PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्थानीय चुनावको तेस्रो श्रृंखला : राजपा र संघीय समाजवादीको श्रेष्ठता



सूर्य खड्का

स्थानीय चुनावको तेस्रो श्रृंखला : राजपा र संघीय समाजवादीको श्रेष्ठता

तेस्रो तथा अन्तिम चरणको स्थानीय तहको चुनावी परिणाम मध्यान्तर उन्मुख भैरहँदा सार्वजनिक मत परिणमहरुले राजनीतिक दलहरुलाई जनताले दिएको स्थान रोचक छ। खासगरी मधेशका ८ जिल्लामा र सबै मधेशी दलहरुको सहभागितामा भएको अन्तिम स्थानीय चुनावी श्रृंखला भएकाले यो चुनाव विशेषतः मधेशी दलहरुले पाएको जनसमर्थनको हकमा पनि ज्यादै महत्वपूर्ण छ।

सोमवार सकिएको चुनावको मतपरिणाम हेर्दा मधेशी तीन दल मध्ये राजपा र संघीय समाजवादीका लागि यो चुनाव उत्साहजनक देखिएको छ। भलै उनीहरुले आफै मधेश बाहुल्य क्षेत्रमा पहिलो हुने भनी गरेको दाबी भने पूर्ण हुन सकेन। 

लामो मधेश आन्दोलनका मुख्य सहयात्री दल राजपा र संघीय समाजवादी चुनाबी तालमेल गरेर जनताकहाँ गएका भए उनीहरु मधेशको पहिलो शक्ति बन्न सक्ने संभावना रहेको संकेत भने जारी मतपरिणामले देखाएको छ। किन भने राजपाले शनिबार ११ बजेसम्म १५ र संघीय समाजवादीले १९ स्थान जितिसकेका छन्। राजपाको ८ स्थानको  र संघीय समाजवादीको ३ स्थानको जारी अग्रताले उनीहरुको संयुक्त चुनावी सहकार्य भएको भए उनीहरुको अझै बलियो हुन सक्ने तथ्य उजागर गरेको छ।

वैशाख ३१ को चुनावमा जसरी साझा पार्टी र विवेकशील दल काठमाडौंको स्थानीय चुनावमा मिलेर चुनाव लड्न नसक्दा दुवै दल राजधानी महानगरको मेयर हुन चुकेका थिए, ठयाक्कै त्यस्तै शैलीमा राजपा र संघीय समाजवादी मिलेर चुनावमा जान नसक्दा मधेशमा पहिलो शक्ति हुन चुकेको देखिएको छ। उनीहरुले चुनावी तालमेल गरेको भए त्यसले उत्पन्न गर्ने सकारात्मक तरङ्गले पनि उनीहरुको स्थानीय तहमा जितिने संख्या थप गर्न सक्ने पनि हालसम्मको घोषित चुनावी परिणामले नै देखाएको छ।

मधेशका शक्ति : राजपा र संघीय समाजवादी

असोज २ को यो अन्तिम स्थानीय चुनावले मधेशमा तराई मधेशका मुख्य दलमा अब राजपा र संघीय समाजवादी नै रहेको सन्देश पनि स्थापित गरेको छ। र, यी दुई दलमध्ये पनि मूल रुपमा उदाउँदो शक्तिशाली दलका रुपमा संघीय समाजवादी नै रहेको चुनावी नतिजाले देखाएको छ। किन भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले यसअघि ३१ वैशाख र १४ असारका चु्नावमा ९ स्थानीय तहमा जितेको समेत गर्दा उ मधेश क्षेत्रमा माओवादी पछिको वा उसकै हारहारीको दल हुने लक्षण देखाएको छ। 

तुलनात्मक रुपमा राजपा ६ वटा मधेशी दलहरु मिलेर बनेको दल हो। मधेश आन्दोलन हाँकेका र सत्ताको अनुभव भएका नेतै नेताको दल पनि हो राजपा। उमेर अनुभवले पनि पुराना र पाका नेताहरुको बाहुल्यता छ राजपामा। राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव, ह्दयेश त्रिपाठीहरुको व्यक्तित्व र ओझका कारण पनि राजपा तराई मधेश क्षेत्रको हेभीवेट दलका रुपमा मानिँदै आएको हो।

तर, असोज २ को चुनावी परिणाममा हेभीवेट नेताहरुको बाहुल्यता रहेको राजपा भन्दा नवोदित र अरु पार्टीबाट आएका नेताहरुको बाहुल्यता रहेको संघीय समाजवादी नै शक्तिशाली र थप उर्जावान दल रहेको मतादेशले देखाएको छ। पूर्व एमाले उपाध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठहरुलाई अपवाद मान्ने हो भने उपेन्द्र यादवको पौरखमा जन्मे हुर्केको संघीय समाजवादी अन्ततः नयाँ मधेश मसिहा दल बन्ने संकेत पनि यही चुनावी परिणमले देखाएको छ। राजपा र संघीय समाजवादीको पहिलो हुने हुँकार मधेशी मुलका मतदाताको कठघरामा भने स्वीकृत हुन नसके पनि उनीहरु मुख्य मधेशी दल हुन् भन्ने चाहिँ यसै पटक स्थापित भएको छ। 

उदाउँदो संघीय समाजवादी

पहिलो र दोस्रो चरणका स्थानीय तहका चुनावमा पनि भाग लिएको कुरा अन्य मधेशी दलका लागि पाच्य नभएको भए पनि त्यसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीलाई लाभ मिल्न पनि सक्ने पूर्वानुमान थियो मधेश विश्लेषक डा. राजेश अहिराजको। नभन्दै जारी मतगणनामा संघीय समाजबादी मुख्य विपक्षी नेकपा एमाले, राजपा र माओवादीकै हाराहारीमा अघि आइरहेको छ। 

अघिल्ला दुई चरणका चुनावमा नयाँ शक्तिसँग मिलेर चुनाव लडे पनि एक्लो बलमा नै ९ स्थानीय तह जितेर अघिल्ला चरणका चुनावमा चौथो भएको संघीय समाजवादी अहिले अन्तिम चरणमा पनि चौथो स्थानमा नै टिकिरहन सक्ने संभावनालाई उसको जारी अग्रता र जीतले संकेत गरेको छ। 

चौथो स्थानबाट माथि बढ्न सके वा उसले राजपालाई जित्न सके पनि यो चुनावी दशैं उसका लागि चुनावी समरको विजयोत्सव बन्ने पक्का छ। जनयुद्ध कालमा पूर्व माओवादी रहेका उपेन्द्र यादवको टक्करमा माओवादीले धक्का खाएको देखिँदैछ। माओवादी संघीय समाजवादी भन्दा केही सीटका आधारमा मात्रै अगाडि छ। आफ्ना मुद्धा आफनो जित बनाउन नसकेको माओवादीका लागि राजपा भन्दा संघीय समाजवादी चुनौति दलका रुपमा उदाएको मतपरिणामले देखाएको छ। माओवादीको मुद्धामा उपेन्द्रको जीतको राजनीतिक पर्वका शैलीमा चुनावी परिणामले उपेन्द्रको दललाई उदाउदो शक्ति बनाइसकेको छ।

राजपाः ढिलो निर्णयको महँगो चुनावी मूल्य

तेस्रो चरणको स्थानीय तह चुनावको मुख्य राजनीतिक सौन्दर्य यही हो कि यो चुनावमा राजपा पनि सामेल छ। यसको राजनीतिक र रणनीतिक अर्थ जति धेरै छ, त्यही अनुसार उसले त्यही अनुसार विजय गाथा बनाउन भने नसक्ने जारी मतगणनाले देखाएको छ। राजपा मुस्किलले मात्रै दोस्रो हुन सक्यो भने पनि ठूलै चमत्कारीक उपलव्धी हुनेछ। 

उसले अघिल्ला दुई चरणका चुनाव बहिष्कार गर्नुको घाटा र असोज २ कै चुनावमा पनि अन्तिम समयमा मात्रै भाग लिने गरी गरेको ढिलो निर्णयको महँगो चुनावी मूल्य उसले चुकाउनु परेको संकेत देखिँदैछ। राजपाकै नेताहरु अन्य दलमा गएर टिकट लिएर जित्दै गरेको रमिता हेर्नुपर्ने खालको चुनावी नतिजा राजपाका लागि पार्टी केन्द्रमा मात्रै ठूलो र स्थानीय तहमा भद्रगोल रहेको उदाहरण पनि हो।

राजपाले आन्दोलन अवधिको साझेदार संघीय समाजवादीसँग चुनावी तालमेल गर्न नसक्दा होस वा पार्टीभित्रैका असन्तुष्टहरुलाई चित्त बुझाउन नसक्दाका दुष्परिणामका रुपमा मतादेशमा पहिलो  हुने चाहना अतृप्त राजनीतिक तृष्णामा नै सीमित हुने निश्चित भएको प्रायः हुँदैछ। यद्यपि राजपा अध्यक्ष मण्डलका एक शक्तिशाली नेता राजेन्द्र महतोले राजपा पहिलो नै हुने जिकिर दोहोर्‍याउने गरेका छन्। 

अधिकारकर्मी दिपेन्द्र झाले भने जस्तै संघीय समाजवादी र राजपाले पाएको मतादेशको कुल अर्थ चाहिँ मधेश मुद्धाप्रतिको मधेशी मतदाताको ऐक्यवद्धता नै हो। तर चुनावी प्रतिष्पर्धामा उनीहरुको हुन नसकेको सहकार्य उनीहरुले माल पाएर पनि चाल नपाएको महँगो चुनावी सवक हो भन्ने प्रमाणित हुने संकेत देखिँदैछ।

ठूला दललाई थपिएको चुनौति

निसन्देह कांग्रेस तेस्रो चरणको चुनावमा पहिलो दल बन्दै गरेको जारी मतपरिणमले देखाएको छ। किन भने ३२ बढी स्थानमा उसले शनिबार बिहानसम्म जितिसकेको छ भने ८ बढी स्थानमा उसको अग्रता छ। तर, मधेशमा एकल वर्चस्व कायम गर्दै आएको कांग्रेसका स्थानमा अब राजपा र संघीय समाजवादीले धाबा बोलेको कुरा पनि यही चुनावी नतिजाले देखाएको छ। राजपा र संघीय समाजवादी बढ्नु भनेको कांग्रेसको प्रभाव घट्नु पनि हो। यसअर्थमा यो चुनावी परिणाम मुख्य चुनौति मुख्य सत्तारुढ दल कांग्रेसकै लागि हो। एमालेका लागि त सामना गर्नै नसक्ने चुनौति राजपा र संघीय समाजवादीले पेश गरिसकेका छन्। माओवादीका लागि पनि धान्न नसक्ने चुनौति यिनै दुई दल राजपा र संघीय समाजवादी अघि आएका छन्।

स्थानीय तहका कुल ७ सय ६६ संख्यामा मधेशी दल कम देखिए पनि उनीहरुको राजनीतिक प्रभाव मधेश क्षेत्रमा मुख्य रुपमा बढेको चुनावी परिणमले देखाएको छ। स्थानीय सत्ताका संख्यामा कम हुँदाहुँदै राजनीतिक प्रभावमा उम्दा देखिने मधेशी दलको उदाउँदो शक्ति नै ठूला दलका लागि मधेश उनीहरुको कव्जाबाट मुक्त हुँदै गरेको उदाहरण हो।

बीऊ जोगाउँदै लोकतान्त्रिक फोरम, बढारिए अरु

मधेशी दलको सूचीमा परेर सत्तामा सदाकाल रहने भए पनि स्थानीय चुनावको अन्तिम श्रृंखला फोरम लोकतान्त्रिकका लागि फलिफापपूर्ण रहेन। पछिल्लो जारी मतगणनाले विजय गच्छेदारको लोकतान्त्रिक फोरमको बीऊ २ नम्बर प्रदेशमा जोगिएको मात्रै संकेत गरेको छ। तर उसले ६ स्थान जितेर पहिलो र दोस्रो चरणमा कायम गरेको पाचौं स्थान निरन्तर जोगाउन सक्ने सम्भावना लगभग सकिएको जारी मतपरिणामले देखाउँदैछ। 

उसले राजपा र संघीय समाजवादीसँग चुनाव अघि सुधार गरेको सम्बन्धलाई चुनावी तालमेलमा बदल्न नसकेको परिणमतः राजपा र संघीय समाजवादी भन्दा पनि धेरै तल झर्नु परेको स्पष्ट भएको छ। तेस्रो चरणमा उसले २ तह मात्रै जित्नु र केहीमा मात्रै अग्रता लिनु उसले मधेश आन्दोलनका दौरानमा मधेशी दलसँग सहकार्य नगर्नुको परिणाम मात्रै होइन, उसले निरन्तर सत्तामा बसेर मधेशलाई नै उपेक्षा गरेकोप्रति जनताको झापड पनि हो।

यसबाहेक कमल थापा वा पशुपति शम्शेर राणाका दुई राप्रपा वा साझा विवेकशील दल वा अन्य कुनै पनि दल यो क्षेत्रमा बढारिने लगभग पक्का देखिन्छ। काठमाडौंमा संविधान जारी गरेर त्यही संविधानको विरोधमा २०७२ असोज ४ देखि मधेश दौडाहा गरेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईको पनि मधेशमा कुनै प्रभाव नरहेको संकेत जारी मतपरिणमले गरिरहेको छ। त्यसैले तेस्रो तथा अन्तिम चरणको स्थानीय चुनावी परिणाम साना र नयाँ दलका लागि मतादेशमा बढारिने अन्तिम श्रृंखला हुने स्पष्टै देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell