PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थापना भएको पाँच दशकपछि गड्डाचौकी भन्सारमा एक्सरे मेसिन जडान



पहिलोपोस्ट

स्थापना भएको पाँच दशकपछि गड्डाचौकी भन्सारमा एक्सरे मेसिन जडान

भीमदत्तनगरः सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ। 

व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न सहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहज जाँचका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ। 

‘मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई÷दुई ठाउँमा झोला खोलेर देखाउने झन्झटबाट मेसिन जडानले मुक्ति दिएको छ,’ कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विकास कुमारले भने,‘मुख्य नाकामा भन्सार जाँचका लागि धेरै सुधार भएका छन्।’

गड्डाचौकी भएर सर्वसाधारण भारतको राजधानी नयाँदिल्ली, सिमला, देहरादुन, हरिद्वार, बैंग्लोरलगायतका ठाउँमा जाने गरेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक यहाँ एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिए। 

उनले भन्सार नाकामा पाँच स्थानमा एक्सरे मेसिन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। एक्सरे मेसिन सञ्चालनमा आएसँगै सामान्यखालका तस्करी, भन्सार छलीमा कमी आउने अपेक्षा गरिएको छ। 

एशियाली विकास बैंकको अनुदान सहयोगमा एक करोड रुपैयाँको लागतमा एक्सरे मेसिन जडान गरिएको बताइएको छ। 

दुई वर्षअघि गड्डाचौकी भन्सारमा आठवटा सिसिटिभी क्यामेरासमेत जडान गरिएका थिए। अहिले थप पाँचवटा क्यामेरा थपिएका छन्। भन्सार कार्यालयभित्र धेरै आन्तरिक सुधार भएका छन्। 

भन्सारमा रिङरोड स्थापना, गोदामघर निर्माणका साथै सामान तत्कालका लागि राख्ने सेटघर निर्माण भई सञ्चालनमा आइसकेको छ।

भन्सारकै सुधारका कारण कञ्चनपुर भन्सारको वार्षिक राजश्व असुल गर्ने लक्ष्य वर्षेनी बढ्दै गइरहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell