PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विद्युत प्राधिकरणमा कूलमानको १ वर्ष पूरा : के गरे? अब के गर्छन?



पहिलोपोस्ट

विद्युत प्राधिकरणमा कूलमानको १ वर्ष पूरा : के गरे? अब के गर्छन?

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन हुने गरी देशका प्रमुख राजमार्गमा चार्जिङ स्टेसन राख्ने भएको छ। 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उक्त योजना सार्वजनिक गरेका हुन्। लोडसेडिङको समस्या अन्त्य भइसकेको हुँदा अबको ध्यान बिजुली उत्पादन र खपतमा लगाउने घिसिङले बताए। बिजुली खपत बढ्ने र आयातित डिजेल पेट्रोलको उपयोग घट्ने हुँदा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिने उनको भनाइ छ।
 
‘कार्यकारी निर्देशकमा नियुक्त हुँदा मेरा सामु समस्या र चुनौतीका चाङ थिए,’ बिहीवार पत्रकार सम्मेलन गर्दै घिसिङले भने- ‘वर्षातको समयमा पनि ६ देखि ८ घण्टा सम्म लोडसेडिङ भइरहेको अवस्थामा २४ घण्टा बिजुली आउँछ भन्दा जनताले पत्याउने अवस्था थिएन तर माग र आपूर्तिको व्यवस्थापन गर्दा लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्नेमा हामि दृढ थियौं।’
 
गत वर्ष सबै भन्दा बढी विद्युत माग हुने लक्ष्मी पूजाकै दिनमा लोडसेडिङ अन्त्य गर्न सफल भएको स्मरण गर्दै आपूर्तिमा यो वर्ष गत वर्ष भन्दा राम्रो अवस्था रहेको उनले जानकारी दिए। औद्योगिक क्षेत्रमा बेलुका दुई/तीन घण्टा र भैरहवा लगायतका क्षेत्रमा सबस्टेसन, ट्रान्सफर्मर लगायतका कारणले मात्र केही समय लोडसेडिङ रहेको उनको भनाइ थियो। ‘यो अवस्था अन्त्यका लागि पनि निरन्तर काम गरि रहेका छौँ’ उनले भने।
 
घिसिङले प्राधिकरणको वित्तिय अवस्थामा पनि चामत्कारिक सुधार ल्याएका छन्। तीन अर्ब छ करोड ३९ लाख रुपैयाँ संचालन नोक्सानी रहेकोमा एक वर्षमै दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ संचालन मुनाफा आर्जन भएको।
 
आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानी रहेको र गत आर्थिक बर्षमा सात अर्ब ५० करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेकोमा ९७ करोड ८९ लाख रुपैंयाँमा घाटा सिमित भएको हो। संस्थाको प्रशासनिक सुधारका लागि उपयुक्त स्थानमा उपयुक्त व्यक्ती भन्ने नारालाई आत्मसाथ गरि जिम्मेवारी दिन सुरु गरिएको घिसिङले जानकारी दिए।
 
घिसिङले निर्माणाधिन परियोजना तिब्रता दिलाएका थिए। सोही कारण दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाबाट आगामी दुई महिना भित्र विद्युत उत्पादन सुनिश्चित गरिएको छ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोझनाको निर्माणमा पनि घिसिङले निरन्तर ताकेता गर्दै आएका छन्।

 
प्राधिकरणले निर्माण गर्ने आयोजनामा जनताको लागनी सुनिश्चित गर्न माथिल्लो अरुण, दुधकोशी, तमोर, उत्तरगंगा, आधिखोला, राहुघाट, मोदी र तामाकोसी पाँचौ आयोजनालाई कम्पनी मोडलमा ढालिएको उनले जानकारी दिए। त्यस्तै ट्रान्स्फर्मर र विद्युत पोल तथा टावर बनाउनका छुट्टा छुट्टै सहायक कम्पनी खोलिएको उनले बताए।
 
घिसिङले प्राधिकरणको कमान सम्हालेको एक बर्षमा खिम्ती-ढल्केवर २२० केभी, कटैया-कुशाहा र रक्सौल-परवाहनीपुर प्रशारण लाईन निर्माण पुरा भएको छ। यस्तै हेटौँडा-कुलेखानी-स्युचाटार १३२ केभी, बलाँच-अत्तरिया १३२ केभी, कोहलपुर-महेन्द्रनगर दोस्रो सर्किट प्रशारण लाईन निर्माण सम्पन्न भएका छन्।
 
एक बर्षमा खिम्ती-बाह्रबिसे ४०० केभी प्रसारणलाईन काम सुरु गरिएको, पूर्व पश्चिम ४०० केभी प्रसारण लाईनको बुटवल अत्तरिया खण्ड बनाउन परामर्शदाता छनौटको काम अन्तिम चरणमा रहेको घिसिङले जानकारी दिए।
 
घिसिङले ट्रान्सफर्मर र मिटर आपूर्तिमा रहेका समस्या समाधान गरि सहज रुपमा पाउने व्यवस्था थालनी भइ सकेको बताए। साथै विद्युत महसुल तिर्न कार्यलयमै पुग्नु पर्ने अवस्थाको अन्त्य गरि अनलाईन पेमेन्ट सुरु गरिएको छ।
 

यी हुन् घिसिङका आगामी योजना

  • छिमेकी देशहरुसँग अन्तर देशिय उच्च भोल्टेजका प्रसारण लाईन निर्माण गर्ने।
  • उत्पादन लागतको आधारमा विद्यसत महशुल समायोजन गर्न आवश्यक पहल गर्ने।
  • रातको समयमा खेरजाने र पिक समयमा हुने मागबीच सन्तुलन गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरि कार्यन्वयन गर्ने।
  • स्मार्ट ग्रीड सिस्टमलाई लागु गर्न ब्याट्री स्टोरेज सिस्टमलाई आवश्यकता अनुसार जडान गर्दै जाने, विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गरि पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने।
  • विद्युत माग व्यवस्थापन गर्न उर्जा दक्षता भएका लीड चिम, पंखा, पानी तान्ने मोटर लगायतका उपकरण प्रयोग बढाइ उच्च माग व्यवस्थापन गर्ने।
  • आगामी दिनमा रन अफ दि रिभर आयोजना भन्दा पिकिङ आयोजनालाई प्राथामिकता दिने।
  • दुई वर्ष भित्र विद्युतमा आत्मनिर्भर हुने र तीन वर्ष भित्र विद्युत खपतका विकल्प हरु तयार पार्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell