PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनुषामा कांग्रेस र एमालेको २-२ : राजपाको एक, १३ तहको परिणाम आउन बाँकी



पहिलोपोस्ट

धनुषामा कांग्रेस र एमालेको २-२ : राजपाको एक, १३ तहको परिणाम आउन बाँकी

धनुषा : धनुषाका १८ मध्ये तीन स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। त्यसमध्ये २ स्थानीय तहमा कांग्रेस, दुईमा एमाले र एक स्थानमा राजपा विजयी भएका छन्। 

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बरबहादुर राउत क्षेत्री २ हजार ३ सय ७७ मत प्राप्त  गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका रामअशिष महतोले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन्। 

यस्तै, उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत प्राप्त गरी विजयी भइन्।  उनका प्रतिस्पर्धी कांग्रेसकै जनारसी देवीले २ हजार १ सय ९६ मत प्राप्त गरेकी छन्। 

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पनि एमाले विजयी भएको छ। कांग्रेसका रामबाबु यादवलाई एमालेका मनोजकुमार यादवले पराजित गरेका छन्। गाउँपालिकाको प्रमुखमा एमालेका मनोजले ३ हजार ५४० र कांग्रेसका रामबाबुले १ हजार ९९२ मत पाएका छन्। 

उपप्रमुखमा पनि एमालेकी मिरादेवी महतोले ३ हजार ५२७ मतका साथ विजय प्राप्त गरेकी छन्। कांग्रेसकी अनिता कुमारीले १ हजार ९८८ मत पाइन्। 

त्यसैगरी नेपाली कांग्रेसलेसमेत दुई स्थानीय तहमा जित दर्ज गरेको छ। कांग्रेसले जनकनन्दिनी गाउँपालिका र औरहीमा मा जित निकाल्न सफल भएको छ। 

धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्षामा कांग्रेसका अब्दुल वारिक शेख र उपप्रमुखमा भारती कार्की विजयी भएका छन्। 

मतगणना सुरु भएदेखि नै अग्रता कायम राखेका संघीय समाजवादी फोरमका दिपिनदेव यादवलाई ५ सय ३७ मतले पछि पार्दै कांग्रेसका शेखले अध्यक्ष जितेका हुन्। विजयी कांग्रेस उम्मेदवार शेषले २ हजार ७ सय १७ मत ल्याएका छन् भने यादवले २ हजार १ सय ८० मत पाएका छन्। 

उपप्रमुखमा पनि कांग्रेसकै भारती कार्की विजयी भइन्। कार्कीले ३ हजार ५१ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालकी रिंकुकुमारी यादवले १ हजार ९६५ मत प्राएकी छन्।

धनुषाकै औरही गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख दुवै पदमा एमालेलाई पछि पार्दै कांग्रेसले जितेको छ। अध्यक्षमा कांग्रेसका ब्रम्हदेव यादव २ हजार ५ सय ६९ मत ल्याएर विजयी भए। एमालेका उमाशंकरप्रसाद शाहले  २ हजार ४ सय ९४ मत पाए।

उपप्रमुखमा कांग्रेसकी मिरादेवी सहनी १ हजार ९ सय ४ मत ल्याएर विजयी भइन भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी नन्दकुमारी ठाकुरले १ हजार ८ सय ३१ मत पाइन्।

धनुषाको १८ स्थानीय तहमध्ये हंशपुरको मतपरिणाम पनि सार्वजनिक भइसकेक छ। हंशपुरमा राजपा उम्मेदवार विजयी भएका छन्। राजपाका रामज्ञान मण्डलले ३ हजार ३ सय २० मत ल्याई मेयरमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रदीपकुमार यादवले ३ हजार २ सय ७६ मत पाए। 

उपमेयरमा पनि राजपाकै रेणु झा विजयी भइन्। झाले ३ हजार २ सय ७६ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३ हजार २७ मत पाइन्। अब धनुषाको १३ स्थानीय तहको मत परिणाम आउन बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell