PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काठमाडौँका १० क्षेत्र : एमाले बलियो, मुख्य प्रतिस्पर्धा कांग्रेससित, माओवादी-कांग्रेस गठबन्धन भए एमाले सून्यमा झर्ने खतरा



पहिलोपोस्ट

काठमाडौँका १० क्षेत्र : एमाले बलियो, मुख्य प्रतिस्पर्धा कांग्रेससित, माओवादी-कांग्रेस गठबन्धन भए एमाले सून्यमा झर्ने खतरा

काठमाडौँ : आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँमा रहेका १० निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मतका आधारमा यहाँका १० वटा निर्वाचन क्षेत्रमा एमालेले सबैभन्दा बढी सिट जित्ने देखिएको छ। 

क्षेत्र विभाजन गर्दा परेका महानगरपालिका र नगरपालिकाका वडा अध्यक्षहरुमा दलहरुले पाएको मतको हिसाब गर्दा एमालेले आठ स्थानमा र कांग्रेसले दुई स्थान जित्ने देखिएको छ। 

कुन क्षेत्रमा कसको स्थिति बलियो?

काठमाडौँ क्षेत्र नम्बर १ : कांग्रेसको झिनो अग्रता

काठमाडौँ क्षेत्र नम्बर १ मा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ रहेका छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको पहिलोपोस्टले हिसाब गर्दा कांग्रेस सबैभन्दा अगाडि ८ हजार ८४२ मत छ। तर एमाले पनि धेरै पछाडि भने छैन। एमाले मात्र १२८ मतले पछाडि अर्थात् ८ हजार ७१४ मत छ। यहाँ माओवादी केन्द्रको मत २ हजार २७४ र राप्रपाको १ हजार ५०४ छ। संघीय समाजवादी फोरमको भोट ७३५ रहेको छ। 

दलहरुले गठबन्धन गरेमा यो क्षेत्रको परिणाम बेग्लै हुनसक्छ। कांग्रेस र माओवादीबीच गठबन्धन भएमा अथवा एमाले र राप्रपाबीच गठबन्धन भएमा यहाँको परिणाम रोचक हुनेछ। यद्यपि, राप्रपा टुक्रिसकेको हुनाले राप्रपाका मत कतातिर जाने निश्चित भने हुने छैन। 

काठमाडौँ क्षेत्र नम्बर २ : एमालेको पकड

काठमाडौँ क्षेत्र नम्बर २ मा काठमाडौँ महानगरपालिकाका वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगपालिकाका वडा नम्बर ४,५, ६, ७, ८ र ९ र शंखरापुर नगरपालिकाका सबै वडाहरु रहेका छन्। यहाँ वडाध्यक्षहरुले पाएको मतको हिसाब गर्दा एमालेको पकड देखिन्छ। एमालेका लागि यहाँ १९ हजार ४०६ भोट खसेको थियो भने दोस्रो स्थानमा नेपाली कांग्रेसको १४ हजार ९८१ मत छ। एमालेभन्दा ऊ ४ हजार ४२५ मतले पछाडि छ। माओवादी केन्द्रको भने ५ हजार ४२८ मत र राप्रपाको ५ हजार ३१३ मत छ। माओवादी र राप्रपाले यहाँ शीर्ष दुई दलसँग गठबन्धन गरे नतिजामा प्रभाव पार्ने क्षमता देखिन्छ। 

काठमाडौँ क्षेत्र नम्बर ३ : कांग्रेसको पकड

काठमाडौँको क्षेत्र नम्बर ३ मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर    ६, गोकर्णेश्वर नगरपालिकाका सबै वडा र कागेश्वरी नगरपालिकाका वडा नम्बर १, २ र ३ रहेका छन्। यहाँका वडाहरुमा वडाध्यक्षले पाएको मत हिसाब गर्दा नेपाली कांग्रेसले सबैभन्दा बढी १५ हजार १०७ मत पाएको देखिन्छ। जबकि एमाले १२ हजार ७७७ मतका साथ दोस्रो स्थानमा छ। माओवादी केन्द्रको ३ हजार ६३७ मत छ भने राप्रपाको १ हजार २४० मत छ। 

काठमाडौँ क्षेत्र नम्बर ४ : एमालेको पकड

काठमाडौँ क्षेत्र नम्बर ४ मा काठमाडौँ महानगरपालिकाका वडा नं. १, ७, ८ र ३० तथा बूढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ का मतदाता रहेका छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत पहिलोपोस्टले हिसाब गर्दा एमाले सबैभन्दा अगाडि १७ हजार २३९ मत देखिन्छ। कांग्रेस भने दोस्रो स्थानमा १४ हजार ७६ मत छ। यहाँ माओवादी केन्द्रको ३ हजार ९०९ र राप्रपाको २ हजार २६ मत देखिन्छ।
 

काठमाडौँ क्षेत्र नम्बर ५ : एमालेको पकड

काठमाडौँ क्षेत्र नम्बर ५ मा काठमाडौँ महानगरपालिकाका वडा नं. २, ३, ४ र ५ तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ अनि टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ रहेका छन्। यहाँ स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मत हिसाब गर्दा एमाले सबैभन्दा अग्रस्थानमा १७ हजार ४५९ मतका साथ छ। दोस्रो स्थानमा करिब दुई हजार मतले पछाडि कांग्रेस छ (१५ हजार ४६१)। माओवादीको मत ३ हजार २८४ र राप्रपाको १ हजार ९१७ छ। 

काठमाडौँ क्षेत्र नम्बर ६ : एमालेको पकड

काठमाडौँको क्षेत्र नम्बर ६ मा काठमाडौँ महानगरपालिकाका वडा नं. २६, २७ र २८ तथा तारकेश्वर नगरपालिकाका वडा नं. १, २, ६, ७, ८, ९, १० र ११ अनि टोखा नगरपालिकाका वडा नं. १ र ८ रहेका छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत पहिलोपोस्टले गणना गर्दा एमाले सबैभन्दा अगाडि १२ हजार ७१९ मत देखिन्छ भने दोस्रो स्थानमा ११ हजार १३७ मतका साथ कांग्रेस छ। माओवादी केन्द्रको मत ३ हजार ८१० रहेको छ। राप्रपाको १ हजार ३७५ मत देखिएको छ भने यहाँ स्वतन्त्रको मत १६२५ देखिएको थियो। 

काठमाडौँ क्षेत्र नम्बर ७ : एमाले नै अघि

काठमाडौँ क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिकाका वडा नं. १६, १७, १८ र २५ तथा नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ अनि तारकेश्वर नगरपालिकाका वडा नं. ३, ४ र ५ रहेका छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत गणना गर्दा एमाले १३ हजार ५३५ मतका साथ अग्रस्थानमा छ। यहाँ पनि कांग्रेस १२ हजार ६४५ मतका साथ दोस्रो स्थानमा नै छ। माओवादी केन्द्रको ३ हजार ४७४ मत छ भने राप्रपाको २ हजार ८९ र संघीय समाजवादीको १ हजार २२२ मत छ। 

काठमाडौँ क्षेत्र नम्बर ८ : एमाले नै अग्रस्थानमा

काठमाडौँ क्षेत्र नम्बर ८ मा काठमाडौँ महानगरपालिकाका वडा नं.१३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ रहेका छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत जोड्दा एमाले सबैभन्दा अग्रस्थानमा १३ हजार ५८१ मतका साथ रहेको छ। कांग्रेस १० हजार ७२ मतका साथ दोस्रो स्थानमा रहेको छ भने माओवादी २ हजार ८२८ मतका साथ तेस्रो स्थानमा रहेको छ। यहाँ कांग्रेस र माओवादीको मत जोड्दा पनि एमाले नै अग्रस्थानमा छ। राप्रपाको भने यहाँ ३ हजार १५६ मत छ। 

काठमाडौँ क्षेत्र नम्बर ९ :  एमाले धेरै अगाडि

काठमाडौँको क्षेत्र नम्बर ९ मा काठमाण्डौ महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२ तथा चन्द्रागिरी नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ अनि नागार्जुन नगरपालिकाका वडा नं. ६, ७, ८, ९ र १० राखिएको छ। स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मत पहिलोपोस्टले जोड्दा एमाले सबैभन्दा अगाडि १९ हजार १५८ मत देखिन्छ। कांग्रेस १६ हजार ८६३ मतका साथ दोस्रो स्थानमा रहेको भने तेस्रो स्थानमा धेरै पछाडि ३ हजार ४२२ मत देखिन्छ। राप्रपाको भने २ हजार १७ मत छ। 

काठमाडौँ क्षेत्र नम्बर १० : एमाले झिनो मतले अगाडि

काठमाडौँ क्षेत्र नम्बर १० मा चन्द्रागिरी नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ तथा दक्षिणकाली नगरपालिका सिङ्गै र कीर्तिपुर नगरपालिका सिङ्गै रहेका छन्। यहाँ स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत जोड्दा एमाले झिनो अन्तरले कांग्रेसभन्दा अगाडि छ। एमालेको मत १७ हजार २६८ छ भने कांग्रेसको १७ हजार २२६ छ। दुईको अन्तर ४२ मात्र छ। काठमाडौँका सबै क्षेत्रमध्ये माओवादी केन्द्र सबैभन्दा बलियो यसै स्थानमा छ। यहाँ माओवादीको मत १० हजार २ देखिएको छ भने  राप्रपाको १ हजार ३२४, नयाँशक्तिको १ हजार ६८२ र स्वतन्त्रको पनि १ हजार ५३४ देखिएको छ। 

गठबन्धनले गर्न सक्छ हेरफेर

स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा कांग्रेस दुई स्थानमा अगाडि देखिए पनि काठमाडौँ १ मा कांग्रेसको अन्तर झिनोमात्र रहेको छ। त्यसैगरी एमाले ८ स्थानमा अगाडि देखिए पनि काठमाडौँ १० मा एमालेको अन्तर निकै झिनो छ। 

माओवादीको काठमाडौँ १० मा बाहेक बाँकी ९ क्षेत्रमा उपस्थिति निकै पछाडि छ। तर यदि नेपाली कांग्रेससँग गठबन्धन हुनसक्यो भने यो गठबन्धन एमालेका लागि टाउको दुखाइ बन्न सक्छ। गठबन्धनले काठमाडौँ ८ बाहेक सबै ठाउँमा विजय हात पार्ने सम्भावना देखिन्छ। 
कांग्रेस-माओवादी गठबन्धनको जवाफ एमालेले राप्रपासँग गठबन्धन गरी दिन सक्छ। स्मरण रहोस्, कांग्रेस-माओवादी र एमाले-राप्रपा गठबन्धन स्थानीय तहको निर्वाचनमा अभ्यास भइसकेको छ। तर त्यतिबेला राप्रपा एकीकृत थियो। 

गणना विधि 

माथिको गणनामा क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र निर्वाचन आयोगबाट प्राप्त स्थानीय तहको निर्वाचनको मतपरिणामलाई समेटिएको छ। मतगणना गर्दा कुनै क्षेत्रमा पूरै नगरपालिका छ भने त्यसको मेयरमा सम्वन्धित पार्टीले पाएको मत हिसाब गरिएको छ भने कुनै क्षेत्रमा नगरपालिकाको वडा विभाजन गरेर राखिएको छ भने वडा अध्यक्षमा सम्वन्धित पार्टीले पाएको मतको हिसाब गरिएको छ।

अपवाद

स्थानीय चुनावमा राष्ट्रियभन्दा स्थानीय एजेण्डाले काम गर्ने देखिन्छ। चिनजानको आधारमा पनि भोट कुनै दलका उम्मेदवारलाई गएको हुनसक्छ। प्रतिनिधि सभाको निर्वाचनमा भने सरकार बनाउने दल विशेषलाई भोट जाने हुनाले स्थानीय चुनावमा मतदान गरेकै दललाई मतदाताले प्रतिनिधि सभाको निर्वाचनमा पनि चुन्नुपर्छ भन्ने हुँदैन। दलका प्रतिवद्ध कार्यकर्ता र शुभेच्छुक बाहेक स्विङ्ग भोटरहरुको मत कता जान्छ, त्यसले मतपरिणाममा असर पार्नेछ। त्यसैगरी प्रतिनिधि सभाको निर्वाचनका लागि १२ लाख नयाँ मतदाता थपिएका छन्। काठमाडौँमा १८ देखि २० हजार नयाँ मतदाता थपिएको अनुमान छ। नयाँ मतदाता कुन क्षेत्रमा थपिएका छन् र उनीहरुको रोजाइ के हुनेछ, त्यसले पनि परिणाममा असर पार्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell