ने राजनीतिक विश्लेषकहरुले आँकलन गरेका छन्।

पोखरीयाको मतगणना अन्तिम चरणमा पुगेको छ। १० वडामध्ये १ वडाको १२० मत मात्र गन्न बाँकी छ। लगभग आधाघण्टामा नतिजा आउनेछ।

पोखरीया नगरपालिकाका निर्वाचन अधिकृत रुद्र सुवेदीका अनुसार १२० मत गन्न बाँकी हुँदा मन्टु मेयरमा २९ सय ९६ मत ल्याई अग्रस्थानमा  छन् भने संघीय फोरमका मेयरका उम्मेदवार प्रद्युमन चौहानले(एमालेबाट क्षेत्र नं ४का पूर्व सभासद) २७ सय ५७ मत ल्याएका छन्।

कांग्रेसका पूर्वसभासद तथा पोखरीयाको मेयरका उम्मेदवार रामेश्वर रौनियरले १६ सय २४ मत मात्र ल्याएका छन्।

त्यसैगरी, उपमेयरमा फोरम नेपालले बाजी मार्ने भएको छ। उपमेयरकी उम्मेदवार सल्मा खातुनको जित सुनिश्चित भएको हो।

उनले पत्रकारिता छाडेर उपमेयरमा फोरम नेपालबाट उम्मेदवारी दिएकी छन्।

उपमेयरमा उनी २६ सय ९८ मत ल्याई जित नजिक पुगेकी छन्। उपमेयरको दोस्रो स्थानमा नेपाल संघीय समाजवादी पार्टीबाट चुनाव लडेकी विणा देवी वैठाले २४ सय ७३ प्राप्त गरेकी छन्।

कांग्रेसकी रेहाना देवान २२ सय ५० मत ल्याई तेस्रो स्थानमा छन्। १५ हजार मतदाता रहेको पोखरीयामा १२ हजार ४६६ मत खसेको थियो।

किन हारतर्फ उन्मुख भए दुई सांसद? यो प्रश्नमा पोखरीयावासीले पहिलेदेखि मुखिया पनि मै लड्ने, सभासद पनि मै लड्ने, मेयर पनि मै लड्ने प्रवृति दुई सभासद रौनियार र चौहानमा देखिएकोले जनताले उनीहरलाई ब्यालेट पेपरको परीक्षामा यसपाली फेल गराउन लागेका हुन्।

लामो समयदेखि राजनीति गरेको तर हालसम्म पोखरीया आसपासको विकास हुन नसकेकोले युवा पुस्तालाई पोखरीयाको विरासतको जिम्मा दिन लागेको हुन सक्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell