काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन्।
राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिहान ९ बजेर ४१ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति भण्डारीले जौँ (यव) छर्नुभएको उनका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।
आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ।
यसै अवसरमा आज हनुमानढोकाको दशैँ घरमा राज्यकातर्फबाट वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापनासहित जमरा राखिएको छ।
दशैँ घरमा विधिपूर्वक बिहान ९ बजेर ४१ मिनेटको शुभसाइतमा जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले जानकारी दिए।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा जुराएको थियो।
प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमीसम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दशैँ शुरु हुन्छ। घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकैलगायत विभिन्न बीज छरेर जमरा राखिएको छ।
यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो। दुर्गा पक्ष शुरु भएपछि उपत्यकालगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुईँ लागेको छ।
वर्षमा पर्ने चारवटा नवरात्रमध्ये शारदीय नवरात्रलाई नेपालमा महान् पर्वका रुपमा मनाउने गरिन्छ । हरेक तीन महिनामा नवरात्र पर्छ। रासस