PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरिया गएर स्मार्ट सिटीबारे के सिके मेयर विद्यासुन्दर शाक्यले?



पहिलोपोस्ट

कोरिया गएर स्मार्ट सिटीबारे के सिके मेयर विद्यासुन्दर शाक्यले?

काठमाडौं  : कोरियाबाट फर्केलगत्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्पेन उडे।  

चुनाव जिते लगत्तै काठमाडौं महानगरलार्इ एक सय दिनमै स्मार्ट सिटी  बनाउँछु भनेर घोषणा गरेका मेयर शाक्यले एक सय दिनमा कुनै पनि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। 

विभिन्न देशका सहर घुमिरहेका शाक्य कोरियाबाट फर्के लगत्तै स्पेन उडे। स्पेन उड्नुअघि उनी आफ्नो भ्रमण र आगामी योजनाहरुका साथ पहिलोपोस्टका दिनेश खड्कासँग यसरी प्रस्तुत भएः
  
म हालैमात्र कोरियाली सरकारको निमन्त्रणामा भदौ २३ गते देखि २९ गते सम्मको भ्रमणमा सहभागी भएर फर्किएँ।  हामी नेपालबाट महानगरपालिका र नगरपालिकाका गरी  ७ जना मेयरहरु उक्त कार्यक्रममा सहभागी भएका थियौं। साथमा कार्यकारी अधिकृतहरु पनि हुनुहुन्थ्यो।
 
त्यहाँ आयोजना भएको दुर्इ दिने‘मेयर फोरम सम्मेलन’ मा सहभागी हुन र त्यहाँको सहरी विकास हेर्न र बुझ्न कोरियाको भ्रमणमा गएको हुँ। त्यहाँ एसिया प्यासेफिकका ४० मेयरको उपस्थिति थियो। 
 
भ्रमण मुख्य गरी दुर्इवटा विषयमा केन्द्रित रह्यो। एउटा एजेण्डा र अर्को भौतिक पूर्वाधार। त्यहाँ मैले एजेण्डामाथि वृहत छलफल गर्ने र  त्यहाँका भौतिक पूर्वाधारहरु हेर्ने अवसर प्राप्त गरें। त्यहाँको सहरी व्यवस्थापनलार्इ देख्न र महसुस गर्न पाएँ। कोरिया सहरी विकासमा फड्को मारेको र स्मार्ट  सहरहरुले भरिएको देश रहेछ। 
 
हाम्रो काठमाडौं र त्यहाँका सहरको बीचमा धेरै भिन्नताहरु पाएँ। हाम्रो यहाँको अस्तव्यस्तता र त्यहाँको सहरी व्यवस्थापन कल्पना गर्नै नसकिने भिन्नता रहेछ।  
 
उनीहरुले पहिले व्यवस्थित सहर बनाउने त्यहाँ बस्तीहरु सार्ने गरेको पाइयो। तर हामीकहाँ त्यसको उल्टो खेतको बीचमा घर बनाउने अनि ढल, पानी र विद्युत मागेर अव्यवस्थित बनाउने परिपाटीको विकास भएको छ। 

उनीहरु सबै स्मार्ट सिटीमा गैसके तत्काल हामी उनीहरुसंग तुलना गरेर अघि बढ्न सक्ने अवस्थामासमेत छैनौं।
 
सहरलार्इ कसरी स्मार्ट बनाउने  र यसको सेपिङ पनि परिवर्तन कसरी गर्न सकिन्छ भन्नेमा नै मेरो कोरियाको भ्रमण बढी केन्द्रित रह्यो। सहरलार्इ व्यवस्थित बनाउने भन्नेमा नै हाम्रो भ्रमण केन्द्रित रहँदा सहरी व्यवस्थापन सम्बन्धी धेरै कुरा सिकेको अनुभुति गरें।
 
स्मार्ट भनेको त्यस्तो खालको सहर हो जहाँको सार्वजनिक यातायात भरपर्दो र व्यवस्थित हुन्छ। 

ती सहरहरुमा सबै खालका भौतिक सेवा सुविधाले सम्पन्न हुन्छन्। कहिँ कतै धुँवा धुलो र जामको सास्ती हुँदैन। व्यवस्थित खालको शहर र वसोबास हुन्छ। यस्तो शहर भएको देश कोरिया रहेछ। 

हो मैले पनि स्मार्ट सिटीको सपना त देखेको छु तर कोरियाको जस्तो स्मार्ट सिटी होर्इन। काठमाडौंलार्इ काठमाडौं नै बनाउने हो। कोरिया जस्तो बनाउने होर्इन। यहाँको मौलिकता र पहिचान कायम राख्ने गरी नगरबासीलार्इ उच्चतम् प्रविधिको प्रयोग गर्न पाउने अवसर दिने हो।  
 
सम्पदा र संस्कृति काठमाडौंको परिचय हो। यो हरायो भने काठमाडौं नै हराउँछ। त्यसकारण मौलिकताको संरक्षण गरी सहर व्यवस्थित बनाउनु नै मेरो योजनाको स्मार्ट सिटी हो। 

अहिले काठमाडौंमा चारवटा हेरिटेज छ। हनुमानढोका दरबार  क्षेत्र,पशुपति, बौद्ध, स्वयम्भू हाम्रो मात्र नभएर विश्वकै सम्पदा भैसक्यो ।त्यस्ता कुरा कोरियामा पाइँदैन। त्यसकारण यस्ता सम्पदाको संरक्षण गरी मैले व्यवस्थित सहर अर्थात् स्मार्ट सिटी बनाउन खोजेको हो। 
 
पुरानो सहरलार्इ ऐतिहासिक बस्ती बनाउनु र सबै खालका भौतिक सुविधाहरुको विकास गरेर मात्र बस्ती विकास गर्नुपर्दछ। अनि मात्र हामी सहरलार्इ स्मार्ट सिटी बनाउन सक्छौं। अहिले भएका सहरलार्इ भत्काएर स्मार्ट सिटी बनाउन सकिँदैन। त्यस्ता सहरहरुमा स्मार्ट सिटीका सुविधाहरु उपलब्ध गराउने मात्र हो।
 
हाम्रो मौलिकता हराउने गरी कुनै सहर बन्दैन। तर मौलिकतालार्इ कायम गरी भरपुर प्रविधिको उपयोग गर्न पाउने महानगर भने पक्कै मेरै कार्यकालमा बन्छ। 
 
मैले निर्वाचित भएर आएपछि सम्वन्धित सबै निकायसँग पटक पटक सहरको धुँवाधुलो र अस्तव्यस्ताका बारेमा छलफल गरिसकेको छु।यो विषयले एक दुर्इ दिनभित्रै यो विषयले संसदमा ठाउँ पाउँछ भनेर धेरै माननीय ज्यूहरुले बताउनु पनि भएको छ।  के–के विषयहरु सम्वोधन भएर आउँछन् अनि मात्र हामी केके गर्ने भन्न सक्छौं।  
 
कोरियालीहरुको एउटा कुरा मलार्इ  अत्यन्त मन परेको श्रमप्रतिको  विश्वास हो। उनीहरु श्रममा विश्वास राख्दछन्। 
 
हामीलार्इ यो स्थानमा पुर्याउन नेपालको ठूलो हात रहेको उक्त मेयर सम्मेलनमा कतिपयले म आफैँलार्इ भने। कुनै बेला नेपालले कोरियालार्इ खान नपाउने अवस्थामा खाना र  अन्न पठाउँथ्यो रे। त्यो दुःखलार्इ सम्झेर उनीहरु मिहिनेती भएर रे।

अहिले विकसित र सभ्य स्थानमा पुगे ।हामी इमान्दारीताका साथ काम गर्छौं र यो अवस्थामा पुगेका छौं भन्छन् । तर हामी कहाँ यस्तो अवस्था आउन गाह्रो छ। 
 
हामी साना घरमा बस्छौ।उनीहरु अपार्टमेन्टमा बस्छन्। त्यहाँ घरहरु देख्न विरलै पाइन्छ। अपार्टमेन्ट नै पहिलो प्राथमिकतामा। हामीकहाँ पाँच तला भन्दामाथिका घरहरुको नक्सा पास गर्न महानगरले नै रोक्छ। मैले यो नीति सुधार्ने प्रयास गर्ने सोचेको छु। 
 
उनीहरु व्यवस्थित सहर बनाए मात्र बस्तीहरु सार्दछन्। हामी पहिले बस्ती सरेर अनि मात्र व्यवस्थित बनाउन खोज्छौ त्यसले अस्तब्यस्तता निम्त्याउँछ। उनीहरु दिगो योजना बनाएर काम गर्दा रहेछन् हामी तत्कालका लागि सोच्दछौं। अब दिगो योजना बनाएर अघि  बढ्ने मैले सोचेको छु।  
 
कोरियाको त्यो भब्य सहर देख्दा लोभलाग्दो छ अझ त्यहाँको विकास र सहरको हेरिरहुँ जस्ता।
 
हामी कहाँ समस्या नै समस्या छन्। कसले कतिबेला सडक भत्काउँछ त्यसको जानकारी कसैलार्इ पनि हुँदैन। मैले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, सडक विभाग उपत्यका विकास प्राधिकरण, केयकेएल, मेलम्ची खानेपानी, उपत्यका सडक विस्तार आयोजनालगायत सबै सम्बन्धित निकायलार्इ पत्र नै पठाएर तपार्इहरुका योजनाहरु केके छन् भनेर सोधेको छु ।तर समन्वय हुन नसक्दा समस्या भएको छ। उहाँहरुले यसबारे जानकारी गराउनु भएको छैन। 
 
अहिले मैले नीतिगत सुधार गर्नकालागि काठमाडौं महानगरपालिकासँग समन्वय नगरी सडक भत्काउन नपाउने व्यवस्था गर्दैछु। 
त्यस्तै अब हामी छिट्टै सम्बन्धित सबै निकायसँग बसेर सडकको स्तरोन्नतिमा लाग्दै छौं।त्यसले उपत्यकाको सडक व्यवस्थित हुने छ। 
 
मैले चुनावी योजनामा पनि मोनोरेल र सिटी केवलकारको विषयलार्इ उठाएको थिएँ। अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्रस्तावहरु आइरहेका छन्। मैले त उक्त विषयलार्इ आफ्नो योजनामा समावेश गरेको मात्र हो।

नलुकार्इ भन्दा मलार्इ यसको टेक्निकल पाटोबारे राम्रो ज्ञान छैन। त्यस्तै महानरपालिकामा पनि यो विषयमा विज्ञहरु छैनन्। त्यसकारण मैले विज्ञहरुको सहयोगमा यो विषयमा थप अध्ययन गरिरहेको छु। हामीले भिजन ल्याएका छौं विज्ञहरुसँग छलफल हुँदै छ, मेरै कार्यकालमा यो सञ्चालनमा आउँछ। 
 
हो अहिले राजधानीभित्रकै सार्वजनिक यातायात व्यवस्थित हुन सकेको छैन। मोनोरेल र सिटी केवलकार हाम्रो दिगो यातायात क्षेत्रको व्यवस्थापनको योजना हो। 

म सार्वजनिक यातायातलार्इ व्यवस्थापन गर्न पनि लागिपरिरहेको छु। म मेयर भएर निर्वाचित भएर आएपछि साझा यातायातलार्इ थप २० बस ल्याउन ५ करोड रुपैयाँ दिएको छु। यस अघिनै साझालार्इ महानगरपालिकाले १० करोड रुपैयाँ दिर्इसकेको छ। त्यसैगरी ५ बर्षभन्दा मुनिका र ७० बर्ष काटेका जेष्ठ नागरिकहरुलार्इ सुविधा पुगोस् भनेर साझा यातायातमा  निशुल्क यात्राको व्यवस्था समेत मिलाएको छु। 


साँच्चै भनौं भने काठमाडौंमा मोनोरेल सञ्चालनको आवश्यकता परिसक्यो किनभने यहाँको अत्यधिक मात्रामा जामलगायतका समस्याहरु देखा पर्न थालिसके। त्यसकारण यो अपरिहार्य छ सञ्चालनमा ल्याएरै छाड्छु। 
 
अबको दुर्इ वर्षभित्र महानगरवासीलार्इ मोनोरेलको सेवा दिने गरी काम गरिरहेको छु । डीपीआरका लागि झण्डै छ महिना लाग्छ र लक्ष्य अनुसार काम हुने हो भने १८ महिनामा मोनोरेल काठमाडौंमा कुद्छ। एउटा लेनमा। अहिले ५ लेनका लागि प्रस्ताव आइरहेको छ। 

धेरै कम्पनीहरु आइरहेकाले मैले कसलार्इ दिने भन्ने निर्णय गर्न सकेको छैन। ।उसका कामको गतिविधि र अन्य सबै खालका भूमिकाकाबारेमा जानकारी लिएर मात्र कसलार्इ दिने निर्णय हुन्छ।  
 
हिजो मात्र पनि मेरो एउटा कम्पनीसँग कुरा भएको थियो। उहाँहरुले पहिलो चरण एउटा उपयुक्त रुटमा सञ्चालन गरौं भनेर प्रस्ताव गर्नुभएको छ। अलि पहिले भएको अरु कम्पनीका विज्ञहरुको छलफलमा ४र५ वटा रुटमा सञ्चालन गर्न सकिने प्रस्ताव छ। विज्ञहरुको सहयोगमा यो विषयमा छिट्टै टुङगो लगाएर काम अघि बढाउने सोचमा छु। 
 
अहिले मलार्इ असफल बनाउनका लागि असहयोग आन्दोलन सुरु भैसकेको छ। युनियनका साथीहरु असफल बनाउनुपर्छ भनेर लागि परेका छन्। मैले गरेका निर्णयहरु गरेका भन्दा उल्टा कामहरु गरेर असहयोग गर्दै आएका छन्। केही कर्मचारीहरुसमेत लागिपरेका छन् यसमा । सबैको सहयोग खोजे पनि मैलै नपार्इरहेको अवस्था हो।
 
हामीले दिने खाली नीति हो तर कार्यान्वयन गराउने कर्मचारीले भएकाले यो मुख्य समस्या रहेको छ। त्यसकारण योजना लागू गर्न असहज हुन्छ । जनताका प्रतिनिधीलार्इ जहिले सम्म कर्मचारीले टेर्दैनन् जनप्रतिनिधीको औचित्य रहँदैन। 
 
हामीले सपना देख्ने र भिजन बनाउने मात्र हो। सामान्य म तपार्इंलार्इ उदाहरण दिन्छु । जस्तो मलार्इ घर बनाउनुपरेको छ। मैले त मेरो घरको भिजन बनाउने हो नी। यो साइडमा शौचालय हुन्छ, कोठाको साइज, तला र यस्तो खालको बनाउने भनेर एउटा भिजन देखाउने हो।

मेरो योजना अनुसार बाँकी नक्सा कोर्ने काम  इन्जिनियरको र बनाउने सिकर्मी र डकर्मीको हो । तर त्यो  मेरो सपना अनुसार बनाउने हो नी। 
 
मेयरको हिसाबले मैले पनि महानगरमा एउटा सपना देखेको छु त्यसलार्इ कर्मचारी साथीले कार्यान्वयनमा ल्याउने हो। कोरिया भ्रमण उपलब्धिमुलक त्यतिबेला रहन्छ जतिबेला त्यहाँ सिकेका र बुझेका कुराहरु यहाँ आएर लागू गर्न सकिन्छ।
 
त्यहाँ सिकेका कुराहरु यहाँ कसरी ढाल्ने। यहा व्यबहारमा कसरी लागू गर्ने भन्ने कुराले उपलब्धिलार्इ बुझाउँछ। 
 
यो भ्रमण उपलब्धिमूलक नै छ। त्यहाँ सिकेका सहरी व्यवस्थापन र अन्य धेरै विषयलार्इ म लागू कत्तिको गर्न सक्छु त्यसलार्इ उपलब्धि मान्दछु। भ्रमण सफल रह्यो। 
 
म पनि रानीपोखरी जतिसक्यो छिटो बनाउनु पर्छ भनेर लागिरहेको छु। सय दिनमा रानीपोखरी पूनर्निर्माण गति दिन नसकेकोमा म आफैं पनि असन्तुष्ट छु। मैले ठेकेदार कम्पनीलार्इ निर्देशन दिर्इसकेको छु अब यसले गति लिन्छ। 
 
धरहराको विषयमा  हामीसँग समन्वय भएर काम भैरहेको छैन। सरकार आफैंले बनाउन लागेकाले म आफ्नो क्षेत्रबाट उहाँहरुलार्इ सहयोग गरी अघि बढ्ने पक्षमा छु। के भैरहेको छ यसबारे हामी म जानकार छैन। 
 
भ्यू टावरमा केही विवाद छ। सिङ्गो बस्तीमा असर पुग्ने भन्दै स्थानीयले उक्त ठाउँलार्इ बसपार्क नै बनाउन ‍माग गरेका छन्। अहिले १२ तलाकालागि स्विकृती भैसकेको छ।  विभिन्न खालका समस्याका कारण ठेकेदार कम्पनीलार्इ काम अघि बढाउ भन्न पनि नसकेको र रोक पनि भन्न नसकेको अवस्था छ। 
 
त्यसकारण हामी आफैं यो विषयमा अध्ययन गर्दैछौं । राष्ट्रिय योजना भएकाले यस विषयमा सरकारको पनि राय आओस् भन्ने पक्षमा छु। यो विषयमा छिट्टै निर्णय हुनेछ। 
 
म स्पेनको भ्रमण पनि म सहरी व्यवस्थापन विकास र स्मार्ट सिटीको अध्ययनका लागि उहाँहरुकै निमन्त्रणामा जान लागेको हुँ।  अरु देशका मेयरहरु पनि सहभागी हुने जानकारीमा आएको छ। यो भ्रमण पनि स्मार्ट सिटी विषयमा नै केन्द्रित रहनेछ। 
 
समग्रमा मेरो सय दिन सोचे जति काम गर्न नसकेपनि उपलब्धिमुलक नै रह्यो । हामी जनप्रतिनिधि भएकाले जनताप्रति सँधै उत्तरदायी छौं ।त्यसकारण हामीले पुस्तिका नै प्रकाशन गरेर यसबारे सय दिनका उपलब्धिहरु सार्वजनिक गरिसकेका छौं। कतिपय कामहरु तीन महिनामा गर्दा नियम मिचिने भएकाले हामी विस्तारै योजनामाथि काम गर्दैछौं। योजना बनाएजति काम गर्न नसके पनि सय दिनलार्इ उपलब्धिमुलक नै मानेको छु । 

कोरिया र अन्य विकसित देशका जस्ता सहरहरु भन्दा पनि काठमाडौंको मौलिकतालार्इ संरक्षण गरेर व्यवस्थित सहर बनाउने अठोट मैले गरेको छु। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell