PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आन्दाेलनले अस्तव्यस्त दार्जलिङ : टी एन्ड टुरिजमकै १२ सय करोड क्षति

आन्दाेलनले अस्तव्यस्त दार्जलिङ : टी एन्ड टुरिजमकै १२ सय करोड क्षति

पहिलोपोस्ट /पहिलोपोस्ट


छुट्टै राज्यको माग गर्दै झण्डै तीन महिनादेखि आन्दोलन चलिरहेको दार्जिलिङमा व्यापारिक गतिविधि ठप्प छ। यसबाट दार्जिलिङलार्इ कम्तिमा पनि १२०० करोड भारुको नोक्सान भएको बताइएको छ।

पिक सिजनमा ८५ दिनदेखि जारी आन्दोलनका कारण पर्यटक, चिया र बोर्डिङ स्कुलका सबै गतिविधि बन्द भएकाले ब्यवसाय चौपट भएको हो।

चिया उद्योगबाट मात्र ५०० करोड रुपैयाँको नोक्सानी ब्याहोर्नु परेको अनुमान गरिएको छ। प्रिमियम सेकेन्ड फ्लस तथा मनसुन फ्लसको पत्ती बेचबिखनका लागि लैजान नसकेपछि चिया उद्यमीहरुले करोडौँ घाटा बेहोरेका छन्।  

दार्जिलिङ टि एसोसिएसनका अनुसार १७ हजार ६०० हेक्टरमा फैलिएको ८७ वटा चिया बगानको गतिविधि ठप्प छ।

यी ८७ चिया बगानले विश्वकै उत्कृष्ट चिया उत्पादन हुने बगानका रुपमा जियोग्राफिकल इन्डिकेसन ट्याग पाएका छन्। दार्जिलिङ टि ४० भन्दा धेरै देशमा निर्यात हुने गरेको छ। औशतमा यस्ता बगानबाट वार्षिक ८४.५ लाख किलो चिया उत्पादन हुने गरेको छ।


आन्दोलन शुरु हुनुभन्दा पहिले बगानहरुमा वार्षिक औशत उत्पादन एक तिहाइ थियो। जुनदेखि अगस्टसम्मको मनसुन महिनाको बीचमा उत्पादन हुने पत्तीबाटै उद्योगको ४० प्रतिशत आम्दानी हुने गरेको थियो। तर जुन महिनामै आन्दोलन शुरु भएपछि धेरै बगानहरु बन्द छन्।

उत्पादनको सिजनमा नै बगान बन्द भएपछि चिया उद्योग धरासायी भएको ब्यावसायी बताउँछन्। चिया उत्पादनबाट ब्यावसायीको मात्र नभइ  केन्द्र र राज्य सरकारले पनि एक्सपोर्ट रेभेन्यू गुमाउनु परेको छ।

दार्जिलिङको चिया बगानमा सबैभन्दा धेरै कामदार कार्यरत छन्। तीमध्ये ५५ हजार स्थायी र ३५ हजार करारका कामदार हुन्। ती कामदारहरुमात्र होइन तीनका परिवारहरु समेत गरी झण्डै ३.५  मानिसको दैनिकी अस्तब्यस्त भएको छ।

चिया बगान पहिलेकै जस्तो अवस्थामा आउन अझै ३/४ वर्ष लाग्ने टि एसोसिएसनका एडभाइजर सन्दीप मुखर्जीले बताए। उनी भन्छन् –‘ एकसय ७० वर्षमा दार्जिलिङ चिया उद्योगले यति ठूलो संकट कहिल्यै ब्योहोरेको थिएन।’

दार्जिलिङमा ३ सय होटलहरु छन्। तीमध्ये कालिङपोङमा १ सय र खर्साङमा २५० होमस्टे छन्। होटल तथा होमस्टेहरुमा दसैँको बिदाका लागि जाने पर्यटकहरुको बुकिङ रद्द भएको छ । यसबाट होटल ब्यावसायले ३०० करोड भारुको नोक्सानी ब्योहोर्नु परेको बताइएको छ।

अगस्टको पहिलो हप्तामा पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले आन्दोलनका कारण ५५० करोड भारतीय रुपैयाँको नोक्सानी भएको बिधान सभालार्इ जानकारी गराएकी थिइन्। त्यसयता यो नोक्सानी निकै बढिसकेको उच्च अधिकारीहरु बताउँछन्।
दार्जिलिङ होटेलयर्स एसोसिएसनका समिर अग्रवालका अनुसार अगस्टदेखि अक्टोबरसम्मको सिजन पर्यटककको पिक सिजन मानिन्छ । पिक सिजनमा दार्जिलिङका सबै होटलहरु बुक भैसकेका हुन्थे। आन्दोलनका कारण होटल ब्यावसाय ठप्प भएको अग्रवालको भनार्इ छ।

दार्जिलिङलार्इ पूर्वी भारतको उत्कृष्ट एजुकेसनल हब मानिन्थ्यो। त्यस क्षेत्रमा ५२ वटा विद्यालयहरुमा भारतका साथै नेपालका विद्यार्थीसमेत जाने गरेका थिए। तर आन्दोलनका कारण विद्यालयबाट विद्यार्थीलार्इ घर फिर्ता लैजाने क्रम बढेको छ भने नयाँ भर्नासमेत ठप्प छ। आन्दोलनका कारण दार्जिलिङको पढाइको ब्राण्डमा समेत असर परेको छ।

उद्योग धन्दाको नोक्सान त केही वर्षमा रिकभर होला तर,‘दार्जिलिङ’ नामको जुन ब्राण्ड बनेको थियो। त्यो ब्राण्डको छवि र आकर्षण फर्काउन भने धेरै समय लाग्नेछ।


ट्रेन्डिङ पोस्ट

Ncell