PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एनआरएन अमेरिकाको चुनाव, केन्द्रमा मारामार, च्याप्टरले उम्मेदवार नै पाएन 



पहिलोपोस्ट

एनआरएन अमेरिकाको चुनाव, केन्द्रमा मारामार, च्याप्टरले उम्मेदवार नै पाएन 

  • बिष्णुहरि घिमिरे -
पेन्सिलभेनिया : आरोप प्रत्यारोप, विवाद र विभिन्न किचलो छिचोल्दै अन्तत: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको निर्वाचन प्रकृया आइतवारदेखि शुरु भएको छ। विवादका मुख्य पात्र  टेक्सासका ब्यापारी गौरी जोशी सबै प्रक्रिया बाट पछाडि हटेपछि एनआरएनमा सबै भन्दा धेरै सदस्य रहेको अमेरिकाको निर्वाचनका लागि बाटो खुलेको हो। 

गौरी जोशी एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार हुन पाउने कि नपाउने भन्ने विषयले लगभग एक वर्ष नेपाली ड्यासपोरा  विभाजित बन्यो।  एनआरएन आइसीसीको विधानमा कुनै पनि एनसीसीको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल  कार्यसमितिमा रहेर काम गरेको हुनु पर्ने बाध्यकारी ब्यवस्था गरेको छ।  सोही विषयमा एनआरएन आइसीसी पनि विभाजित भएको थियो। 

आफु उम्मेदवार हुन पाउनु पर्ने भन्दै गौरी जोशी अदालत सम्म पुगेका थिए। अमेरिकी अदालतले अन्तिम फैसला नआए सम्म चुनावका सबै कार्यक्रम रोक्न भनेको थियो। तर अन्तमा गौरी जोशी आफैले मुद्धा फिर्ता लिए पछि निर्वाचनको बाटो खुलेको हो। 

निर्वाचन समितिले न्युयोर्कको समय अनुसार मंगलवार बिहान आठ बजेदेखि बुधवार राति १२ बजे सम्म मतदान समय तोकेको छ। निर्वाचन विद्युतीय हुने छ। निर्वाचन समितिका सदस्य विश्व बरालका अनुसार सबै सदस्यलाई मतदान प्रक्रिया शुरु हुने दिन नै मतपत्र सहितको लिङ्क इमेल मार्फत मतदातालाई पठाइने छ। लिङ्कमा प्रवेश गर्नका लागि मतदाताको एनआरएन सदस्य नम्बर भने चाहिने छ। 

झण्डै १५ हजार सदस्य रहेको एनआरएन एनसीसी अमेरिकामा २५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुने छ। यसका साथै आठ जना आइसीसी मेम्बर र च्याप्टर कार्यसमितिको पनि चयन हुने छ। 

प्यानल सहित चुनावी मैदानमा

एनआरएन एनसीसी अमेरिकाको भावि अध्यक्षका लागि वर्तमान  कार्यसमितिका चार जनाले दावेदारी गरेका छन्। बर्तमान अध्यक्ष डाक्टर केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रविना थापा प्यानल सहित चुनावी मैदानमा छन्। अर्का उपाध्यक्ष राम सी पोखरेलले पनि अध्यक्षको दावेदारी गरेका छन्। 

आफ्ना अधुरा योजना पूरा गर्न दोस्रो कार्यकालमा पनि निरन्तरता खोजेको डाक्टर पौडेलको भनाइ छ। विभिन्न कानुनी विवाद, नेपालमा गएको महाभूकम्पले गर्दा प्रतिवद्धता पूरा गर्न समय अभाव भएको उनको स्पष्टिकरण रहँदै आएको छ। 

“अमेरिकन एनआरएनअरुको पँहुच आईसीसीमा पुर्याउन, नेपाली अमेरिकनहरुको अमेरिकन मेन स्ट्रीममा ईन्टिग्रेट गर्नु मेरो मुख्य लक्ष्य हो, यस्तै गैर आवासीय नागरिकता प्रावधानलाई संविधानबाट कानुनमा परिणत गर्न, प्रवासमा नेपाली सस्कृति र नेपाली पनलाई प्रवर्धन गर्न अमेरिकाका मुख्य शहरहरुमा नेपाली कम्युनिटी सेन्टरहरुको स्थापना गर्न मेरो उमेदवारी हो।”

अमेरिकामा मेडिकल क्षेत्रमा ख्याती कमाएका पौडललाई एनआरएन आइसीसी सस्थापन पक्ष, उत्तर अमेरिकी क्षेत्रिय संयोजक सोनाम लामा, नेपाली काग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समितिको पूर्व संयोजक बिष्णु सुवेदी समुह लगायतको सर्मथन रहेको छ। अघिल्लो  निर्वाचनमा पौडेलको  भोट बैक बनेको न्यु योर्क च्याप्टर यस पटक विभाजित बनेको छ। अध्यक्ष रोशन ढुङ्गना सहितको टोली अर्का उम्मेदवार रवीना थापाको पक्षमा खुलेर लागेको छ। 

पौडेललाई आफ्ना टिमलाई समेटेर लान नसकेको आरोप लाग्दै आएको छ।  जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट समुह, एनआरएन एनसीसीका पूर्व अध्यक्ष अधिवक्ता खगेन्द्र जिसी, एमालेको भातृ संगठन प्रवासी मञ्चका पूर्व अध्यक्ष संजय थापा समुह, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लुइसाङ वाइवा समुह लगायत जसरी पनि डाक्टर पौडेललाई रोक्ने अभियानमा रहेको छ। 

यही समुहको उक्साहटमा गौरी जोशी मैदानमा आएका थिए। गौरी जोशी ब्याक भए पछि सो समुहले कृष्ण पोखरेललाई आफ्नो उम्मेदवार बनाएको छ। बरिष्ठ उपाध्यक्ष पोखरेलसँग यस अघि महासचिव थिए। अनुभवका आधारमा आफु अब अध्यक्षका लागि हकदार भएको पोखरेलले बताउँदै आएका छन्। 

“सामाजिक सस्थामा काम गर्न प्रतिवध्द्धता, नैतिकता, इमान्दारिता चाहिन्छ त्यो सबै म सग छ, एनआरएनलाई सामाजिक सस्था बनाउन सबैलाई समेट्न सक्ने उम्मेदवार मै हु।”

डाक्टर केशव पौडेल र कृष्ण पोखरेल समुह नपरेका अन्य असन्तुष्टहरु रवीना थापा प्यानलमा देखिएका छन्। एनआरएनलाई समावेशी बनाउन आफुले उमेदवारी दिएको थापाले बताउदै आएकी छन्। जनसम्पर्क समितिको एक पक्षले थापा समुहलाई सहयोग गर्दै आएको छ। 

“एनआरएन सस्थागत रुपमा नै चलेको छैन्, साधरण सभाको आदेश नै यो समितिले मानेन, मेम्वर आइडी नै लागु गरेन्, यी सबैलाई सस्थागत गर्दै एनआरएनको पहुँच सबैमा पुर्याउन मेरो उमेदवारी हो।” 

गुटगत प्यानलका उम्मेदवारले सिङ्गो एनआरएनलाई नेतृत्व दिन नसक्ने भएको कारण आफुले उमेदवारी दिएको रामसी पोख्ररेलको भनाई छ। 
“गुटबन्दीले नै सस्थामा विवाद आउने हो, प्यानलको उम्मेदवारले साझा सस्थाको नेतृत्व गर्न सक्दैन।” 
उनी प्रवासीको समस्या नै आफ्नो मुख्य एजेण्डा भएको बताउछन्। 

“एकिकृत र बलियो एनआरएन आजको खोजी हो, प्रवासीको दायित्व र कर्तब्यका लागि मेरो उमेदवारी हो।”

अमेरिकामा चिकित्सा क्षेत्रमा ख्याती कमाएका डाक्टर पौडेल न्युमेक्सीको लभलेस हेल्थ सिस्टमका मेडिकल डाइरेक्टर हुन्। अर्का प्रत्यासी कृष्ण पोखरेल न्युयोर्कमा जीवन बीमा कम्पनीमा कार्यरत छन्।  यस्तै रवीना थापा क्यालिफोर्निया र राम सी पोखरेल टेक्सासमा निजी व्यवसायमा छन्। 

उम्मेदवार नै पुगेनन्

एनआरएन अमेरिकामा तीन सय १७ पदका लागि निर्वाचन हुँदै छ। तर दुई सय २७ उम्मेदवार मात्र चुनावी मैदानमा रहेका छन्। २६ च्याप्टर मध्ये ६ च्याप्टरमा उमेदवारी नै परेको छैन। च्याप्टरमा ११ जनाको समिति रहन्छ। राष्ट्रिय समितिमा भने चार उपाध्यक्षका लागि सबै भन्दा धेरै १५ जना चुनावी मैदानमा छन। यस्तै राष्ट्रिय समिति सदस्य अर्थात बोर्ड अफ डाइरेक्टरको ११ पदका लागि ३३ जना प्रतिस्पर्धामा उत्रिएका छन्। 

बरिष्ठ उपाध्यक्षको एक पदका लागि सुनिल शाह, गजेन्द्र अर्याल र तेम्वा शेर्पा चुनावी मैदानमा छन्। यस्तै महासचिवका लागि बाबुराम लामा, महेश मल्ल, पूर्णचन्द्र बाँनिया र सूर्य लम्सालले उमेदवारी दिएका छन्। 

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell