PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैँका लागि मुस्ताङबाट निकासी हुन थाले भेडाच्याङ्ग्रा 



पहिलोपोस्ट

दशैँका लागि मुस्ताङबाट निकासी हुन थाले भेडाच्याङ्ग्रा 

म्याग्दी :  दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ। 

बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानीको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो। 

मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी सुरु भएको जनाइएको छ। भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। 

कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन्। 

बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ। 

दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ। हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ। 

मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा (च्यालु)लाई १९ हजार र च्याङ्ग्रालाई २५ देखि ३२ हजार रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको बताए। 

यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ। 

मुस्ताङका कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाउने क्रम सुरु भएको कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताए। 

खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ। जोमसोमदेखि बेनीसम्म हिँडाएर ल्याउने भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारसम्म पुर्याउने गरिएको छ। 

भेडाच्याङ्ग्रा खरिद गर्नका लागि खाद्य संस्थानको टोली जोमसोम पुगिसकेको छ। गतवर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र आठ हजार च्याङ्ग्रा निकासी गरेर २७ करोड आम्दानी गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell