PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल टेलिकम किन पछि हट्यो धरहरा पुनः निर्माणबाट ?



पहिलोपोस्ट

नेपाल टेलिकम किन पछि हट्यो धरहरा पुनः निर्माणबाट ?

काठमाडौं  : नेपाल टेलिकमले राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ। 

कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ। 

२०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा क्षतिग्रस्त बनेको थियो। 

टेलिकमले काठमाडौँ/ललितपुर/भक्तपुर दरबार स्क्वाएर, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुनः निर्माण कार्यका लागि आगामी तीन वर्षभित्र एक अर्ब योगदान दिने प्रतिबद्धता भने कायमै रहेको पत्रमा उल्लेख गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। 

उनले भने,‘यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो, दुई साता भन्दा बढी समय बित्दासमेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न पत्राचार गरेको थियो।’

टेलिकमको लिखित जानकारी आएकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनःनिर्माणबारे थप निर्णय गरिने प्रवक्ता भुसालले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell