PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा



सूर्य खड्का

राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

संघीय गणतन्त्र नेपाल अन्तर्गत स्थानीय तहको तेस्रो चरणको चुनाव आगामी असोज २ मा सम्पन्न हुँदैछ। अघिल्ला २ चरणका चुनावमा भाग नलिएको राजपा समेत सहभागी भएका कारण प्रदेश नम्बर २ को चुनाव सबै दलको साझा चुनावी समर बनिरहेको छ। यो चुनाव मधेशवादी दलका लागि पहिलो दल हुने शक्ति परीक्षा हो। यस्तै एमालेलाई पहिलो स्थान कायम राख्ने र मधेशमा पनि लोकप्रिय रहेको देखाउने मौका हो भने कांग्रेसका लागि दोस्रोबाट पहिलो बन्ने मौका। आफ्ना नीतिमा आफ्नो नेतृत्व लिने अवसर हो माओवादीका लागि। खासमा २ नम्बर प्रदेशको चुनाव कस्तो रहला? यसै विषयमा मधेश मामलाका जानकार विश्लेषक डा. राजेश अहिराजसँग सूर्य खड्काले गरेको कुराकानी।

असोज २ को चुनाव आइसकेको छ। दलहरू चुनावमा होमिएका छन्। चुनावको माहोल कस्तो भइरहेको ठान्नुहुन्छ?

यसपटक साँच्चै चुनाव लागेको छ मधेशलाई। जनता निकै धेरै उत्साहित भएका देखिन्छन्। हरेक दलमा उम्मेद्वार हुने आकांक्षीहरूको ठूलो भीड देखियो। सबै दलले सक्दो धेरै आफ्नै उम्मेद्वार पनि उठाएका छन्। 

खासगरी यो चुनावमा राजपा पनि सहभागि भएका कारण जनतामा व्यापक उत्साह जागेको छ। राजपाका कुनै पनि क्षेत्रमा दर्जन भन्दा कम आकांक्षी देखिएका छैनन्। यसले उनीहरूमा चुनावी मोह कति धेरै दबिएर रहेको रहेछ भन्ने देखाउँछ।

अहिले जनता धेरै सचेत पनि छन्। उनीहरूका पहिलो र दोस्रो चरणको चुनावबाट पनि धेरै ज्ञान लिए। भोटको महत्व बुझे। 

दलहरूको प्रचार अभियान कस्तो रहयो?

देशका अन्य भागमा स्थानीय तहको चुनाव सकिएका कारण दलहरूलाई एउटै प्रदेशमा मात्रै केन्द्रित हुने सुविधा मिल्यो। आमसभा, घरदैलो, पार्टी प्रवेश जस्ता जे जस्ता प्रचार कामहरू दलहरूले गरेका छन्, त्यसले परिस्थितिलाई थप चुनावमय बनाएको छ। 

यत्रो चुनावी प्रचारमा छिटफुट केही बाहेक खासै नराम्रा कुनै घटना नै भएनन्। द्वन्द्वरहित चुनावी प्रचार अभियान चल्यो। यसले मतदाताहरूमा पनि भय, त्रास वा आशंका मेटिँदै गएको पाइन्छ। नेताहरूले एकले अर्कोको आलोचना गर्नु त सामान्य कुरा भयो। तर, लडाई झगडाको बाटोमा दलहरू देखिएनन्। सबैले शक्ति बिस्तार गर्नेमा आफूलाई केन्द्रित गरेका कारण प्रचार शैली पनि सकारात्मक पाइयो।

यसले चुनावी सफलतालाई सुनिश्चित गर्दै लगेको भन्न सकिन्छ उसो भए?

जरुर हो। यसले जनतामा चुनाव मोह र लहर ल्यायो। खासगरी राजपाको सहभागिता समेत रहेका कारण चुनाव सफल हुने कुरा सुनिश्चित जस्तै देखिन्छ। राजपा पनि चुनावमा गएका कारण यसले संविधानको सर्वस्वीकार्यता पनि वृद्धि गरेको छ। राजपा लगायतका मधेशी दलको फरक मतको अन्त्य पनि यसै चुनावबाट हुँदैछ। संघ र संसदको प्रदेशले फरक मतको अन्त्यलाई थप बढाउने छ।

कोही पनि शक्ति अब चुनावको विपक्षमा देखिएन। यो नै सबैभन्दा सुखद् कुरा हो। सबै दलको चुनावी सहभागिता नै यसको सुन्दर पक्ष हो।

यो चुनावमा पहिलो प्रतिष्पर्धा को को बीच होला? सबै दलका शीर्ष नेताले आ-आफ्नो दल पहिलो हुने जिकिर गरिरहेका छन्। दोस्रो कोही नहोला त?
दलहरूले आ-आफ्नो पोजिसन बलियो बनाउन दाबी गर्ने कुरा स्वभाविक हो। तर, यो चुनावमा मुख्य प्रतिष्पर्धा कांग्रेस र एमाले बीचमा नै होला जस्तो लाग्छ। उनीहरू बीचको  प्रतिष्पर्धा मुख्य होला। त्यसपछि को तेस्रो हुने भन्ने प्रतिष्पर्धा राजपा र माओवादी बीच होला भन्ने देखिन्छ। 
 

माओवादी अक्ष्य प्रचण्डले विशेष गरी मधेश मिसन नै चलाए। माओवादीको स्थिति नसुध्रेला र?

मलाई लाग्छ, माओवादीलाई यो क्षेत्रमा घाटा नै लाग्ला। प्रचण्डजीले असन्तुष्ट राजपावालालाई स्वागत गर्नु भयो। तर, असन्तुष्ट प्रवृत्ति जता गए पनि सधै असन्तुष्ट नै रहन्छ। अहिले पार्टी प्रवेश गराउने संख्या बिस्तार गरे पनि माओवादीले शक्ति बिस्तार गरेको जस्तो लाग्दैन।
यो सत्ताका वा केपी ओलीकालीन सत्ताका निर्णायक पात्र प्रचण्ड नै थिए। मधेशका माग उल्झाएर पूरा नगर्नमा प्रचण्ड नै मुख्य रुपमा दोषी छन्। जनताले त्यो कुरा बुझेका होलान भन्ने लाग्छ।

मधेशको चुनावमा मधेशी दलहरू मुख्य प्रतिष्पर्धी नबन्लान?

राजनीतिमा को कतिबेला बलियो र कतिबेला कमजोर बन्छ भनेर भविष्यवाणी गर्न गाह्रो हुन्छ। तर, मधेशको चुनाव भएकै कारण मधेशी दलहरू मुख्य दाबेदार रहे पनि पहिलो भइहाल्लान भन्न सकिन्न। राजपा चुनावमा धेरै पछि आयो। उसले चुनावी तयारी ढिलो सुरु गर्‍यो। पहिलो र दोस्रो चरणका चुनावमा भाग नलिएर अर्को शक्ति आर्जनको अवसर गुमायो। मधेश भनेका २० जिल्ला हुन्। तर अघिल्ला १२ जिल्लाको चुनाव राजपाले व्यर्थमा गुमायो। कति पीडा होला ती छुटेका १२ जिल्लाका नेता, कार्यकर्तालाई?
 

उपेन्द्र यादव र विजय गच्छेदारहरूको स्थिति कत्तिको बलियो रहला?

उपेन्द्रजीको पार्टीलाई धेरै अप्ठ्यारो देख्छु म। उहाँको दलले पहिलो वा दोस्रो नै भैहाल्ने सम्भवना कम छ। पहिलो कुरा उहाँको दलमा अधिकांश उम्मेद्वार नै यादव जातिका भैदिए। अघिल्ला चुनावी परिणामले जातिवादी, धर्मवादी, संप्रदायवादी दलहरूलाई अस्वीकृत गरेको देखाएको छ। मधेश सेन्टिमेन्टस उपेन्द्रजीको पक्षमा अपेक्षा गरे बमोजिम नहुन सक्छ। एउटा कुरा उहाँका लागि सकारात्मक के छ भने उहाँ पहिलो चरणबाटै चुनावको पक्षमा उभिनु भयो। अन्ततः उहाँले भनेको चुनावकै बाटोमा राजपा पनि अहिले आइपुगेको छ। यसले उपेन्द्रजीको पार्टीलाई केही राम्रो गर्न पनि सक्छ। विजय गच्छेदारजी पार्टीको खासै प्रभाव देखिएला जस्तो लाग्दैन। उहाँको पक्षमा मधेशको सेन्टिमेन्ट्स देखिएको छैन।

मधेश केन्द्रित दलहरू राजपा, फोरम, लोकतान्त्रिक फोरम बीच चुनावी तालमेल किन हुन सकेन?

यही त दुर्भाग्य हो मधेशको जनताको। मुद्दा, विचार, ग्राउण्ड मिल्ने यी दलहरूले चुनावी सहकार्य गर्न सकेको भए धेरै राम्रो हुन सक्थ्यो। तर, तिनै दलका नेताहरूको अहम् र घमण्डका कारण उनीहरू मिलेर चुनावमा जान सकेनन्। राजपा भन्नोस् वा अरु दल सबै दलका नेताले परिस्थिति बुझेर तालमेल गर्न सक्नुपर्ने थियो। तर सकेनन्।

अब त तालमेलको सम्भावना पनि सकियो। पछि उम्मेद्वारले नै समर्थन गर्ने चान्स रहन्छ की?

अब त तालमेलको सम्भावना सकियो। त्यत्रो मारामार गरेर पाएको टिकट कस्ले छोड्न खोज्ला र? यो त ढिलो भैसक्यो। अब त्यसले खास अर्थ पनि राख्दैन। फेरि भोट गणना नहुँदासम्म हार्छु भन्ने कसैलाई हुँदैन। अनि कसले छोड्ला र अब त?

राजपामा धेरै आकांक्षी देखिए पनि टिकट त एकले पाउने हुन्। यसले उसलाई अन्तरघातको खतरा कत्तिको रहला ?

त्यो त स्वभाविक छ। राजपालाई अन्तरघातबाटै नै बढी घाटा हुनेछ। उसका धेरै आकांक्षी देखिनुका कारण उसले कार्यकर्तालाई सही रुपमा निर्देशित र प्रशिक्षित गर्न नै नसकेको उदाहरण हो। संगठन चुस्त र पार्टी पद्धति बलियो भैदिएका भए उम्मेद्वारी दर्ताको अन्तिम अवस्थासम्म यस्तो मारामार नहुने थियो। टिकट नपाउनेले त अन्तर्घात गर्ने, असहयोग गर्ने सम्भवना सधैँ जीवित रहन्छ।

भनेपछि आफ्नै आधार इलाकामा राजपा आफै बलियो हुन नसक्ने लक्षण नै बलियो रह्यो भन्न सकिन्छ?

हो त्यस्तै स्थिति बन्ने देखिन्छ, अहिलेसम्मको परिस्थिति हेर्दा। किन भने राजपाको सैद्धान्तिक धार र धारणा नै दोधारे रह्यो। फलतः उसको आफ्नै जनाधार र धरातल माथि नै खतरा बढेको छ। 

सिद्धान्ततः अहिले पनि राजपा सत्तारुढ दल नै हो। उसले सरकारलाई दिएको समर्थन कायम रहँदासम्म उ विपक्षी दल होइन। सत्तामा पनि छैन, विपक्षी पनि होइन। उसले प्रधानमन्त्री चुनावमा भोट हालेको जनताले हेरेका छन्। साँचो हो कि व्यवहारमा उ सत्ताधारी दल होइन, तर पेपरमा उ सत्तारुढ दल नै हो। यो दोधारे नीति नै उसका लागि कमजोरी बनेको छ।

एमालेले भोट नदिएका कारण नै संविधान संशोधन पास नभएको हो। तर सरकारमा रहेका कारण कांग्रेस र माओवादीले नै संशोधन पास गराउने आफ्नो लिखित बाचा पूरा नगरेर राजपालाई धोका दिएका हुन्। तर पनि राजपाले कांग्रेस माओवादीको धोकाको भण्डाफोर गर्न सकेको छैन।

यसको मतलव आफ्ना माग, मुद्दा र अडानको मार्केटिङ गर्न राजपा चुक्यो ?

सत्य त्यही हो। धार र धारणा स्पष्ट नपार्दा राजपा धरातल जोगाउने चुनौतिमा छ।

राजपामा अनिल झाको चुनावप्रतिको फरक मत पनि देखियो। यसको प्रभाव के पर्ला?

नेताहरूको विचार र जनाधार फरक फरक कुरा हो। विचार भएका नेताहरूको जनाधार नहुन सक्छ। जनाधारको कुरा गर्दा अनिलजीहरू कमजोर नेता हो। उहाँको विचार जे भए पनि जनाधार छैन। राजपाको विधानमा नै हरेक निर्णय अध्यक्षमण्डलको सर्वसम्मतिले गर्ने व्यवस्था छ। विधान विपरितका उहाँका धारणाहरू गलत हुन्। विधानकै पनि अवज्ञा हो। तर, अब चुनावमा यसको खास प्रभाव पर्ने देखिँदैन। 

स्थानीय मतदाताको सहभागिता कत्तिको रहला ?

यस पटक मतदाता ठूलै संख्यामा सहभागी होलान् भन्ने लाग्छ। भर्खरै बाढी, डुबानबाट नराम्ररी पीडित भएका कारण स्थानीय जनतालाई धेरै ठाउँमा भेट हाल्न जान नसक्ने स्थिति हुनसक्छ। तपाईँहरू कल्पना गर्न सक्नुहुन्न कि भित्री बस्तीहरूमा जनतालाई बाढी डुबानले साँच्चै सताएको छ। जो घरबारबिहीन छन्, तिनका लागि भोटको महत्व नहुन सक्छ।

अर्को लाखौंको संख्यामा युवा विदेशमा छन्। उनीहरू छुट्ने नै भए। अझ अर्को खतरा के छ भने निर्वाचन आयोगले राजपालाई उनीहरूको चुनाव चिन्ह अनुसार लड्न दिइएन। पहिल्यै छापेका मतपत्रमा यो चुनाव हुँदैछ। 

यसबाट डरलाग्दो खतरा भनेको धेरै भोट बदर हुन सक्छ। पहिले जनताले राजपाको चुनाव चिन्हमा भोट दिने भए। पछि तमलोपा वा सदभावना आदि दललाई पनि भोट दिन सक्ने भए। किनकि ती दलका चुनाव चिन्ह पनि त्यही मतपत्रमा हुन्छन्। धेरैतिर भोट दिने सबैको मन राख्ने मतदाता पनि हुन सक्छन्। यो समस्या त निर्वाचन आयोगले जानीजानी झिकेको समस्या हो। त्यो पूर्णतः गलत हो। राजपामाथि आयोगको अन्याय नै हो।

भूमिगत जयकृष्ण गोइत वा डा. सीके राउतहरूको पनि प्रभाव रहेको ठाउँ हो अहिले चुनाव हुने क्षेत्र। उनीहरूको प्रभाव कत्तिको पर्ला मतदानमा?


सरकारका लागि, राज्यका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्न सजिलो छ अहिले २ नम्बर प्रदेशमा। सुरक्षा पनि निकै छ। त्यसैले गोइतजी वा सीकेजीहरूको प्रभाव खासै नदेखिएला। 

तर सैद्धान्तिक रुपमा धेरै भोट बदर हुने स्थिति आएमा त्यसको जस लिने काम सीके राउतजीहरूबाट हुन सक्छ। मानौं १० भोट सदर भो भने १५ भोट बदर होला। त्यो खासमा निर्वाचन आयोगको कमजोरीले नै भए पनि मनोवैज्ञानिक रुपमा त्यो सीकेजीहरूको जीत देखिन सक्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell