PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'एम्बुस'मा नेपाली भाषा



'एम्बुस'मा नेपाली भाषा

  • केदार वाशिष्ठ-
सुगाको रटान
सुगाहरुलाई सिकारीले जालमा पारेर मारेको देखेपछि एक जना सन्तको मनमा दयाभाव जागेर आएछ । चराहरुमध्ये केही सचेत र वाचाल सुगालाई बुद्धि सुझाउँदा तिनीहरुको आम विनास रोकिन सक्ने ठानेर उनले सुगालाई सुझाए छन् । उनले भने – 'सिकारी आउने छ । चारो छर्ने छ । जाल बिच्छ्याउने छ । चारो नटिप्नू । जालमा नपर्नू ।'

छोटा वाक्यमा सिकाउँदा अरुलाई पनि सुनाएर सहज रूपमा बचाउन सक्ने हुनाले यस्तो भाषिक प्रयोग उनले गरेका थिए । नभन्दै सबै सुगाले तुरुन्तै त्यो सिके र सामूहिक रूपमा दोहोर्‍याएर तेहेर्‍याएर भन्न थाले – 'सिकारी आउने छ । चारो छर्ने छ । जाल बिच्छ्याउने छ । चारो नटिप्नू । जालमा नपर्नू ।'

सन्त सुगालाई अब सामूहिक रूपमा बचाउन सकिनेमा विश्वस्त भए । 

नभन्दै एक दिन सिकारी आयो । चारो छर्‍यो । जाल बिच्छ्यायो । एउटा सुगाले देख्यो र सन्तले सिकाएको कुरा बोल्यो । अरुले सुने । सबै आए तर अब उनीहरु सबै त्यही रटान लाउँदै चारो टिप्न थाले । सबै जालमा परे । सिकारीले जालमा परेका सबै सुगा पोको पारेर हिँड्यो । त्यसरी लैजाँदा पनि सुगाहरु कराउँदै थिए – 'सिकारी आउने छ । चारो छर्ने छ । जाल बिच्छ्याउने छ । चारो नटिप्नू । जालमा नपर्नू ।'

त्यो पीडादायी दृश्य देखेर सन्तका आँखाबाट आँसु झरेका थिए ।

सन्तले सिकाएको भाषाको प्रयोगको यो कथा नेपाली भाषाका सम्बन्धमा पनि उत्तिकै सान्दर्भिक छ । बुभ्mनका लागि यहाँ दुई प्रकरण र अरू सान्दर्भिक प्रस्तुति गरिएको छ ।

दुई प्रकरण

एकः 'एम्बुस' शब्द नेपाली भाषाका शब्दकोशहरुमा चढेको छैन । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रस्तावित दसौं संस्करणको मस्यौदामा पनि यो शब्द चढाइएको छैन । तर नेपाली भाषामा यसको आम प्रयोग भने पाइन्छ । भाषाका अध्येताले यस शब्दलाई नेपाली भनेर बुझ्दैनन् तर नेपाली भाषाका वक्ताले चाहिँ यसको अर्थ सजिलै बुझ्छन् । बुझ्ने दुई वर्ग छन् – एउटा वर्गले 'एम्बुस'को अर्थ पढेर लगाउँछ र बुझ्छ, अर्कोथरीले त्यसको प्रयोगबाट बुझेको छ । नेपालीमा हुँदै नभएको 'एम्बुस' पढेर भन्दा प्रयोगबाट बुभ्mनेको सङ्ख्या बढी नै हुनु पर्छ । नेकपा (माओवादी) को विद्रोहका बेला सहरमा मात्र होइन अनकन्टारमा पनि 'एम्बुस' थापिएको थियो र नेपाली भाषामा आम प्रयोग गर्न बाध्य बनाइएको  थियो । त्यसैले यो शब्द प्रयोगका आधारमा नेपालीका लागि नयाँ होइन, र यसले अर्थ नबताउने पनि होइन । नेपाली भाषाको धराप वा पासो वा धरान थाप्नुलाई नबुझ्ने नेपालीले 'एम्बुस' लाई भने सहजै बुझ्छन् ।

दुईः नेपाली यातायात क्षेत्रमा रहेको आम प्रयोगबाट नेपाली भाषा विस्थापन गर्ने एउटा काम अहिले सरकारी तहबाट भएको छ । नेपाली सवारी साधनहरुमा विद्यमान 'नम्बर प्लेट' हटाई 'इम्बोस्ड नम्बर प्लेट' राख्ने काम सुरु भएको छ । विभिन्न कारण देखाउँदै सरकारले सुरु गरेको यो काम संविधानले प्रत्याभूत गरेको भाषा सम्बन्धी व्यवस्था विपरीत छ । साधारण 'नम्बर प्लेट' हटाएर 'इम्बोस्ड नम्बर प्लेट' राख्दा अङ्क र अक्षर सबै रोपन लिपिमा लेख्ने व्यवस्था गरिएको छ । यसबाट देवनागरी लिपिमा लेखिने नेपाली भाषाको एउटा अध्याय सदाका लागि बन्द भएको छ । यो कार्य नेपालको संविधानको विपरीत यस कारण छ कि यसले देवनागरी लिपिमा लेखेर सरकारी कामकाज नगरी रोमनमा लेखेर सरकारी कामकाज गर्न थालेको छ । यसरी प्रत्यक्ष र परोक्ष रूपमा प्रयोग हुने यातायात क्षेत्रबाट देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारले हटाएको छ । यसलाई कतिपय भाषाकर्मीले 'एम्बुस' भनेका छन् ।

संशोधन प्रयास

भाषामा परिवर्तनशील हुन्छ । समय, सन्दर्भ, प्रविधि, राजनीतिक वा अन्य परिघटनाहरुले भाषिक परिवर्तनलाई स्वरूप दिन्छन्, तर सुरुमा त्यस्तो स्वरूप स्पष्ट देखिने वा नदेखिने पनि हुन सक्छ । भाषाका नियम कानुन वा संविधान जे भने पनि शब्दकोश र व्याकरणमा तिनको प्रवेश र नियमनले तिनलाई निश्चित स्वरूप प्रदान गर्दछ । भाषामा हुने परिवर्तनशीलताले भाषाको समृद्धि र लचकतालाई समेत स्पष्ट पार्दछ र स्थिरीकरण र मानकीकरणतर्फ उन्मुख गराउँछ ।

नेपाली भाषमा थपिएका यी दुई नयाँ शब्द राजनीतिक परिघटनाबाट भित्रिएका हुन् । 'एम्बुस'को इतिहासले यसको स्वाभाविक अर्थ र प्रयोजनसँग धेरै नेपालीको ज्यान लिएको दुःखद् र विध्वंशकारी घटनालाई सम्झाउँछ । 'इम्बोस्ड' शब्द त्यही 'एम्बुस'को राजनीतिक रुपान्तरण भई नयाँ संविधान बनेर नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेपछि प्रचलनमा ल्याउन लागिएको हो । 'इम्बोस्ड' नेपालमा प्रविधिसँगै भित्रिएको नयाँ शब्द हो । तर 'इम्बोस्ड' र 'एम्बुस' दुवैले नेपाली भाषाको संवैधानिक मान्यता पाउन बाँकी छ अर्थात् शब्दकोश र व्याकरणमा यिनको प्रवेश र प्रयोग छैन । 

मुलुकको संविधान भाषा लगायतका विषयमा असमावेशी भएको भन्दै संशोधन प्रक्रियामा गएकोमा संशोधन अस्वीकृत भएको छ । तर नेपाली भाषाको संविधानका रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश भने अहिले संशोधनको प्रक्रियामा छ । यो संशोधनको पृष्ठभूमि बेग्लै छ । तर 'इम्बोस्ड' र 'एम्बुस' 'नम्बर प्लेट'लाई हेरेर नेपाली भाषाको अवस्थालाई बुभ्mदा नेपाली भाषाको समस्या समाधानमा धेरै हदसम्म सहयोग मिल्दछ ।

खोज्दै खोजिएन मौलिकता

संसारका जुनसुकै भाषामा अन्य भाषाबाट शब्दहरु सापटी जान्छन् । अर्थात् कुनै पनि भाषा आफैमा पूर्ण र स्वतन्त्र हुँदैन । तर भाषामा कति मात्रामा शब्दहरु पाहुना भएर जान्छन् भन्ने कुराले त्यस भाषाको सम्पन्नता वा विकासलाई सङ्केत गर्दछ । अन्य भाषाबाट जति कम शब्दहरु आउँछन् त्यति भाषाको सम्पन्नताको स्तर माथि छ वा आफ्नै भाषाका शब्दहरुले सबै काम गर्न सक्छन् भन्ने स्तर निर्धारण गर्न सक्छ । त्यस्तो भाषा स्थिरीकरणबाट मानकीकरण उन्मुख हुन्छ । 

यस अर्थमा नेपाली भाषा पक्कै पनि सम्पन्न र स्थिर भइ सकेको भाषा होइन भन्ने अड्कल गर्न सकिन्छ । आफ्नै मौलिक शब्दहरु धराप वा पासो वा धरान हुँदाहुँदै अङ्ग्रेजीको ‘एम्बुस’ले हामीलाई बढी अर्थ प्रदान गर्न थालेको छ । त्यसैगरी नयाँ नयाँ आविष्कार र प्रविधिहरु भित्रँदा वस्तुसँगै भित्रिने नामलाई हामी आफ्नै भाषाका शब्दहरु खेलाएर मौलिकता दिन पनि सकि रहेका छैनौं । 'इम्बोस्ड नम्बर प्लेट'को सन्दर्भलाई फेरि एक पटक हेर्दा हाम्रो कमजोर भाषिक अधार र प्रयोग झल्कन्छ ।

'इम्बोस्ड नम्बर' राख्नुअघिको 'नम्बर प्लेट'मा देवनागरी लिपिका अङ्क र अक्षर रहेको भए पनि त्यसमा पनि नेपाली भाषाको नामकरणको मौलिकता छँदै थिएन । 'नम्बर प्लेट' आफैमा अङ्ग्रेजी भाषाबाट आएका शब्द हुन् । 'नम्बर प्लेट' राख्ने चलनको सुरुआतमा नै हामीले तिनलाई नेपालीकरण गर्नेतर्फ ध्यान दिएनौँ । अलिकति मात्र प्रयास गरेको भए 'नम्बर प्लेट'को सट्टा सङ्केताङ्क चिह्न पाटी वा अरु कुनै मौलिक नेपाली नाम त्यसलाई दिन सकिने थियो । तर त्यसतर्फ कुनै प्रयास नभएको र हचुवाका भरमा नै नामकरणको सरकारी पहल रहन्छ भन्ने पुनःपुष्टि 'इम्बोस्ड नम्बर प्लेट' सम्मको यात्राले गरेको छ । 

'इम्बोस्ड नम्बर प्लेट' कस्तो बनाउने र त्यसमा केके कसरी लेख्ने भन्ने निर्णय त्यसको प्राविधिक सम्भाव्यताका आधारमा सरकारले नै गर्ने हो । तर सरकारमा रहेका नीति निर्माता वा तल्लो तहका कर्मचारीको आग्रह वा अज्ञानताका आधारमा मात्र भाषिक निर्णय लादिनु हुँदैन । संसारका धेरै देशमा तिनै देशको प्रचलित भाषा र लिपिमा 'इम्बोस्ड नम्बर प्लेट' प्रयोगमा रहेको पाइन्छ । हाम्रो नजिकैको बङ्गलादेशमा बङ्गाली  भाषा र उसैको लिपिमा 'इम्बोस्ड नम्बर प्लेट' रहेको छ । प्रविधिले सम्भव हुने यस्तो कुरालाई सरकारले किन उपेक्षा गर्यो रहस्य र खोजीको विषय छ ।
यातायात व्यवस्थापन गर्ने मन्त्रालय वा विभाग वा कार्यालय वा एकाइ जे भए पनि त्यसको एकल निर्णयमा मात्र गर्ने काम थिएन यो । सरकारले उसका आफ्नै अन्य संरचना र प्राविधिक वा प्राज्ञिक निकाय वा विज्ञहरुसँग व्यापक परामर्श गरी काम गर्नु पर्नेमा त्यो गरेको पाइएन । अन्य देशका 'इम्बोस्ड नम्बर प्लेट'मा तत्देशीय राष्ट्रभाषा भाषाको प्रयोग गरिएको छ कि छैन भन्ने अध्ययन गरेको देखिएन वा गर्नु जरुरी ठानिएन । लेखाइको भाषामा त सरकारी कर्मचारीहरु आफै विज्ञ नै भइहाल्ने कुरा 'नम्बर प्लेट'का लागि नेपाली शब्दको प्रारम्भिक खोजी नगरिएबाटै स्पष्ट भइ सकेको छ ।

चेपुवामा नेपाली भाषा

नेपाली भाषाको आफ्नै दुःख र पीडा छ । स्वतन्त्र देशका रूपमा रहे पनि नेपाल दुई ठुला मुलुकको चेपुवामा परे जस्तै नेपाली भाषा पनि दुई भाषाको चेपुवामा परेको छ । संस्कृतबाट प्राकृत हुँदै विकास भएको भए पनि नेपाली भाषा स्वतन्त्र हो । नेपाल देश जति स्वतन्त्र छ, नेपाली भाषा पनि त्यति नै स्वतन्त्र छ । तर नेपालीको मातृभाषा संस्कृत भएकाले नेपाली भाषाको कोशीय र व्याकरणिक नियम संस्कृतकै आधारमा हुनु पर्दछ भन्ने आग्रहले धेरै काम गरेको पाइन्छ । यसले नेपाली भाषालाई सरलतातिर र सहज विकासतर्फ लैजाँदैन नै बरु स्वतन्त्र भाषाको मान्यता पनि दिँदैन ।

नेपाली भाषालाई अर्कातिरबाट तीव्र रूपमा चेपुवामा पारेको छ अङ्ग्रेजी भाषाले । नेपाली भाषाको शब्दभण्डार कम रहेको र प्राविधिक र पारिभाषिक शब्द निर्माणको अभ्यास नहुँदा नेपाली भाषाले नयाँ प्राविधिक र पारिभाषिक शब्दलाई विना परीक्षण स्वीकार गर्नु पर्ने अवस्था छ । यसका अतिरिक्त नेपाली शिक्षा नीतिमा गरिएको भाषिक नीतिगत भ्रष्टाचारले नेपाली भाषालाई देशभित्रै भाषिक औपनिवेशिक भड्खालोमा जाक्दैछ । शिक्षाका सबै तहमा अङ्ग्रेजी र नेपालीइतर अन्य भाषाको व्यापक प्रयोगले नेपाली भाषालाई बिरूप बनाउँदैछ । भाषाको नवप्रयोक्ता युवावर्गलाई नेपाली भाषा ज्यादै कठिन बन्दैछ । त्यसमाथि नेपाली भाषाको संस्कृत साइनोले उनीहरुलाई अझ जटिलता मात्र थप्दै गएको महसुस गराउँदै गएको छ । 

प्राग्ऐतिहासिक नेपाल अहिलेको जस्तो स्वतन्त्र राज्य वा राष्ट्र थिएन । आधुनिक राजनीतिक सिमाना कोरिनुअघि भारतवर्ष (अहिलेको भारत भन्ने होइन) मा यो रहेको मानिन्छ । तर अहिले यस क्षेत्रका अरू देशहरु उपनिवेशको साङ्लोमा बाँधिदा पनि नेपाल भने स्वतन्त्र रहेको छ । प्राग्ऐतिहासिक भारतवर्षबाट अहिले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र बनेको छ । त्यस्तै ऐतिहासिक रूपान्तरणको सन्दर्भ नेपाली भाषामा पनि लागु हुन्छ । नेपाल भारतवर्षबाट जसरी र जति स्वतन्त्र छ त्यसरी र त्यति नै नेपाली भाषा पनि स्वतन्त्र छ भन्ने नमान्दासम्म नेपाली भाषा संस्कृतको चङ्गुलबाट उम्कन सक्दैन । त्यसको फाइदा अङ्ग्रेजी भाषाले लिन्छ । यसको उदाहरण 'नम्बर' र 'प्लेट' शब्द नै काफी छन्, जसमा कमैको चासो पुगेको छ । 

भाषाका वक्ता वा प्रयोक्ता जहिले पनि जटिलबाट सरलताको खोजीमा रहने हुँदा संस्कृत प्रधान नेपालीको साटो अङ्ग्रेजी प्रधान नेपाली भाषातर्फ उन्मुख हुन थालेका छन् । संस्कृतको विशेषतायुक्त सनेपालीको जटिलताले नेपाली नामधारी हाम्रो राष्ट्र भाषामा अनेपालीका विशेषता थपिँदै गएका छन् । यो प्रक्रिया यति तीव्र छ कि हामीले उपयुक्त भाषा योजना गर्न सकेनौं र नेपाली भाषाको स्वतन्त्र अस्तित्व र मौलिकताका लागि लचिला व्याकरणिक नियम बनाएनौं भने नेपाली भाषाको नाम मात्र नेपाली रहन्छ विशेषता जति जम्मै अङ्ग्रेजीका हुनेछन् ।

'कुकुर झैँ घुरघुर'

नेपाली भाषाको हिज्जे विवाद बेलाबेलामा चर्किने गरेको छ । भाषाको परिवर्तनशीलतालाई आत्मसात् गर्नु पर्ने एउटा र परम्परित भाषिक स्वरूपलाई नै मान्नु पर्ने अर्को मूल सैद्धान्तिक जस्तो विवाद उल्झने गरेको हो । त्यसमा नेपाली भाषाका विद्वान् र निकायहरु विभाजित हुन्छन्, जसले नेपाली भाषालाई अरु कमजोर बनाउनेभन्दा केही योगदान गरेको देखिँदैन । व्यक्तिगत फाइदा, पुरस्कार वा देशविदेशमा चर्चा वा भ्रमणका अवसर केहीले पाउलान् त्यो यथार्थ बेग्लै र घामजत्तिकै छर्लङ्ग पनि छ । नेपाली भाषा व्यक्तिगत स्वार्थ सिद्धिको वा लेनदेनको विषय हुनु हुँदैन । 

पछिल्लो पटक करिब एक वर्षअघि नेपाली भाषाको हिज्जे विवाद चरम रूपमा उचालिएको थियो । व्यक्ति र संस्था धारेहात लाएर एक अर्कालाई सत्तोसराप गर्न र पानी बाराबार गर्ने अवस्थामा पुगेको जगजाहेर छ । त्यसबाट आफू स्थापित हुने दाउमा केही विद्वानहरु रहेका थिए । नेपाली भाषासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरु त्रिभुवन विश्व विद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठान लगायतमा को पुग्ने वा त्यहाँ रहेका कसलाई सिध्याउने खेलका रूपमा मात्र यो भएको थियो भन्ने कुरा नेपाली भाषा 'इम्बोस्ड'को 'एम्बुस'मा पर्दा ती निकायमा अहिले हर्ताकर्ता बनेकाको मौनताले पुष्टि गर्दछ ।

पछिल्लो भाषा विवादमा नेपाली भाषाको सर्वोच्च निकायको रूपमा स्वयम् घोषणा गर्ने त्रिभुवन विश्व विद्यालयको केन्द्रीय नेपाली विभाग नेपाली भाषामा 'इम्बोस्ड' र 'एम्बुस'प्रकरणमा कानमा तेल हालेर बसेको छ । आफैंले एक हातले एउटा मसीले सही गरेको निर्णय अर्को हातले अर्को मसीले उल्टाउने निर्णय गर्ने स्वघोषित सर्वोच्च निकायको मौनतामा आश्चर्य मान्नु पर्ने अवस्था पनि छैन ।

त्यस्तै अवस्था नेपाल प्रज्ञा प्रतिष्ठानको छ । नेपाली भाषाका बारेमा पहिले एउटा निर्णय लाद्ने र पछि त्यसबाट बिमुख हुने नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व एउटा भाषिक क्षेत्र (यातायात) बाट नेपाली भाषालाई पुरै विस्थापन गर्दा यसमा उसको कुनै सरोकार देख्दैन । भाषा विवादमा निर्णय उल्ट्याएर शब्दकोशमा परिमार्जन गर्ने प्रज्ञाको परिमार्जित बृहत् नेपाली शब्दकोशको दसौं संस्करणको मस्यौदामा सुझावको माग गरेको हिज्जेले आफैलाई गिज्याएको उसले देखेको छैन । नेपाली भाषालाई नेपाली नियम कानुन (शब्दकोश र व्याकरण) का आधारमा नियमन गर्नु पर्दछ भन्दा त्यसबाट भाषिक संस्कृति नासिएको भनी अदालत गुहार्नेहरु र नेपाली भाषाको अन्तरराष्ट्रिय सञ्जाल बनाएर विदेशतिर रमाउनेको सरोकारमा पर्दैन नेपाली भाषामा थापिएको 'एम्बुस' ।

वास्तवमा नेपाली भाषाको विगतको हिज्जे विवादको चर्को स्वर कुनै विज्ञानसम्मत थिएन, विभिन्न कारणबाट सञ्चार क्षेत्रलाई पकडमा राखेर फुकाइएको ढ्वाङ थियो । संसारभरका भाषालाई विज्ञानको विषय क्षेत्र मानेर त्यसै अनुरूप अध्ययन र अध्यापन हुने गरेको छ । भाषा सम्बन्धी अध्ययनलाई भाषा विज्ञान नामले समेटेको हुन्छ तर नेपाली भाषा र देवनागरी लिपिमा भने सांस्कृतिक पक्ष हावी रहेको देखाउँदै संस्कृति जोगाउन उग्र कुरा गरिए र त्यसको बचाउका लागि अदालत गुहारिएको छ । 

फलतः अब हामी अन्य भाषाहरुको जस्तो नेपाली भाषालाई प्रयोगशालाको परीक्षणबाट पुष्टि गर्ने विषयभन्दा न्यायिक पुनरावलोकन र व्याख्याको विषय हो भनेर संसारलाई बुझाउन खोज्दैछौं । 

भाषिक संविधानका रूपमा रहेका शब्दकोश र व्याकरणभन्दा राजनीतिक संविधान र कानुनका आधारमा भाषा बनाउन र बचाउन लागेका छौं । यस्तो जग हँसाउने कामका पछाडि एउटा मात्र स्वार्थले काम गरेको छ, जसलाई विद्वानहरुको जुँघाको लडाइँ भन्नु अत्युक्ति हुँदैन । यो कुनै व्यक्तिको नाम लिएर भन्नु भन्दा पनि हरेकले आफ्नो नाम सम्झँदै 'अहम् मम' भनेर बुभ्mदा उपयुक्त हुन्छ । उहाँहरु आफै बुभ्mनु र बुझाउनु हुन्छ – 'पण्डितः पण्डितं दृष्ट्वा श्वानवत् घुर्घुायते ।' अर्थात् विद्वानले विद्वानलाई देख्दा कुकुर झैं घुरघुर गर्दछन् । यसलाई पाठान्तरमा अर्को किसिमले पनि राखिएको पाइन्छ – 'याचको याचकं दृष्ट्वा श्वानवत् गुरगुरायते ।' अर्थात् मगन्तेले मगन्तेलाई देख्दा कुकुर झैं गुरगुर गर्दछ । 
विद्वान् वा मगन्ते (पद र प्रतिष्ठाका याचक) जुन अर्थमा भए पनि नेपाली भाषाको विवादको चुरो व्यक्तिगत अहम्, स्वार्थ, पदलोलुपता आदिमा अल्झिएको छ । वास्तवमा नेपाली भाषाको हिज्जे विवाद त्यस्तै घुरघुराहट÷गुरगुराहट मात्र थियो भन्दा विद्वानहरुको मानहानी नहोला ।

'अम्बुश' तत्सम ?

नेपाली भाषाको शब्दभण्डार तत्सम, तद्भव र आगन्तुक शब्दले बनेको छ । तत्सम संस्कृतबाट जस्ताको तस्तै आएका, तद्भव प्राकृत हुँदै आएका मौलिकता नेपाली रहेका र आगन्तुक संस्कृतलाई छाडेर अरु जुनसुकै भाषाबाट आएका शब्दहरु पर्दछन् । तत्सम आफैमा संस्कृत शब्दको र यसको अर्थ त्यो समान भन्ने हो । अर्थात् नेपाली भाषामा संस्कृतकै सरह उच्चारण र लेखन भएका शब्द तत्सम हुन् । आगन्तुक अरु भाषाबाट आएका शब्द हुन् । त्यसैले अङ्ग्रेजीको Embossed र Ambush बाट 'इम्बोस्ड' र 'एम्बुस' शब्द आगन्तुक हुन् ।

नेपाली हिज्जे विवादका धेरै रूप थिए, तिनको चर्चा गरेर के हो वा होइन भन्ने खुट्याउने यस आलेखको ध्येय होइन । तर त्यसै विवादको एउटा पाटो आगन्तुक शब्दलाई नेपाली नियमका आधारमा सामान्यीकृत नियम अनुसार लेख्नु पर्दछ भन्ने एउटा र मूलस्रोत खोजेर त्यही अनुरूप लेख्नु पर्दछ भन्ने अर्को मान्यता रहेको थियो । पछिल्लो तर्क गर्नेले यी दुई शब्दलाई नेपाली शब्दकोश पल्टाएर होइन अङ्ग्रेजीका शब्दकोश पल्टाएर लेख्न आग्रह गर्दथे । त्यस्ता विद्वानको मतमा यी अङ्ग्रेजी शब्द पनि तत्सम पर्दथे । शब्द मात्र होइन वर्णको उच्चारण व्यवस्था पनि सोही अनुरूप हुनु पर्दछ भन्ने उनीहरुको मान्यता थियो । पहिलो मान्यताका तर्क गर्नेको मत यस्ता शब्दलाई नेपाली जनजिब्रोको प्रयोगशाला अनुसार लेख्य रूप प्रदान गर्नु पर्दछ भन्ने थियो ।

अङ्ग्रेजीलाई तत्सम मान्ने र अङ्ग्रेजी शब्दकोश पल्टाउन लगाउनेको मत मान्ने हो भने 'इम्बोस्ड'लाई 'इम्बोष्ड' र 'एम्बुस'लाई 'अम्बुश' लेख्नु पर्दछ । तर हालसम्म त्यस्ता विद्वानहरुबाट यसरी लेखिएको पाइएको छैन ।'इम्बोस्ड' र 'एम्बुस' नै उहाँहरुको लेखनीमा आएको छ । यसले अङ्ग्रेजी तत्समवादी मतलाई अस्वीकार गर्दै आगन्तुक शब्दमा नेपाली नियम लाग्ने मत उचित थियो भन्ने देखिन्छ । 


आँसु चुहाउने सन्त पाइँदैन

जे जसरी भए पनि नेपालीमा नेपाली भाषाबाट अब 'इम्बोस्ड' र 'एम्बुस' नहराउने भएका छन् । 'नम्बर प्लेट' भन्न, पढ्न, देख्न र लेख्न हामी अभ्यस्त भए जस्तै केही समयमा 'इम्बोस्ड' र 'एम्बुस' पनि हामीलाई सहज लाग्ने छन् । हामीले तिनलाई नेपाली भाषाको नागरिकता नदिई सुखै पाउँदैनौ तर त्यसो गर्दा हरेक भाषिक व्यक्ति (आगन्तुक एकल शब्द)लाई हचुवाका भरमा बेग्लाबेग्लै सम्मान दिनुभन्दा एउटै नियम कानुन (शब्दकोश र व्याकरण परम्परामा) बनाएर व्यवस्थापन गर्न सके नेपालमा आइ परेको अङ्गीकृत नागरिकताको विवाद वा त्यसबाट पर्ने समस्या जस्तो भाषामा आइ पर्ने किचलो पनि हुने थिएन । नेपाल आउने विदेशी नागरिकले नेपालभित्र रहँदा नेपाली संवैधानिक र कानुनी व्यवस्थाको पालना गर्नु परेझैँ भाषिक आगमनमा पनि भाषाका नियमले नेपाली भाषालाई नेपाली भाषाकै रूपमा स्वतन्त्र राख्न सक्नेमा दुई मत नहोला । वास्तवमा 'एम्बुस' नेपाली भाषामा थापिएको धराप हो र 'इम्बोस्ड' ले त्यसलाई संस्थागत गरेको छ ।

आलेखको सुरुमा उल्लेख गरिएको सुगाको कथा भाषाको अंश भएको पक्षीलाई बचाउने सन्तको प्रयास थियो । नेपाली भाषा नेपालीको हो, नेपाली भनेका जनता हुन् र ती नेपाली मान्छे हुन् । मान्छेमा विवेक हुन्छ र के भइ रहेको छ वा हुन लागेको छ भन्ने अड्कल गर्ने क्षमता वा विवेक हुन्छ । त्यसैले नेपाली भाषामा थापिएको भाषिक उपनिवेशको 'इम्बोस्ड' र 'एम्बुस' बाट बचाउने काम नेपाली मान्छेको हो । ती मान्छेमा नेपाली भाषाको सामान्य प्रयोक्ता र विद्वान् समेत पर्दछन् । बेलैमा केही गर्न नसके कथाका काल्पनिक सन्त जस्तै आँसु चुहाइ दिने कोही हुने छैन । बरु देवनागरी लिपिमा लेखिने नेपाली भाषायुक्त भाषिक विशेषता सहितको विद्रूप नेपाली भाषा देखेर भाषिक उपनिवेश जमाउन सफलता पाएकोमा अट्टहास हाँस्नेको ठुलो जमात आउने छ ।

(रचनात्मक आलोचनाका लागि यस आलेखमा कसैको नाम लिइएको छैन । कसैको व्यक्तिगत वा सार्वजनिक जीवन वा आचरणमा मिल्न गएमा संयोग मात्र मान्दै त्यसमा सुधार गरेर नेपाली भाषाको संरक्षण र संवर्द्धनमा लाग्न आग्रह गरिन्छ ।)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell