PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मौन अवधिमा मतदातालाई मासुको प्याकेट : वीरगञ्ज महानगरबाट स्थलगत रिपोर्ट



किशोर नेपाल

मौन अवधिमा मतदातालाई मासुको प्याकेट : वीरगञ्ज महानगरबाट स्थलगत रिपोर्ट

वीरगंज : भर्खरै महानगरपालिका बनेको नेपालको महत्वपूर्ण औद्योगिक र व्यापारिक नगर वीरगंजमा विभिन्न पार्टीका उम्मेदवारहरु मौन समयमा मौन अभियानमा जुटेका छन्। मधेशको संस्कार बदलिएको छ। खुशीमा मिठाइ बाँड्नुको सट्टा मतदाताको घरघरमा मासुका प्याकेट पुग्न थालेका छन्। मासुका यी प्याकेटहरु कुन पार्टीका उम्मेदवारले उपहार पठाएका हुन्? भन्न कोही तयार छैन। उपहारको वर्षा भएको छ। मतदाताले मासु भात खान पाएका छन्। भै गो। यसको जवाफ दिने फुर्सद कुनै पार्टीका नेता कार्यकर्तालाई छैन। तर, एकअर्काले एकअर्को पार्टीका विरुद्ध आरोप लगाउने काम भने जारी छ।
 
उम्मेदवारहरु बिहान चारै बजे उठेर नगर क्षेत्रको परिक्रमामा लागेका छन्। भर्खरै नगर क्षेत्रसँग जोडिएका गाउँमा मौन अभियान चलाएर आएका एमालेका मेयर उम्मेदवार बसरुद्दिन अन्सारी थाकेका थिए। उनले बताए, ‘मेरो जीत त भै सक्यो । एमालेलाई हराउने कुन शक्ति छ र ? बस, फूलमाला लगाउने प्रतीक्षामा छु।’

तर, उनले केहीबेर आराम गरेर फेरि मौन अभियानमा जुटने बताए। ‘जित्ने नै भै सकेपछि फेरि किन लाग्नु त अभियानमा ?’ प्रश्नको जवाफमा अन्सारीले वताए, ‘त्यही त हो नि। चुनावको बेलामा कार्यकर्ताहरु भेटन खोज्छन्। उनीहरुको उत्साह बढाउनका लागि पनि जानै पर्‍यो।’

अन्सारीको मेडिकल कलेज सरकारले बन्द गरेपछि एमालेले उनलाई वीरगंज महानगरको मेयरको पदको टिकट दिएको चर्चाबारे प्रश्न गर्दा अन्सारीले जवाफ दिए, ‘त्यसो होइन । मलाई टिकट दिने निर्णय धेरै अघि भएको हो। म एमालेको संगठनात्मक शक्ति र राष्ट्रवादी नीतिबाट प्रभावित भएर एमालेमा लागेको हूँ। यो भन्दा पहिले म माओवादीमा थिएँ। माओवादीको केन्द्रमा चाहीं सबै नेता ठीक हुन्। तर ग्राउण्डमा संगठन नै छैन। मैले संगठन बनाउन प्रयत्न गरेको हूुँ। तर भएन। त्यसपछि म एमालेमा आएको हूँ।’

उम्मेदवारहरुका आ–आफनै दावी छन्। विदेशी विश्वविद्यालयमा सार्वजनिक नीति पढेर आएका माओवादीका मेयर उम्मेदवार रहबर अन्सारी वीरगंजका ‘परिवर्तन चाहने’ युवा वर्गका चहेता बनेका छन्। उनको व्यक्तित्वमा शहरी आकर्षण छ। रहवर राजनीतिलाई उन्नतिको बाटो बनाउन चाहन्छन्। उनको यो नारा वीरगंजका युवाले मन पराएका छन्। सात वर्षदेखि माओवादी पार्टीमा संलग्न रहेका रहवर आफनो पार्टी सामाजिक विकासमा लागेको बताउँछन्।
 
रहवरले जे सुकै दावी गरेपनि उनको उम्मेदवारीको कथा बेग्लै छ। उनको पिता मेडिकल काउन्सिलका सदस्य थिए, जो मेडिकल कलेजको सम्बन्धन विवादमा मुछिएका छन्। रहवर आफै पनि मेडिकल व्यवसायमा छन्। वीरगंजमा उनको गण्डक अस्पताल छ जसको निर्देशक रहवर स्वयं छन्।

राजेशमान सिंह राष्ट्रिय जनता पार्टीका उम्मेदवार हुन वीरगंज नगरको मेयर पदका लागि। नेपाली कांग्रेसका मजबूत कार्यकर्ताको इमेज बनाएका राजेश पार्टीबाट राम्रो रेस्पोन्स नपाएपछि शरदसिंह भण्डारीसँगै पार्टीबाट निस्किएका थिए। उनलाई मेयर पदको टिकट दिलाउनमा शरदसिंहको जोडबल रहेको तथ्य सार्वजनिक भै सकेको छ। जे भएपनि, विगतको मधेश आन्दोलनमा राजेशको इमान र योगदानको चर्चा सबैले गरेका छन्। दवंग छविका राजेश जनताका बीचमा आफनै हिसाबले पुगेका छन्।
 
राजेशसँग उनको आफनै चुनावी अवस्थाबारे प्रश्न सोध्दा उनले बडो आत्मविश्वासका साथ जवाफ दिए, ‘जनताले मेरो योगदानको सम्मान गरेका छन्। मैले जनताको सबैभन्दा तल्लो तहमा काम गरेको छु । तल्लो तहका जनताको उत्थानका लागि आवाज उठाएको छु । पार्टीको साइकिल चिह्न मलाई फापेको छ। मैले यही चिह्न लिएर पहिले चुनाव लडिसकेको छु।’

राजेशको चिन्ता निर्वाचन आयोगले कडाइका साथ आचार संहिताको पालना नगराएकोमा छ। ‘आचार संहिताको मर्यादा नराखिएकाले चुनाव खर्चिलो भएको छ। निर्वाचन आयोगले मदिरा सेवनमा प्रतिबन्ध लगाएपछि मासुमा पनि बन्देज लगाउनु पर्दछ । माओवादी र कांग्रेसले चुनावमा धाँधली गरेका छन । यो धाँधली रोकिनु पर्दछ । मधेशमा राजपाको योगदान र त्यागका आधारमा जनताले राजपालाई मतदान गर्ने निश्चित छ । त्यसैले वीरगंज महानगरपालिकामा राजपा नेतृत्व स्थापितहुने कुरामा म ढुक्क छु।’

तर, राजेश ढुक्क हुनु त्यतिबेला सहज हुन्थ्यो जब उपेन्द्र यादवको समाजवादी फोरम र राजपाका बीच सहकार्य हुन्थ्यो। त्यसो भएन। फोरमले आफना तर्फबाट वीरगंजका प्रसिद्ध व्यापारी विजय सरावगीलाई उम्मेदवार बनायो। सरावगी वीरगंजमा आर्थिक क्षेत्रका निकै ठूला हस्ती हुन्। खासगरेर, बैकिंग क्षेत्रमा उनको भूमिका हस्तक्षेपकारी रहेको छ। पहिलोपोस्टले उनीसँग सम्पर्क गर्न निकै प्रयत्न गरेको हो। तर, उनी मौन चुनावी अभियानमा लागेकाले भेट हुुन सकेन। भोलि हुने चुनावमा उनी एक महत्वपूर्ण प्रतिस्पर्धीका रुपमा रहने छन्।

वीरगंज नगरको मेयरमा नेपाली कांग्रसको विजय हुने आंकलन धेरै अघिदेखि गरिएको हो। कांग्रेसले उपमेयरको अनुभव पाइसकेका पूर्व सांसद अजय द्विवेदीलाई उम्मेदवार बनाएको छ। अनुभवले खारिएकोले होला, कांग्रेस अहिले अजयको विजयका लागि एकतावद्ध देखिन्छ। अजय आफैं पनि आफनो विजयका प्रति विश्वस्त देखिन्छन्। उनको भनाइमा वीरगंज मेयरको पद चुनौतिपूर्ण छ। उनको भनाइ थियो, ‘हामीले यो निर्वाचनले स्थानीय तहमा सिंहदरवार ल्याएको नारा लगाएपनि त्यो अवस्था आउन धेरै संघर्ष गर्नु पर्दछ।’

निर्वाचनको अघिल्लो दिन जनताको मनस्थिति हेर्दा मेयर र उपमेयरको पदमा कांग्रेसको विजय हुने देखिएपनि अवस्था त्यति सजिलो भने छैन। यहाँ कांग्रेसको प्रतिस्पर्धा एमालेसँग नभएर राजपा र संघीय फोरमसँग छ। यी दुवै शक्ति विभाजित भएको फाइदा कांग्रेसलाई हुने हो। तर, अन्तिम समयमा हुने आर्थिक र अन्य चलखेलले पनि चुनावको नतिजा प्रभावित गर्न सक्दछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell