PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एप्पलले एकै पटक सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता



एप्पलले एकै पटक सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता

  • पहिलोपोस्ट -
एप्पल कम्पनीले पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि क्यालिफोर्नियामा आयोजित एक विशेष समारोहमा गएराति एकै पटक तीन वटा नयाँ मोडल सार्वजनिक गरेको हाे। 

स्टिभ जब्स थियटरमा आयोजित कार्यक्रममा सबैभन्दा पहिले एप्पल वाच सिरिज ३, त्यसपछि एप्पल टिभी फोर के र त्यसपछि आइफोन ८ र ८ प्लस सार्वजनिक गरिएको थियो। 

एप्पलका सिइओ टिम कुकले जब 'अझै एउटा कुरा बाँकी छ' भने थियटरमा उपस्थित भए लाइभ प्रसारण हेरिरहेका दर्शक छक्क परेका थिए। 

त्यसपछि उनले आइफोन एक्सको घोषणा गरे जसलाई उच्चारण गर्दा आइफोन 'टेन' भनिन्छ। पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको हुनाले नयाँ मोडलको आइफोनलाई आइफोन १० भनिएको हो। योसँगै एप्पलले आइफोन ८ पछि आइफोन ९ नआउने संकेत गरेको छ। 

आइफोन ८ यही महिनाको अन्तसम्म हातमा पर्ने भए पनि टेन भने नोभेम्बरमा मात्र किन्नेहरुको हातमा पर्नेछ। 

के छ आइफोन ८ र ८ प्लसमा नयाँ?

आइफोन ८ र ८ प्लस पछिल्ला आइफोनहरु ७ र ७ प्लसका अपडेटेड संस्करणका रुपमा रहेका छन्। यसमा धेरै नयाँ फिचर्स नथपिएका भए पनि ७ भन्दा नयाँ केही विशेषता छन्। 

•    ८ को डिस्प्ले ४.७ इञ्च रहेको छ भने त्योभन्दा ठूलो ८ प्लसको साढे ५ इञ्च रहेको छ। 
•    यसका स्पिकरहरु ७ कोभन्दा २५ प्रतिशत ठूलो आवाज निकाल्न सक्छ। 
•    यसमा ए ११ बायोनिक चिप छ। 
•    १२ एमपीका क्यामेरा छन्। 
•    यसले फोर के ६० फ्रेम पर सेकेन्डको भिडियो खिच्न सक्छ। 
•    लो लाइटमा छिट्टै अटो फोकस गर्न क्षमता छ। 
•    ८ प्लसमा १२ एमपीका दुई वटा क्यामेरा छन्। 
•    ८ प्लसमा पोट्रेट लाइटिङको नयाँ सुविधा थपिएको छ। पोट्रेट अप्सन छानेर त्यसमा स्टेज लाइटको विकल्प रोजेमा पछाडिका सबै दृश्यलाई कालो बनाएर टाउको र अनुहारमात्र देखिने गरी स्टुडियोमा फोटो खिचेको झैँ देखिन्छ। 


८ र ८ प्लस दुवैमा ची वायरलेस चार्जिङको सुविधा थपिएको छ। ६४ जीबी र २५६ जीबी गरी दुई वटा विकल्पमा मात्र यो उपलब्ध हुनेछ। सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरु सेप्टेम्बर २२ देखि डेलिभर हुन थाल्नेछन्। 

नेपाली बजारमा यी फोन कहिले उपलब्ध हुने भन्ने बारे कुनै जानकारी आएको छैन। छिमेकी देश भारतमा ८ र ८ प्लस सेप्टेम्बर २९ देखि उपलब्ध हुने र मूल्य भारु ६४ हजारदेखि सुरु हुने एनडिटिभीले जनाएको छ। 

सबैभन्दा महँगो आइफोन X

एप्पलले सबैभन्दा महँगो आइफोन X पनि गएरातिकै कार्यक्रममा घोषणा गरेको छ। यसको उच्चारण एक्स नभई टेनको रुपमा गरिनेछ। 

आइफोन X मा केही नयाँ विशेषता थपिएका छन्। एउटा प्रमुख विशेषता फेस आइडी हो।

यो फोनमा पूरै डिस्प्ले दिनका लागि होम बटन हटाइएको छ। होम बटनसमेत हटाइएकोले टच आइडी हुने कुरै भएन। बरु यसका लागि फेस आइडी तयार छ। 

फोनको अगाडि भागमा रहेको क्यामेराले प्रयोगकर्ताको अनुहार स्क्यान गरी फेस आइडी तयार पार्छ। यदि उही व्यक्तिले फोन अनलक गर्न खोजेमा मात्र हुन्छ। कसैको फोटो र मास्क बनाएर ल्याए पनि फोन अनलक हुँदैन। तर यदि जुम्ल्याहा छ भने अनलक हुनसक्छ। 'त्यस्तो छ भने पासकोड बलियो राख्नुहोला', कार्यक्रममा भनियो। 

५.८ इञ्चको ओएलइडी डिस्प्ले भएको यो फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडिआरसमेत सपोर्ट गर्छ।

पोट्रेट फोटोको विकल्प आइफोन X मा सेल्फी खिच्दासमेत पाइन्छ।  

यो फोनको सुरुवाती मूल्य नै ९९९ अमेरिकी डलर रहेको छ। नोभेम्बर ३ तारिखदेखि मात्र यो बजारमा आउनेछ।  

६४ जिबी र २५६ जिबीमा आउने यो मोडलको आइफोनमा सबैभन्दा महँगो मोडलको मूल्य अमेरिकामा ११४९ डलर रहेको छ। 

नेपालमा यो मोडलको आइफोन कहिले बजारमा आउने र मूल्य कति हुने भन्ने जानकारी आउन बाँकी छ। छिमेकी देश भारतमा भने नोभेम्बर ३ मा बजारमा आउने ६४ जिबीको मूल्य ८९ हजार भारु हुने एनडिटिभीले जनाएको छ। अमेरिकी डलरमा यसलाई परिवर्तन गर्दा १३९० डलर पर्न आउँछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell