PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशैंमा एयर टिकेट सोल्ड आउट, उडान थप्ने तयारीमा कम्पनीहरु



पहिलोपोस्ट

दशैंमा एयर टिकेट सोल्ड आउट, उडान थप्ने तयारीमा कम्पनीहरु

  • वसन्तराज उप्रेती -
काठमाडौं : दशैंका लागि नियमित उडानको टिकट सकिएपछि वायु सेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने भएका छन्। दशैंका लागि काठमाडौंबाट विभिन्न ठाउँमा जाने टिकट अहिले सकिएको छ। 
 
वुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयर लगायतका आन्तरिक उडान गर्ने कम्पनीहरुले अतिरिक्त उडान थप्ने जनाएका छन्। कम्पनीहरुले यात्रुको चाप भएको ठाउँमा उडान थप्न लागेका हुन्। 

सडक अव्यवस्थित भएका कारण यो वर्ष  हवाई यात्रुहरुको चाप निक्कै बढेको सौर्य एयरलाइन्सकी कर्पोरेट मार्केटिङ अफिसर रोजिना नेपालले बताइन्।
 
उनका अनुसार घटस्थापना अघिसम्म सस्तो महङ्गो दुवै किसिमको टिकट वितरण भइरहेको र घटस्थापनापछि महङ्गो टिकट मात्र उपलब्ध हुन्छ। ती टिकट पनि अहिले सकिएका छन्।
 
काठमाडौंदेखि विराटनगरसम्मको टिकट दर तीन हजार ५ सय, तीन हजार ८ सय, चार हजार, ४ हजार ४ सय, सात हजार ४ सयसम्म छ। भद्रपुरको लागि सस्तो टिकट चार हजार नौ सय रहेको छ र महँगो टिकट आठ हजार नौ सय रुपैयाँ पुगेको छ। यसैगरी नेपालगञ्जका लागि सस्तो टिकट पाँच हजार १ सय छ भने महँगो टिकट नौ हजार ९ सय रुपैयाँ पुगेको नेपालले बताइन्।
 
काठमाडौंबाट हवाई सेवा लिँदा महँगो भए पनि उपत्यका बाहिरबाट काठमाडौं आउँदा कम शुल्क लाग्ने उनले बताइन्।
 
नेपालका अनुसार सौर्य एयरलाइन्सको हवाइ टिकट फूलपातीको अघिल्लो दिनदेखि टीकाको दिनसम्म बुकिङ भइसकेको छ। 
 
दशैंको लागि तारा एयरलाइन्समा पोखरा, जोमसोम, लुक्ला डोल्पा लगायतका विकट स्थानहरुको लागि अग्रिम टिकट बुकिङ भइसकेको र तत्काल टिकट पाउन गाह्रो रहेको रिजर्भेसन असिस्टेन्ट राधा यादवले बताइन्।
  
यादवका अनुसार पोखरा जोमसोमका लागि चार हजार ४ सय ६४, लुक्लाको लागि ६ हजार ६ सय ३० र डोल्पाको लागि ८ हजार ६ सय ५० शुल्क लाग्ने छ।
 
१५ जना प्यासेन्जर अट्ने क्षमता रहेको तारा एयरलाइन्सले सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै उडान थप्ने योजना रहेको यादवले बताइन्।
 
दशैंका लागि अग्रिम टिकट बुकिङ भइसकेपछि यति एयरलाइन्समार्फत् सेवाग्रहीहरुले एक दुई दिनभित्र टिकट काटिसक्नुपर्ने कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell