PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विपत्तिमा स्वयंसेवक : सीप नभए उल्टै समस्या निम्तिन्छ



विपत्तिमा स्वयंसेवक : सीप नभए उल्टै समस्या निम्तिन्छ

  • डा.विजय ज्ञवाली -
बाढी र डुबानले आक्रान्त तराईमा एकजना चर्चित व्यक्ति राहत वितरणको लागि गए। सरकारको ढिलासुस्ती बीच तराईमा उनले गरेको कार्य अत्यन्त प्रशंसा गर्न लायक थियो। तर त्यहाँ खिचेको एउटा फोटोमा उनले एक जना प्रभावितलाई एन्टिबायोटिक औषधि दिएको प्रस्ट देखिन्छ। त्यो फोटो हेर्दा हामीले स्वयंसेवक परिचालन गर्ने संयन्त्रमा सुधार गर्ने पर्ने र स्वयंसेवक स्वयंले पनि आफूमा केही परिवर्तन गर्नुपर्ने आभास दियो। स्मरण रहोस्, एन्टिबायोटिक औषधि सम्बन्धित चिकित्सकको सिफारिसमा मात्र प्रयोग गरिन्छ। मात्रा र अवस्था नमिलेको अवस्थामा यसको गम्भीर असर हुन सक्छ। विपत्तिको बेला कुन अवस्थामा त्यो औषधि वितरण गरिएको हो भन्ने प्रष्ट नभए पनि प्राकृतिक प्रकोप अथवा अन्य अवस्थामा स्वयंसेवकको रुपमा काम गर्न इच्छुकको लागि भने यो घटना एउटा राम्रो शिक्षा हुन सक्छ।

नेपालको पूर्वी र पश्चिम तराई यतिबेला पीडामा छ। प्रारम्भिक रिपोर्टले बताए अनुसार विगतका केही वर्षभन्दा यो वर्षको क्षति बढी हुने अनुमान गर्न सकिन्छ। २ वर्षअघि नेपालमा गएको महाभूकम्पपश्चात् नेपाली युवा पुस्ता यस्ता प्रकारको विपत्तिमा सक्रिय हुन थालेको महसुस हुन्छ। स्वतस्फूर्त रुपमा प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर युवायुवती पुग्नुले अबको पुस्ता विपत्ति व्यवस्थापनको लागि केही हदसम्म तयार हुँदै गरेको देखिन्छ। यो सकारात्मक पक्ष हो। विभिन्न प्रकारको विपत्तिको लागि सरकारी निकाय तयार नभएको अवस्थामा देशव्यापी विभिन्न अभियानको नाममा स्वयंसेवी समूहहरु तयार हुनु अत्यन्त राम्रो कुरा हो। तर यसरी परिचालित हुने स्वयंसेवी प्रभावित क्षेत्रमा के गर्न सक्छन्? के गर्दैछन् र के साँच्चिकै उनीहरुले प्रभावितलाई सहयोग गर्न सकेका छन् त? त्यो अत्यन्त महत्वपूर्ण पक्ष हुन जान्छ। स्वयंसेवक विभिन्न किसिममा हुन्छन्‍ जसमध्ये विपत्तिको लागि तयारी गरेका स्वयंसेवक (स्किल बेस्ड भोलिन्टियर – एसबीभी) भनिन्छ,  विपत्तिको बेला स्वतः स्वयंसेवीको जिम्मेवारी लिनु पर्ने व्यक्ति (जस्तै राजनीतिज्ञ, स्कूल शिक्षक, स्थानीय अभिभावक) , स्वस्फूर्त आउने स्वयंसेवक आदि हुन्। यस्तो  बेला सबै प्रकारको स्वयंसेवा उत्तिकै महत्वपूर्ण भएता पनि कुनै पनि प्रकारको सीप बिनाका स्वयंसेवक भने विपत्तिको बखत योग्य मानिँदैनन्।

स्वयंसेवक परिचालनलाई अलि व्यवस्थापन गरिएको जापानको तोहोकु महाभूकम्प र कुमामोतो भूकम्प बेलामा पनि सीप बिनाका स्वयंसेवक परिचालन ठूलो समस्या बनेको थियो। नेपालको हकमा पनि विपत्तिको बेला परिचालनको सिस्टम अझै विकास  नभएको बेला स्वयंसेवकको  गुणस्तर कस्तो छ भन्ने आंकलन तत्काल गर्न सकिने अवस्था छैन। सरकारी सहयोगको संयन्त्र  कमजोर भएको बखत यसरी स्वस्फूर्त पुग्ने स्वयंसेवकमाथि प्रश्न उठाउनु तत्काल सजिलो पनि छैन। तसर्थ यस्तो अवस्थामा  स्वयंसेवक आफैले ध्यान दिनु पर्ने हुन्छ। 

सामान्यत: स्वयंसेवकमा हुनु पर्ने सीप धेरै भएता पनि तोहोकु भूकम्प, कुमामोतो भूकम्प र गोर्खा भूकम्पमा काम गर्दाको अनुभवमा तीन वटा महत्वपूर्ण सीपको बारेमा यहाँ चर्चा गरेको छु। 

१) प्राथमिकताको पहिचान गर्ने सीप (एसेस्मेन्ट स्किल )

मेरो अनुभवमा विपत्तिको लागि स्वयंसेवकलाई आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण सीप भनेको प्राथमिकताको पहिचान नै हो। विपत्ति यस्तो बेला हो जसको सबै घटना आकस्मिक हुन्छन्। यस्तो अवस्थामा स्वयंसेवकले तत्काल निर्णय गर्ने क्षमता राख्नु जरुरी छ। विप्पतिको गम्भीरता, प्राथमिकतालाई पहिचान गर्न सक्ने सीप बिना स्वयंसेवकहरु अपूर्ण हुने हुँदा यस्ता किसिमका सीपको ज्ञान लिनु अत्यन्त राम्रो हुन्छ। विप्पतिसित सम्बन्धित रहेर विभिन्न किसिमका गाइडलाइनहरु बनेका छन्। विश्वभर त्यस्ता गाइडलाइनहरुको प्रयोग गरिने हुँदा विप्पतिमा काम गर्न इच्छुकहरुले ती गाइडलाइनको अध्ययन गर्नुपर्छ। 

२) सहयोग गर्ने सीप (टोल्स) 

स्वयंसेवा गर्ने व्यक्ति यदि कुनै सीप बिना गएको छ भने कतिपय अवस्थामा ऊ केवल मूकदर्शक मात्र बन्न सक्ने सम्भावना रहन्छ। तसर्थ निश्चित सीप बिना सहयोग गर्न जानु अनुपयुक्त हुन्छ। विपत परेको बेला सामान्य सीप पनि काम लाग्ने हुँदा आफूमा भएको क्षमता आंकलन गरेर मात्र प्रभावित क्षेत्रमा जानु उपयुक्त हुन्छ। यस्तो बेला आवश्यक सीपहरु विभिन्न किसिमका हुन्छन् जस्तै प्राथमिक उपचार तालिम, मनोवैज्ञानिक सहयोग तालिम, नेतृत्व तालिम, पौडी खेल्न जानेको, बालबालिकाको अभिरुचि जानेको व्यक्ति, शारीरिक रुपमा योग्य, डकर्मी सिकर्मी, स्थानीय सामग्री प्रयोग गरेर अस्थायी घर बनाउन सक्ने सीप आदि। यस्ता किसिमको सीप विप्पतिको बखत उपयुक्त हुन्छ।
मैले कुमामोतो भूकम्पपश्चात् अस्थायी शिविरमा काम गर्ने मौका पाएको थिएँ। स्वयंसेवकको रुपमा प्रवेश गरेको मैले भूकम्पका कारण स्कूल बन्द भएर बसेका बालबालिका हेर्ने जिम्मा पाएको थिएँ। त्यो बेला कागजको कार्ड बनाउने तरिका जानेका कारण मैले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको थिएँ। अत्यन्त सामान्य सीप भएता पनि त्यो सीपका कारण मैले बालबालिकासँग राम्रो सम्बन्ध बनाउन सकेको थिएँ। तसर्थ विभिन्न किसिमका सीप हुनु स्वयंसेवीका लागि राम्रो हुन्छ।  

३) सहयोग संयन्त्रको जानकारी  

प्रभावित क्षेत्रमा पुगेका स्वयंसेवकहरुले सबै समस्याको समाधान गर्न सक्छन् भन्ने छैन। तसर्थ त्यो अवस्थामा आवश्यक सहयोग गर्न विभिन्न स्रोतहरुको जानकारी राख्नु अत्यन्त जरुरी रहन्छ। विपत्ति व्यवस्थापनमा राम्रो विकास गरेका मुलुकको अनुभवलाई हेर्ने हो भने विपत्तिपश्चात् तुरुन्त स्थानीय सरकारको रोहवरमा विभिन्न क्षेत्रको संयन्त्र मिटिंग बस्ने व्यवस्था मिलाइएको हुन्छ।  भूकम्प र अन्य प्रकोपको समय र त्यसपश्चातको अवस्थामा काम गर्ने संस्थामा आवद्दता भएको नाताले मैले कुमामोतो भूकम्पपछि त्यहाँ प्रत्येक दिन बस्ने संयन्त्र मीटिंगमा सहभागी हुने मौका पाएको थिएँ। त्यस्ता मिटिंगमा विभिन्न माध्यमबाट प्राप्त सूचनालाई संकलन गरेर प्रभावितहरुको आवश्यकतालाई सम्बोधन गर्न सकेसम्म प्रयास गरिन्छ। नेपाल महाभूकम्पपश्चात् पनि यस्ता बैठकहरु बसेको अनुभव भएता पनि सबै अवस्थामा त्यस्ता राहत कार्यक्रम सम्म सबैको पहुँच नपुग्न सक्छ। तसर्थ स्वयंसेवकहरुले विभिन्न सहयोग संयन्त्रको जानकारी राख्नु जरुरी छ।

नेपाल विभिन्न किसिमका प्राकृतिक प्रकोप बढी हुने मुलुकमा पर्दछ। यो अवस्थामा विपद् व्यवस्थापन नेपालीको लागि अत्यन्त महत्वपूर्ण आवश्यक विषय हो। विपद् व्यवस्थापन स्वयंसेवकको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ। तसर्थ यस्ता किसिमका स्वयंसेवक उत्पादनमा राज्यले ध्यान दिनुपर्ने हुन्छ। कुनै योजना सीप बिनाका स्वयंसेवक प्रभावित क्षेत्रमा पर्यटक मात्र हुने हुँदा त्यतातिर ध्यान दिनु अत्यन्त जरुरी छ।

(लेखक जापान इजरायल एड सपोर्ट कार्यक्रम, जापानमा कार्यरत क्लिनिकल मनोविद् हुन्)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell