PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आखिर किन गर्छन् दक्षिण कोरियामा नेपालीले आत्महत्या ?



रासस

आखिर किन गर्छन् दक्षिण कोरियामा नेपालीले आत्महत्या ?

काठमाडौँः वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने क्रम भने बढ्दै गएको छ। 

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीले पछिल्ला दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए। 

कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थान पूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको बताए।

विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात् नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगालेको हुनसक्ने उनको भनाइ छ। 

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन् २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए। 

मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेका छन्। उनका अनुसार सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्नेछन्। 
कोरियामा नेपाल सरकारकातर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्किएका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेका बताए।

उनका अनुसार वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell