PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मदनकृष्णको आत्मकथा 'महको म' विमोचन हरिवंशको हातबाट



मदनकृष्णको आत्मकथा 'महको म' विमोचन हरिवंशको हातबाट

काठमाडौं: 'किताब प्रकाशनको हकमा मात्र मैले मदन दाइलाई ओभरटेक गरें। नत्र सधैं दाइलाई अगाडि राखेको छु।' ३७ वर्ष लामो सहयात्राका लागि मदनकृष्ण श्रेष्ठलाई धन्यवाद दिंदै उनको आत्मकथा 'महको म'को विमोचनमा हरिवंश आचार्यले भने,'मेरो गुण मात्र होइन दुर्गुण पनि स्विकारेर मलाई नजिक राख्नु भयो। तर पनि मैले नजानेर कहिले पनि मन दुखाएङ्को छु भने माफी चाहान्छु।'

श्रीमती यशोदा सुबेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसरमा मङ्गलबार मदनकृष्ण श्रेष्ठको पुस्तक ‘महको म’को विमोचन भएको हो। 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उनका छोरा संगीतकार यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले पनि सांगीतिक प्रस्तुति दिए।

मदनकृष्णले 'खोला वारी खोला पारी' र सम्भुजित बास्कोटाको संगीत रहेको 'मलाई मार पर्‍यो' बोलको गीत गाए। त्यस्तै यमन श्रेष्ठले आफ्नै संगीतमा मदनकृष्णको शब्द रहेको गीत 'माया नभएको भए' बोलको गीत गाए। छोरी सरानाले बुवाको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको गीत गाएकी थिइन्।
 
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रवीन्द्र समीरले भने, ' यो आत्मकथा आत्मप्रशंसाबाट टाढा रहेर लेखिएको पुस्तक हो। उनले आफेलाई सानो प्रस्तुत गरेका छन्। पुस्तकले हँसाउँछ पनि र रुवाउँछ पनि।' 

आत्मकथा लेखनका लागि प्रेरित गर्ने, सहयोग गर्ने सम्पूर्णलाई मदनकृष्णले धन्यवाद व्यक्त गरेका थिए। उनले अभिनय, हरिवंश आचार्य, श्रीमती र शारीरिक समस्यासँगै अन्य सम्बन्ध एवं घटनाहरुको संग्रह रहेको बताए। भावुक हुँदै भने,'जिन्दगीमा के के गरियो गरियो। तर प्राय राम्रोहरुसँग मात्र भेट भयो त्यसैले राम्रो गर्न र बोल्न पाएँ। सबैले आत्मीय माने, आफ्नो ठाने। यो ऋण कसरी तिर्ने थाहा छैन। बैंकको लोन लिएको भए र्‍याखर्‍याख्ती पारिसक्थ्यो।'

उनले पुस्तक मार्फत ती सबै राम्रो गर्न प्रेरितहरु सम्झन खोजेको बताए।  फाइनप्रिन्टले प्रकाशन गरेको किताब 'महको म'को मूल्य हार्डकभरको ८७६ रुपैयाँ र  पेपरब्याक मूल्य रु ५७६ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell