PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिमेन्ट अभावमा जलविद्युत् आयोजनाको काम प्रभावित, समाधानका लागि आग्रह



पहिलोपोस्ट

सिमेन्ट अभावमा जलविद्युत् आयोजनाको काम प्रभावित, समाधानका लागि आग्रह

  • रमेश लम्साल 
काठमाडौं : जलविद्युत् आयोजनामा प्रयोग भएको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरेका परियोजना समस्यामा परेकाे छ। 

काम नै रोकिएको भन्दै आयोजना प्रमुखले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल समस्या समाधान गरिदिन आग्रह गरेका छन्। 

भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओर लिमिटेडका प्रबन्ध सञ्चालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताए। 

प्रबन्ध निर्देशक कोइरालाका अनुसार आयोजनामा दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ। नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो। 

आयोजनमा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ। नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन।

भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ। 

भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ। 

कूल १११ मेगावाट क्षमताको आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माण सक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ। सान्जेनका दुवै जलविद्युत् आयोजनामा पनि दैनिक १०० टनभन्दा बढी सिमेन्ट खपत हुन्छ। 

सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ। १४ मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ। 

यस्तै, गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम सुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ। 

आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे। 
भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो। 
ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आएपनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ। 

ठेकेदारले काम सुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ। 

कूल चार हजार १०० मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशँैसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए। 

माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो। 

कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ। 

माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बताएका छन्। 

घिसिङले भने,‘सिमेन्टका कारण आयोजना रोकिने अवस्था आउँदैन। म समस्या समाधान गर्ने प्रयास गर्नेछु।’

नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ। 

निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले भने भारतीय सिमेन्टमा समस्या भए नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरेर तत्काल काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell