PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घनश्यामलाई मदन पुरस्कार, वात्स्यायनलाई जगदम्बा श्री



पहिलोपोस्ट

घनश्यामलाई मदन पुरस्कार, वात्स्यायनलाई जगदम्बा श्री

काठमाडौं : यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको धृतराष्ट्रले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई उत्कृष्ट ठहर्‍याएको हो।

अन्तिम छनोटमा परेका नौ पुस्तक क्रमश: गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात् आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइ थिए। गुठीले १ सय ९५ पुस्तकबाट नौ उत्कृष्ट कृति सार्वजनिक गरेको थियो।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट वि.सं २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको "हाम्रो लोक संस्कृति", सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको "जनरल भीमसेन थापा" तथा विज्ञान विधामा बलराम जोशीको "अधिकविभव स्थिरविद्युत् उत्पादक" पुस्तकलाई अर्पण गरिएको थियो। २०४५ सालमा जगदम्बा रानीको निधनपछि वहाँको सम्झना स्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो। 

प्राध्यापक घनश्याम कँडेलको तेस्रो खण्डकाव्य ‘धृतराष्ट्र’ ऐरावती प्रकाशनले बजारमा ल्याएको हो। अनुष्टुप छन्दमा रचिएको खण्डकाव्यमा ‘कृतज्ञान ज्ञापन’, ‘अन्धत्व चेत’, ‘संवेदनाहीनहरूप्रति’, ‘सत्तास्वप्न’, ‘स्वप्नभङ्ग’, ‘अप्रत्यासी राज्यप्राप्ति’, ‘युद्धको त्रासदीपछि’, ‘समाहार’ शीर्षकका काव्य रचना छन्। कँडेलका यसअघि ‘देवयानी’, र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यसँगै कविता, समालोचना गरी ११ कृति प्रकाशित छन्।

वात्स्‍यायनलाई जगदम्बा श्री

स्थापनाकालदेखि नै कान्तिपुर दैनिकमा कार्टुन बनाउँदै आएका दुर्गा बराल वात्स्यायनलाई यस वर्षको जगदम्बा श्री दिने निर्णय पनि भएको छ।

नेपाली छापा माध्यममा कार्टुन चित्रका पर्याय बनेका वात्स्यायनलाई समसामयिक विषय र विसङ्गतिहरूलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरिरहे यो पुरस्कार दिइएको हो।

दुवै पुरस्कारको राशी २-२ लाख रहेको छ। यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन प्रदान गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell