PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पछिल्लो १४ दिनदेखि २८ जनामा स्क्रब टाइफसको संक्रमण



पहिलोपोस्ट

पछिल्लो १४ दिनदेखि २८ जनामा स्क्रब टाइफसको संक्रमण

चितवन : चितवनमा पछिल्लो १४ दिनमा २८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। 

भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो। भदौ २० गते १५४ जनामा रोग देखिएको थियो। अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्ममा १८२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। रोगबाट दुई जनाको मृत्यु भएको छ।

माइट नामको एक प्रकारको सूक्ष्म कीरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन्। 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। 

यो रोगको जिवाणु मुसाको कानमा बस्ने गर्छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्मा बताउँछन्। उनका अनुसार यो वर्ष नेपालमा ३२ भन्दा बढी जिल्लामा यो रोग देखिएको छ।

ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिममा पर्न सक्ने बताइएको छ। 

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो। चितवनमा २०७३ सालमा पहिलो पटक रोग भएको पुष्टि भएको थियो।

जिल्लामा डेङ्गु रोग भने नौ जनामा देखिएको छ। डेङ्गु नियन्त्रणका लागि जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा केही दिनअघि लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो। 

यस्तै मौसमी रुघाखोकीबाट झण्डै ४०० जना प्रभावित भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले जानकारी दिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell