PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्मचारीको तलब उपलब्धपछि पोखराको फूलबारी रिसोर्ट फेरि संचालन हुने



नरहरि पौड्याल

कर्मचारीको तलब उपलब्धपछि पोखराको फूलबारी रिसोर्ट फेरि संचालन हुने

कास्की : मजदुर र व्यवास्थापन बीचको आन्तरिक विवादका कारण दुई दशकअघि करिब तीन अर्ब लगानीमा पोखरामा सञ्चालित पाँचतारे फूलबारी रिसार्ट अनिश्चित कालका लागि बन्द गरिएको छ।

करिब ६ महिनादेखि रिसोर्ट व्यवस्थापन र मजदुर बीच सेवा सुविधाको बिषयलाई लिएर आन्तरिक विवाद चर्किएपछि रिसोर्ट बन्द भएको हो। 

मजदुर संगठनको आन्दोलनका कारण रिसोर्ट गत फागुन १७ गतेदेखि ठप्प भएको हो। 

मजदुरले कुनै पनि काम नगरेपछि यो अवस्था आएको हो। कांग्रेस निकट नेपाल पर्यटन तथा होटल मजदुर संघ, एमाले निकट नेपाल स्वतन्त्र होटल मजदुर संघ र माओवादी केन्द्र निकट अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ सेवा सुविधा कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका थिए।

मजदुर र व्यवस्थापन बीच ६ महिनाको अवधिमा सहमतिका लागि धेरै पटक वार्ता भए पनि कुनै सहमति हुन सकेको थिएन। 

अन्ततः कार्यरत मजदुर र व्यवस्थापन बीच रिसोर्ट बन्द भएको अवधिको सबै तलबसहित काम गरेको अवधिभरको पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा लिएर रिसोर्ट छाड्ने सहमति भएपछि मजदुर आन्दोलन टुिङ्गएको अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ फूलबारी एकाइ उपाध्यक्ष नवराज गिरीले बताए।

व्यवस्थापन र मजदुर बीच आन्तरिक सहमति भएपछि व्यबस्थापनले रिसोर्ट अनिश्चित कालका लागि बन्द गरेको बताएको छ। 

आन्दोलनरत मजदुर र व्यवस्थापन बीच सहमति नजुट्दा रिसोर्ट फागुन १७ पछि सञ्चालनमै नआई बन्द भएको हो। 

पोखराको पर्यटन व्यबसायमा महत्वपूर्ण योगदान पुर्याएको रिसोर्ट बन्द भएपछि त्यहाँ कार्यरत १ सय १७ कर्मचारी बेरोजगार बनेका छन्।

अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ फूलबारी इकाई उपाध्यक्ष नवराज गिरीका अनुसार कार्यरत सबै कर्मचारी बिदा भएका छन्। 

अहिले रिसोर्टमा कुनै कर्मचारी छैनन् । व्यबस्थापनले नै आफै रेखदेख थालेको छ।  

व्यवस्थापनले सबै कर्मचारीलाई दिनुपर्ने सबै सुविधा दिएर बिदा गरेको उनले बताए। 

दुईपक्षक्ष बीच भएको सहमति अनुसार अहिले तत्काल ४० प्रतिशत र दुई महिनामा ६० प्रतिशत रकम दिने सहमति भएको हो। 

मजदुरले मासिक पारिश्रमिक सहित सामाजिक सुरक्षा कोष, र सञ्चय कोष सहितको रकम सबै पाएका हुन्। 
रिसोर्ट व्यवस्थापनले लामो समय रिसोर्ट बन्द भएको र कामदारका माग पूरा गर्न नसक्ने अवस्था आएपछि कार्यरत सबैलाई बिदा गरेको बताएको छ।

व्यवस्थापनले एक सय १७ कर्मचारीको तलव अन्य सुविधासहित ३ करोड रूपैयाँ भुक्तानी गरेको छ।

त्यसमा व्यवस्थापनले काम नगर्दाको ६ महिना अवधिको पनि तलब दिएको छ। 

व्यबस्थापनले मर्मतसम्भार सकेर आगामी नोभेम्बर वा डिसेम्बरमा रिसोर्ट पुनः सञ्चालन गर्ने तयारी गरेको बताएको छ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पोखराको इतिहास बनेको ठूलो रिसोर्ट बन्द हुँदा यहाँको पर्यटन क्षेत्रमासमेत असर पर्ने बताउँछन्। 

‘यसक्षेत्रमा पर्यटनसँग सम्वन्धित ठूला तथा साना व्यबसायीलाई समेत भस्काएको छ, पोखरा क्षेत्रमा पर्यटनसँग सम्बन्धित क्षेत्रमा गरेको लगानी असुरक्षित हुने होकी भनी सोच्न बाध्य बनाएको छ’उनले भने। 

‘राज्यलाई नै ठूलो टेवा पुग्ने गरी एकल व्यक्तिले सञ्चालन गरेको ठूलो लगानी डुब्दा राज्यले टुलुटुलु हेर्नु विडम्वना पूर्ण छ’तुलाचनले भने ‘ठूला व्यवसायीको आर्थिक सुरक्षाका लागि राज्य संबेदनशील हुनुपर्छ।’ 

रिसोर्ट ४ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। सन १९९८ देखि सञ्चालनमा आएको रिसोर्टमा  एक सय ६५ कोठा छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell