PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सूचना प्रविधि विभागले ल्यायो ‘मोबाइल एप’, राजपत्रमा प्रकाशित सूचना अब मोबाइलमै हेर्न पाइने



पहिलोपोस्ट

सूचना प्रविधि विभागले ल्यायो ‘मोबाइल एप’, राजपत्रमा प्रकाशित सूचना अब मोबाइलमै हेर्न पाइने

काठमाडौँः अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ। 

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो। 

मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोज्न सकिने व्यवस्था गरिएको छ। 

चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने विभागका निर्देशक लोकराज शर्माले जानकारी दिए 

उनले भने,‘यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाएर लैजान्छौँ।’
मुद्रण विभागले बनाएको राजपत्रलाई विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो। विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको छ। 

यसभन्दा अगाडि राजपत्रमा प्रकाशित सूचनालाई मुद्रण विभागले आफ्नो वेभसाइटमा राख्दै आएको थियो। मोबाइल एप्लिकेशनमा राख्न लागेको भने यो पहिलोपटक हो। 

एप्लिकेशन शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रविधिको युगमा यस्ता एप्लिकेशनले ठूलो महत्व राख्ने बताए । उनले एप्लिकेशनमा सम्पूर्ण सूचना राखेर कागजविहीन मन्त्रालय निर्माण गर्न सकेमात्र यस्ता एप्लिकेशन तथा वेभसाइट निर्माणले सार्थकता पाउने बताए। 

मन्त्री बोहराले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाली वैज्ञानिकलाई स्वदेशमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुद्रण विभागबाट राजपत्रमा प्रकाशित सूचनालाई मोबाइल एप्लिकेशन मार्फत आमजनतासमक्ष पुर्याउन विभागले गरेको कामको प्रशंसा गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell